|

पर्वत : गाउँका युवायुवतीलाई गाउँमै स्वयंसेवकको रुपमा खटाउने भनी जिल्लाको महाशिला गाउँपालिकाले थालेको एक घर एक रोजगारी अभियान समस्यामा परेको छ। गाउँपालिकाले पालिकाभित्रकै लोकप्रिय कार्यक्रम बनाउने लक्ष्यसहित गएको आर्थिक बर्षबाट गाउँलेलाई नै गाउँका काम गराउने गरी एक घर एक रोजगारी अभियान शुरु गरेको थियो।

अभियान शुरु हुने बेलामा ३७३ जनाले काम शुरु गरेको भए पनि लगाएका काममा असन्तुष्टि जनाउँदै बिभिन्न क्षेत्रमा काम गर्दै आएका ५० जनाले एक घर एक रोजगारी कार्यक्रममा समावेश नहुने भनी काम नै छोडिसकेका छन्। गाउँपालिका अन्तर्गत भोक्सिङका वडाध्यक्ष रेशम मल्लका अनुसार भोक्सिङबाट मात्र १७ जनाले गाउँपालिकामा स्वयंसेवकको रुपमा काम शुरु गरेको भए पनि ती मध्येका ७ जनाले काम छोडेका छन्। ‘गाउँपालिकाले सीप, दक्षता र योग्यता नहेरी काममा लादेका कारण काम काम छोड्ने क्रम बढेको हो’ मल्लले भने।

काम शुरु गरेर पनि छोडेकाले आफूहरूमा भएको सीप अनुसारको काम नपाएका कारण नै काम छोड्नुपरेको बताएका छन्। ‘विधुत जडानसम्बन्धी तालिम लिएको थिएँ। हाउस वायरिङकै लागि आवेदन दिए पनि पाइप जोड्ने काम दिइयो। यो काम त म कसरी गर्न सक्छु र त्यही भएर काम नै छोडिदिएँ।’ होश्राङ्दीका थमान थापाले भने।

गाउँपालिकाले ल्याएको योजना निकै राम्रो भएको भए पनि स्वयंसेवकमा भएको सीप अनुसारको काममा नलगाउँ काम गर्न कठिन भएको स्वयंसेवकको गुनासो छ।बिभिन्न सीप भएकालाई सीपको पहिचान नगरी विभिन्न काममा खटाइएको छ। पलम्बर, इलेक्ट्रिसियन, सेक्युरिटी, लेबर आदिको कामका लागि आवेदन दिएकाहरू अधिकांशलाई सड्ककै काममा खटाइएको छ।

लुखुका कमला कुश्मेली, बेलकुमारी नेपाली र राजन पन्तले पनि आफूहरूले जानेको काममा नखटाई सडकमा खटाएपछि काम छोडेको बताए। यस्तै स्थानीय राजन पन्त ब्रेन ट्यूमरको शल्यक्रिया गरेका व्यक्ति हुन्, उनले कडा रुपमा शारीरिक परिश्रम गर्न नसक्ने भएकै कारण विद्यालयको सहयोगी बन्न पाउँ भनी गाउँपालिकामा निवेदन दिएका थिए, तर उनलाई पनि सडक निर्माणकै काममा खटाइएको छ।

सड्कको काममा माटो र ढुंगाको गह्रुँगो काम गर्न नसकेपछि उनले गाउँपालिकाको स्वरोजगार कार्यक्रम छोडेर एउटा लघुबित्त कम्पनीमा काम थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.