'सरकारको एकवर्षे कार्यकाल आधारभूत रूपमा सफल'

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्। उनले भने, ‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो। दुवै असफल भए। उनीहरूले अवसरको सदुपयोग गर्न सकेनन्।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भीर आरोप लगाउँदै अब आफ्नो पालो आएको बताए। उनले दुवै असफल भएकोले मुलुकमा राजतन्त्र फर्किन सक्ने सनसनीपूर्ण घोषणा गरे। उनले यस्तै भए नेपालमा राजतन्त्रपनि फर्किन सक्ने दाबी गरे। उनले भने, ‘राजतन्त्र फर्किन सक्छ।’

राणाले ओली सरकारलाई दुई तिहाई ल्याएको भन्दै मान्नैपर्ने तर्क गरे। उनले भने, ‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलोपटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए। एक वर्षमा सरकारले के–के राम्रो काम गर्‍यो त भनेर पाना–पाना पल्टाइपल्टाइ हेर्‍यो भने मौका खेर फालेको पाइने उनको तर्क छ। सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शून्य रहेको बताए।

व्यापार घाटापनि डरलाग्दो रहेको उनको भनाई छ । उनले भने, ‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन्। हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन्।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको उनको आरोप छ ।

कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए। उनले भने, ‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ । हामी एकतीर ढल्केका छौं।’ उनले भेनेजुयला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल भएको दाबी गरेका छन्। उनले भने, ‘अहिले युद्धस्तरमा विकास निर्माणका काम भइरहेको छ। बाटाहरू धमाधम चार लेनबाट ६ लेन, र ६ लेनबाट ८ लेनमा स्तरोन्नती भइरहेका छन्।’

सरकारले यो एक वर्षमा धेरै महत्वपूर्ण कामहरू गरिरहेको पनि उनले विश्वास दिलाए। उनले भारतसँग पिटिए भएको, केरुङ–काठमाडौं रेलमार्गको डिपिआर पनि निर्माण भइसकेको जनाए। भारतबाट काठमाडौं रेल आउने, पूर्व–पश्चिम रेलमार्गको पनि काम भैरहेको लगायत विकास निर्माणका फेहरिस्त उनले सनाए ।

बडालले यो एक वर्षमा सरकारले विकासको जग हालेको पनि दाबी गरे। यद्यपि उनले सरकारले केही काम नै गरेन र अर्थतन्त्र नै डामाडोल भयो भनेर लगाइएको आरोपमा भने कुनै सत्यता नभएको भन्दै खण्डन गरे। सरकार अझै प्रभावकारी र अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्छ भन्ने जनताको चाहनालाई आफूहरूले स्वभाविक रुपमा लिएको उनले स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.