|

काठमाडौं : गाउँमा कम्प्युटर शिक्षा अभियान काठमाडौंले धादिङ ज्वालामुखी गाउँपालिका  ४ का विद्यार्थी सुरज तामाङलाई १ लाख १५ हजार ४ सय ७० रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। संस्थाका काम तथा उपलब्धिको बारेमा जानकारी गराउन मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनका क्रममा संस्थाका उपाध्यक्ष किरण धमलाले ‘डिप्लोमा ईन फार्मेसी’ तेस्रो वर्षमा अध्ययनरत तामाङको शैक्षिक शुल्क तिरिदिनको लागि सहायता प्रदान गरेका हुन्।

वि.सं. २०७१ सालमा गठन भएको उक्त संस्थाले छोटो समयमा नै महत्वपूर्ण तथा उल्लेख्य सामाजिक काम गर्न सफल भएको छ। देश तथा विदेशमा रहेका नेपालीले स्वइच्छाले आफूहरूलाई यो अभियानमा सहयोग पुर्‍याउँदै आएको पनि उनले जनाए। उनले भने, ‘देश तथा विदेशमा दुःख गरेर बस्ने नेपालीहरुले कम्प्युटरको पहुँचबाट टाढा रहेका बालबालिकालाई आवश्यक कम्प्युटर शिक्षामा सहयोग पुर्‍यारहेका छन्। हामीले यो अभियानमार्फत् न्यूनतम विद्युतीय पहुँच भएका ग्रामीण तथा सरकारी विद्यालयलाई कम्प्युटर हस्तातरण गर्दे आएका छौँ।’

अहिलेसम्म करीब सात हजार दुई सय जति दाताहरूको सहयोगबाट आफूहरूले यस्तो कार्य गर्न सफल भएको उनको भनाई छ। उनकाअनुसार यो अभियानमार्फत् अहिलेसम्म करीब धादिङ, लमजुङ, कास्की, कैलाली, अर्घाखाँचीलगायत जिल्लाका ४० विद्यायलाई कम्प्युटर उपलब्ध गराइसकिएको छ।

त्यस्तै, संस्थाले यसै शैक्षिक वर्षभित्र धादिङका दुईवटा विद्यालय चण्डेश्वरी आधारभूत विद्यालय र लामागुरु मावि, तथा कैलालीको चिसापानीमा रहेको महाकाली–कर्णाली उच्च मा.बिलाई पनि ई–लाइब्रेरीसहितको कम्प्युटर हस्तान्तरण गर्ने कार्यक्रमको तयारी गरिसकेको छ। संस्थाले आगामी दिनमा ग्रामीण भेगमा रहेका विद्यालयमा विद्युतीय पुस्तकालय (ई-लाइब्रेरी) को स्थापना गर्ने कार्य योजना राखेको पनि उनले जनाए।

कार्यक्रममा बोल्दै युके–स्कटल्याण्डका संयोजक जोनी पहारीले आफूहरूको यो संस्थाले स्वतन्त्र रूपमा सामाजिक कार्य गर्दै आइरहेको विश्वास दिलाए। उनले संस्थाले गरिव तथा जेहन्दार विद्यार्थीको शिक्षामा जोड दिएको पनि सुनाए।

पहारीले पढ्ने इच्छा शक्ति भएका तर पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई कम्प्युटर शिक्षामा सबैको सहभागिताको निम्ति आफूहरूको संस्था लागिपरेको जनाए। उनले भने, ‘म यही मञ्चबाट देश तथा विदेशमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई यो अभियानमा हातमा हात र काँधमा काँधमा मिलाएर सहयोग गरिदिनु हुन आग्रह तथा अपिल गर्दछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.