|

काठमाडौं : खानेपानी मन्त्रालयले पछिल्लो एक वर्षमा उल्लेख्य काम भएको दाबी गरेको छ। खानेपानी मन्त्रीमा विना मगर आएपछि ५१८ आयोजना सम्पन्न गरेको जनाएको छ।

मन्त्री आएपछिका ११ महिनाको कार्य प्रगति सार्वजनिक गर्दै मेलम्मची आयोजनाले गति लिएकोदेखि  खुला दिशामुक्त क्षेत्र घोषणासम्मका  प्रगति उल्लेख गरिएको छ। 

यस्ता छन् ११ महिनामा गरिएका काम

 मन्त्रालयका अनुसार एक बर्षको अवधिमा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित केन्द्रीय खानेपानी आयोजनाहरु मध्ये १ सय १० आयोजनाहरु सम्पन्न भएका  छन्।

यो एक वर्षको अवधिमा तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सल्यानको खलंगा शितलपाटी, झापाको चारआली, कैलालीको टिकापुर र सुनसरीको महेन्द्रनगरमा खानेपानी आयोजनाहरु सम्पन्न भएका छन्। यो अवधिमा ३५ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजनाहरु सम्पन्न  भएका छन्। त्यस्तै भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरु मध्ये ३ सय ६० वटा आयोजनाहरुको पुननिर्माण कार्य सम्पन्न भएको छ।

यो एक बर्षको अवधीमा १७ जिल्ला खुला दिसा मुक्त घोषणा भएका छन्। हाल ६३ जिल्लाहरु खुला दिसा मुक्त क्षेत्र घोषणा भएका छन्। एसियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० वटा सहरहरुमा आयोजना निर्माण तथा सरसफाईको दिगो व्यवस्थापनको लागि १७८.५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता भएको छ।
 काठमाण्डौ उपत्यका भित्र ९ वटा पानीपोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रको करिब ८० प्रतिशत  निर्माण कार्य सम्पन्न भएको छ। निर्माणाधीन मनोहरा, हनुमन्ते तथा खस्याङखुसुङ नदीहरुको दुवै किनारमा कुल ४५ किलोमिटर मध्ये ११ दशमलब ९ किलोमिटर ढल बिछ्याउने कार्य सम्पन्न भएको छ।

भक्तपुरको महादेवखोला ईम्पाउन्डिङ रिजर्भवायर खानेपानी आयोजना, दाङको पातुखोला, सुर्खेत भ्याली बृहत खानेपानी आयोजना, बबई थोक वितरण र नारायणी थोक वितरण खानेपानी आयोजनाहरुमा लगानी जुटाउने सन्दर्भमा मोडालिटीको विषयमा प्रधानमन्त्री कार्यालयले ऐन बनाउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.