'नयाँ क्रमभंगको आकांक्षा छ'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकाल झिलिमिलीमै बितेको बताएका छन।

प्रज्ञा प्रतिष्ठानमा मंगलबार सरल सहयात्रीद्वारा लिखित निबन्ध 'शिखरको ढुंगा' विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले अनुभवको कमीका कारण पहिलो कार्यकाल झिलिमिलीमै बितेको बताए।

पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले पहिलो प्रधानमन्त्रीकालको बारेमा सम्झना गरेका थिए। संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ भदौ २ गते प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड २०६६ जेठमा राजीनामा गरेर सिंहदरबारबाट बाहिरिएका थिए। उनले तत्कालिन प्रधानसेनापति रुकमाङ्गद कटवाल प्रकरणमा राजीनामा दिएर सिंहदरबार छोड्नुपरेको थियो।

एक दशकपछि प्रचण्डले प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकाल झिलिमिलीमै बितेको बताएका हुन्। उनले भने, 'पहिलोपटक सरकारमा गएर मैले कुनै चमत्कार गर्न सकेको थिएन। अनुभव नै नभएको क्षेत्रमा उत्पात गर्ने कुरा भएन। पहिलो पटकको प्रधानमन्त्री काल झिलिमिलीमै बित्यो।' उनले त्यतिबेला लागेको कुरा अलि हँसिलो पारामा सुनाएका थिए। प्रचण्डले भने, 'के हो? के हो? यो कहाँ आइयो कहाँ आइयो भएको थियो, राम्रो ठाउँमा आइयो कि नराम्रो ठाउँमा आइयो भन्नेमै ९ महिना बित्यो र छोडेर जानुपर्‍यो। आकांक्षा धेरै ठूलो थियो। त्यो आकांक्षा र अनुभवको बीचमा अन्तरविरोध भयो र सफल भइएन।'

प्रचण्ड दोस्रोपटक २०७३ साउन १९ गते प्रधानमन्त्री बने भने २०७४ जेठ २३ गते सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई सहमतिबमोजिम सुम्पिएर सिंहदरबारबाट बाहिरिए। यो अनुभव भने प्रचण्डको सन्तोषजनक थियो। यसमा अनुभवले काम गरेको प्रचण्डको भनाइ थियो। उनले दोस्रो कार्यकालको अनुभव छोटकरीमा यसरी सुनाए, 'मैले दोस्र पटक अवसर पाउँदा झिलिमिली भएन। सचेत भएर राष्ट्र, राष्ट्रिय एकताको लागि योजनाबद्ध रूपमा परिवर्तनलाई संस्थागत गर्नका लागि, देशलाई नयाँ दिशा दिनका लागि योजनाबद्ध ढंगले अगाडि बढेको थिएँ।'

प्रचण्डको पाइलट बन्ने सपना

वर्तमानमा नेपाल कम्युनिस्ट पार्टीमा दुईजना अध्यक्ष छन्। यो किन त? भन्ने प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले दुई जना पाइलट भएको बताएका थिए। उनले नेकपा बोइङ जहाज भएकाले दुई पाइलट आवश्यक परेको भन्दै व्याख्या गरेका थिए।

तिनै दुई पाइलट मध्येका एक प्रचण्डको भने सानोमा पाइलट बन्ने नै योजना थियो। आफूले पाइलट बन्ने सपना देखेको प्रचण्डले आज बताएका हुन्। उक्त कार्यक्रममा प्रचण्डले भने, 'एउटा लक्ष्यप्रति समर्पित भएर लाग्ने भन्ने हुन्छ, त्यो कुरा म मा लागु भएको जस्तो लाग्दैन। म हाइस्कुलमा पढ्दा पाइलट बन्ने सपना थियो, कलेजमा आउँदा इन्जिनियर र त्यसपछि सैनिक कमाण्डर बन्ने सपना थियो। ती सबै भएनन् र राजनीतिमा आइयो।'

प्रचण्डले भने, 'मेरो जीवन राजनीतिक चटारोभित्र बित्ने भयो। मैले चाहेको कुरा, मनपराएको कुरा गर्न पाएको छैन। मलाई कहिले त्यो छुट भएन।' उनले राजनीतिमा हुने चटारोलाई पनि खुलस्त पारे। उनले भने, '२४ घण्टा, बाह्रै महिना, सबै काल चटारो र तनाबमै बित्छ। यो स्थितिको राजनीति मेरो भागमा पर्‍यो। यसलाई मैले स्वीकार गरेर अगाडि बढेको छु र अन्तिमसम्म मैले यसको समाना गर्नुपर्छ भन्ने प्रतिज्ञा पनि गरेको छु।'

नयाँ क्रमभंगको आकांक्षा छ

अध्यक्ष प्रचण्डले नेपालको वर्तमान राजनीतिक परिवर्तन विभिन्न क्रमभंगबाट गुज्रिएको बताए। उनले क्रमभंगबाट नै संविधान निर्माण भएको र संघीय र प्रदेश एवं स्थानीय तहको निर्वाचन भएर कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार बनेको बताए। उनले अझै पनि नयाँ क्रमभंगको आवश्यकता परेको बताए। त्यो क्रमभंगता नेपालमा समाजवाद स्थापना गर्नका लागि हुने उनको भनाइ थियो।

प्रचण्डले नयाँ क्रमको सुरुवात भएको र यो क्रम नयाँ क्रान्तिको रूपमा आउनुपर्ने बताए। नेपाल अब समाजवादतिरको यात्रामा गएको र यो शान्तिपूर्ण प्रतिस्पर्धाबाट अगाडि बढ्नुपर्ने प्रचण्डको भनाइ थियो। उनले भने, 'शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादको आधार निर्माण गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एउटा महायात्रामा नयाँ क्रमको सुरुवात गर्नुपर्छ। आर्थिक समृद्धि नगरीकन समाजवाद हुँदैन। अबको दशक समाजवाद आधार निर्माणको दशक हो।' उनले थपे, 'हामी माथी जानुभन्दा अगाडि समाजवादको आधार बन्यो, नेपालले संसारलाई एउटा मोडेल दियो भन्ने दिनुपर्छ।' उनले नेपाल इतिहास र पौराणिक कालमा पनि विचार विकासको उद्गम स्थल बनेको र अबका दिनमा पनि त्यो दिनुपर्ने धारणा राखेका थिए।

हेर्नुहोस् भिडियोः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.