|

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय बर्दिबासले घुससहित पक्राउ गरेको एक प्रहरी फरार भएका छन्। महोतरीको औरही नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले घुससहित पक्राउ गरेको एक प्रहरी सहायक निरीक्षक फरार भएका हुन्।

मंगलबार दिउँसो १० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेका महोत्तरीस्थित औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामनरेश साह फरार भएका हुन्। महोत्तरीको औरही नगरपालिकास्थित औरही बजारमा रहेको नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको केही समयपश्चात् स्थानीयले अवरोध गरेपछि प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागन सफल भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

महोत्तरीका प्रहरी उपरीक्षक इश्वर कार्कीले जनाएअनुसार घुस लिने र दिने दुवैलाई अख्तियारको टोलीले नियन्त्रणमा लिन खोजेपछि स्थानीयले अवरोध गर्ने क्रममा दुवै फरार भएको जनाएको छ। यता फरार रहेकालाई खोजतलासका लागि औरहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बर्दिबासस्थित कार्यालयबाट गएको ६ जनाको अख्तियारको टोलीले प्रहरी चौकीमा कार्यरत असई साह र नवदुर्गा सःमिलका संचालक दिनेश साहलाई नियन्त्रणमा लिएलगतै स्थानीय अवरोध गरेका थिए। हाल दुवैजना नियन्त्रणबाहिर रहेको प्रहरी स्रोतले जनाएको छ। अख्तियारको टोलीसँग गएका प्रहरीले सःमिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.