|

जनकपुरधाम : महोत्तरीको मनरा सिसवा नगरपालिका ८ स्थिति सहरसामा एक गर्भवती महिलाको हत्या भएको छ। आइतबार बिहान २१ वर्षीया धनमन्ती देवीको हत्या गरेर शव जलाउन लग्ने तरखरमा रहेको बेला माइतीपक्षको अवरोधपछि प्रहरीले शव नियन्त्रणमा लिएपछि हत्या भएको खुल्न आएको हो।

महोत्तरीको मनरा सिसवा नगरपालिकाको सहरसा मनोज कुमार महतोकी धनमन्ती देवीको शव प्रहरीले नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ। शवको प्रकृतिका आधारमा घाँटी र पाखुरामा निलडाम देखिएकोले उनको हत्या गरेको माइतपक्षले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो।

मृतकका ससुरा पक्षले बुहारी ओछ्यानमै आइतबार बिहान मृत अवस्थामा फेला परेको माइतीपक्षलाई बताए पनि प्रहरीलाई पासो लगाएर आत्महत्या गरेको बताएपछि घटना शंकास्पदको आधारमा प्रहरीले शवलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ। धनमन्तीलाई विगतदेखि नै घरपरिवारले शरीरिक तथा मानसिक यातना दिँदै आएको र मृतकका बुबा धनुषाको बटेश्वर गाउँपालिका २ धुमाशन बस्ने बद्री महतोको दावी छ।

यता प्रहरीले शवलाई नियन्त्रणमा लिई जलेश्वर अस्पतालमा पोष्टमार्टम गराई सोमबार नै घरपरिवारलाई जिम्मा लगाएको छ। घटनाको विषयमा घरपरिवारको फरक र प्रहरीलाई जानकारी नगराई हतार–हतार शव जलाउने तयारी गरेकाले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले मृतकका श्रीमान् सहितसहित २ जनालाई पक्राउ गरेको छ।

शवको प्रकृतिअनुसार धनमन्तीको घाँटी र पाखुरामा देखिएको निल डामले हत्या भएको आशंका भए पनि पोष्टमार्टमको रिपोर्टपछि मात्र केही भन्न सकिने महोत्तरीका प्रहरी उपरीक्षक इश्वर कार्कीको भनाई छ। उनले भने, ‘घटना शंकास्पद रहेकोले मनोज महतो र जेठानी अनिता देवीलाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ। बाँकी कुरा पोष्टमार्ट रिपोर्टपछि आउनेछ।’

माइतीपक्षले छोरी धनमन्तीको हत्या गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मृतकको श्रीमान् मनोज कुमार महतो, जेठानी अनिता देवी र  ससुरा चलित्तर महतोविरुद्ध किटानी जाहेरी दर्ता गराएको छ। हत्या भएकी धनमन्तीको एक महिने छोरा समेत रहेको छ।

समाजिक परम्पराअनुसार विवाह

विस २०७४ वैशाख ३ गते समाजिक परम्पराअनुसार महोत्तरीको मनरासिसबा नगरपालिका ८ सहरसाराम बस्ने चलित्तर महतोका छोरा मनोज र धनुषाको बटेश्वर गाउँपालिका २ भुचक्रपुरकी धनमन्तीको विवाह भएको थियो।

मृतकको माइतपक्षले ससुरा पक्षको मागअनुसारअनुसार २ लाख पर्ने एक मोटरसाइकल, दुई लाख नगद, दुई तोला सुनलगायत फर्निचर र अन्य सरसमान गरी ८ लाख बराबरको सरसमान दाईजो दिएको बुबा बद्री महतोले बताए। तर केही दिन नबित्दै छोरीलाई डरत्रास देखाउँदै आएको बताए। महतोले टेलिफोन सम्पर्कमा भने, ‘छोरीको खुसी र सुखको लागि गरिब भए पनि ऋण काढेर ८ लाख बराबरको दान दहेज दिए। विहेमा १२ लाख रुपैयाँ खर्च गरे। छोरी विवाहको ऋण अहिले पनि छदैछ, तर मेरो अब यो संसारमा छैन, २ वर्ष पनि बाँच्न दिएन, हत्याराहरुले आखिर हत्या गरेरै छाड्यो।’

७ महिनादेखि धम्की

मृतक धनमन्तीकी भाउजू सीता देवीले गत श्रावण महिनादेखि नै ज्वाई मनोज महतोले फोन गरेर नन्दमाथि विभिन्न बहाना बनाउँदै आफ्नो परिवारलाई धम्की फोनमा दिँदै आएको सुनाए। ‘गत साउन महिनामा नन्द माइत आएको थिइन्। त्यसपछि ससुरा घर गइन्। केहीदिनपछि नन्दलाई ज्वाई, सासु, ससुराले विभिन्न बाहाना बनाएर यातना दिने गरेका थिए। फोनमा नन्दसँग हामीलाई दुःख सुखको धेरै कुरासमेत गर्न दिँदैन्थ्यो। कुरा गर्दा पनि अगाडिमा उभेर मात्र सिमित बोल्न दिन्थ्यो, पछिल्लो दिनको कुरा सुनाउँदै धनमन्तीकी भाउजुले भनिन, ‘ज्वाई आफैँले हामीलाई धम्की दिन्थ्यो। धनमन्तीलाई यहाँबाट लै जानुस्। नत्र केहि भए त्यसको जिम्मेबारी आफू नहुने कुरा भन्दै धम्काउथे’ उनले आरोप लगाईन्।

मृतककी भाउजू सीता देवीका अनुसार आफूहरू केही दिनपछि धनमन्तीलाई माइत ल्याउने योजना बनाए पनि सानो बच्चाका कारण ल्याउन अफ्ठयारो हुने हुँदा ज्वाई र नन्दलाई सम्झाउने २–४ दिनपछि ल्याउने भने पनि बीचमै घटना घटाएको उनले दाबी गरिन्। भाउजु सीताकी अनुसार पति मनोजले अब यस्तो श्रीमतीले घर नचल्ने भन्दै अर्को विवाह गर्नैपर्ने धम्कीसमेत माइती पक्षलाई पटक–पटक दिने गरेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.