|

इंग्लिस प्रिमियर लिगमा खराब सुरुवातलाई सनसनीपूर्ण रिकभरी गर्न सफल म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा भने अप्रत्यासित हारको सिकार भएको छ। फ्रेन्च क्लब पिएसजीसँग युनाइटेड वर्ल्ड ट्राफोडमा २–०ले पराजित भयो।

प्रेसनल किम्पेम्बे र केलियन एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे। युनाइटेड खेलको अन्तिम समयमा स्टार पाउल पोग्बालाई दोहोरो पंहेलो कार्डका कारण गुमाउन पुगेको थियो। युनाइटेडले अन्तरिम प्रशिक्षक ओले गुनर सोलाकजइरको प्रशिक्षणमा पछिल्ला ११ मध्ये १० खेलमा जित निकालेका थिए भने एक खेलमा बराबरी खेलेका थिए। तर सोलाकजइरले १२ औं खेलमा पराजयको सामना गर्नु पर्‍यो।

यद्यपि सोलाकजइरले युरोपको प्रतिष्ठित भिडन्तमा भने चमत्कार गर्न सकेनन्। युरोपियन प्रतियोगितामा युनाइटेडले घरेलु मैदानमा एक भन्दा बढी गोल खाएको यो पहिलो पटक हो। अब युनाइटेडले पेरिसमा ६ मार्चमा हुने खेलमा चामत्कारिक नतिजा निकाल्नु पर्नेछ। अन्यथा युनाइटेड च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलबाटै बाहिरिने छ।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा युनाइटेडले चोटका कारण दुई खेलाडी परिवर्तन गर्नुपरेको थियो। जेसी लिङ्गार्ड र एन्थोनी मार्सियलको स्थानमा एलेक्सिस सान्चेज र जुआन माटा मैदान प्रवेश गरेका थिए। पिएसजीका लागि खेलको ५३ औँ मिनेटमा एन्जल डि मारियाको कर्नरमा प्रेस्नेल किम्पेम्बेले हेडरमार्फत गोल गरे । त्यस्तै डि मारियाकै क्रसमा ६० औं मिनेटमा एमबाप्पेले टिमको अग्रता दोब्बर बनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.