|

काठमाडौं : सन् २०१९ को जनवरीमा ९१ हजार ७९३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक नेपाल आएका हुन् भने १४ हजार ४९३ पर्यटक सडकमार्ग हुँदै नेपाल आएका हुन्।

यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.५ प्रतिशतले बढी हो। यो अवधिमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १४ हजार ६५० पर्यटक आए। चीनबाट १३ हजार ४८८ पर्यटकले नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार गत वर्षको तुलनामा जनवरीमा थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या क्रमशः ६९‍.८ प्रतिशत, ३८ प्रतिशत र ८.४ प्रतिशतले वृद्धि भएको छ। 

यसैगरी बेलायत, जर्मनी र फ्रान्सलगायत युरोपेली मुलुकबाट ११ हजार ९९६ नेपाल भ्रमणमा आएका छन्। जनवरीमा बेलायतबाट चार हजार १३०, जर्मनीबाट एक हजार ५४९ र फ्रान्सबाट एक हजार ३७५ पर्यटक नेपाल भ्रमणमा आएका छन्। 

गत वर्षको तुलनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या २८.१ प्रतिशतले वृद्धि भएको छ भने अस्ट्रेलियाको पर्यटकको सङ्ख्या ३१.३ प्रतिशतले वृद्धि भएको देखिन्छ। जनवरीमा मात्र अमेरिकाबाट सात हजार २८ पर्यटक नेपाल आएका छन्। अष्ट्रेलियाबाट तीन हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेका छन्। 

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा प्रभावकारीरूपमा नेपालको पर्यटनबारे प्रचारप्रसार भएका कारण विदेशी पर्यटक बढ्न क्रममा रहेको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.