|

भेनेजुएलाको प्रतिपक्षी दलका नेता जुआन गुएडोले आफ्ना दशौँ हजार समर्थकलाई मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

राजधानी काराकासमा विपक्षी दलले सरकारविरुद्ध गरेको विरोध प्रदर्शन कार्यक्रममा गुएडोले राष्ट्रपति निकोलस माडुरोको तत्काल राजीनामा माग गर्दै आफ्ना समर्थकलाई तत्काल मानवीय सहायता चाहिएको र त्यो आफूले उपलब्ध गराउने घोषणा गरेका हुन्।

आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएडोले प्राथमिक सामग्री अभावमा हालसम्म तीन लाख नागरिकको मृत्यु भइसकेको र २० लाखभन्दा बढी नागरिक अस्वस्थ अवस्थामा रहेको भन्दै आगामी २३ फेब्रुअरीसम्म आफूले सहायता सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। गत हप्ता विपक्षी दलका नेता गुएडोको आग्रहमा अमेरिकाले पठाएको मानवीय सहायतासम्बन्धी सामग्री कोलम्बियासँगको सीमा नाकामा पुगे पनि सरकारी सेनाको अवरोधका कारण भेनेजुएला प्रवेश गर्न पाएको छैन।

भेनेजुएलामा राष्ट्रपतिको निर्वाचन माग गर्दै आन्दोलनमा उत्रिएका विपक्षी दलका नेता गुएडोलाई अमेरिका तथा युरोपेली मुलुकहरूको समर्थन रहेको छ। तर राष्ट्रपति माडुरोलाई रुस र चीनले सहयोग तथा समर्थन दिएका छन्। शक्ति राष्ट्रहरुको चलखेलका कारण निर्वाचन हुन सकेको छैन भने देशमा चरम आर्थिक संकट देखा परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.