|

बिर्तामोड : झापा शनिअर्जुन–९ सालबारीस्थित महारानीगञ्ज माविका व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुको टोली भर्ना अभियान लिएर घरदैलोमा थियो।

ब्यवस्थापन समिति अध्यक्ष लवकुश गौतम, शिक्षकहरु प्रदीप बस्नेत र शान्तिराम दाहाल एउटा घरमा पुगे। जहाँ १७ वर्षे किशोर कमल तामाङ अशक्त अवस्थामा सुतिरहेका थिए। ‘घरको भुइँमा धुलोमा सुतिरहेको थियो, अश्लिल शब्दमात्र बोल्थ्यो,’ पाँच वर्षअघि किशोरको अवस्था स्मरण गर्दै शिक्षक बस्नेतले भने। भर्ना अभियान लिएर पुगेको टोलीले कमललाई प्रश्न गर्‍यो, ‘पढेका छौ?’ ती किशोरले भने ‘छैन।’

उनीहरुले सोधे, ‘पढ्ने हो?’ कमलले एक शब्दमा जवाफ दिएका थिए, ‘हो।'

केही दिनपछि नै कमलका बाबु चन्द्रबहादुर तामाङ महारानीगञ्ज मावि पुगे, छोरालाई भर्ना गर्न। अहिले  कलम ४ कक्षामा पढ्दैछन्।

महारानीगञ्ज माविमा पढ्ने विद्यार्थीमध्ये फरक छन्, कमल। फरक हो, उमेर समूह र क्षमताको। उनका दुबै गोडा साना छन्। २०५० साल चैतमा जन्मिएका उनी ह्वीलचेयरमा विद्यालय आउँछन्। २३ वर्षका कमल कक्षा–४ मा पढ्छन्।

एउटा खुशी थिए कमल

लगातार ३ वटी छोरीपछि छोराको जन्म हुँदा कमलका बाबु चन्द्रबहादुर र आमा चन्द्रमायाले सोचेका थिए, ‘अब हाम्रा दुःखका दिन गए।' तर, खेतीपाती गरेर जीवन गुजारा गर्ने यो परिवारको खुशी बिस्तारै नैराश्यतामा परिणत हुँदै गयो। वर्षदिनको पुग्दा पनि छोराले खुट्टा नचलाएपछि उनीहरु डराए। ‘साना नानीहरुलाई हत्केलामा उभ्याउँदा उभिन्थे, उसलाई सकिएन,’ कमलका बुबा चन्द्रबहादुर भन्छन्, ‘हात समातेर उभ्याउँदा पनि खुट्टा टेकेन।’

छोरो हिँडडुल गर्न नसक्ने बुझेपछि चन्द्रबहादुरले कमलको बोली फुटेदेखि नै पढ्न सिकाए। तर, कमलले कहिल्यै पढ्न मन गरेनन्। ठूलो हुँदै गएपछि उपचार गर्न भारत लगे, धरान लगे, विराटनगर पनि लगे। तर, कतै पार लागेन। ‘बिजुली अफिसमा करेन्ट लगाएपछि निको हुन्छ भन्ने सुनेर त्यहाँ पनि लगेँ,’ चन्द्रबहादुर भन्छन्, ‘मेरो छोराले केही गर्दा खुट्टो टेकेन।’

अहिले कमल पहिलेको जस्तो छैनन्। स्कूल आउन थालेपछि धेरै कुरा सिकिसके। आफ्नो बारेमा राम्ररी बताउन सक्छन् उनी। आफूलाई जन्मँदै पोलियो लागेको बताउँछन् । बुबाले उपचारका लागि धेरैतिर लगेको पनि राम्ररी थाहा छ उनलाई। ‘०६२/०६३ सालतिर चार महिनाजति बिर्तामोडमा गएर मालिस गर्ने विधिले उपचार गरियो। तर, त्यसले केही भएन,’ स्कूलको चौरमा ह्वीलचियरमा बसिरहेका कमलले भने, ‘सुरुमा त वैशाखी  टेकेर हिड्थेँ म, गाह्रो थियो, पछि शनिअर्जुन अपाङ्गता स्वाबलम्बन समाजले यो ह्वील चियर दिएको हो।’

कमलको दृढता

स्कूल आउन थालेपछि भने आफूमा धेरै परिवर्तन आएको कमलले बुझिसके। आफैँ भन्छन्, ‘बोल्न सिकेँ, ठूलालाई आदर गर्न, सानालाई माया गर्न सिकेँ। असल मान्छे हुनुपर्छ भन्ने कुरा मैले स्कूलमै सिकेको हो।’पछि बुबाआमालाई पनि पाल्नुपर्छ भन्ने बुझेका छन् उनले। तर, हिँडडुल गर्न, काम गर्न नसकेका कारण कहिलेकाहीँ दिक्क लाग्ने गरेको उनी सुनाउँछन्।

'अरु केही गर्न सकिनँ भने पनि हामीजस्ता मान्छेलाई हेर्ने समाजको दृष्टिकोणमा चाहिँ परिवर्तन ल्याएरै छोड्छु,’ उनले भने। स्कूल आउन थालेपछि उनलाई दिन कटाउन सजिलो भएको छ। साथीहरुसँग गफ गर्छन्, स्कूलमा आयोजना हुने कार्यक्रममा गीत पनि गाउँछन् उनी।

‘उसले सामाजिक चालचलन बुझ्यो अब त,’ विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बू भन्छन्, ‘गीत गाउन मञ्चमा जाँदा दुई शब्द राखेर मात्र गाउँछ। बोल्न जान्ने भएको छ, ताल परे दार्शनिक कुरा पनि पो गर्छ त !’ कमल पढ्न भने खासै मन गर्दैनन्। विद्यालय भवन अपाङ्गमैत्री छैन। तरपनि उनको ह्वीलचेयर कक्षाकोठाभित्रै पस्न सक्ने व्यवस्था गरिदिएको छ, विद्यालयले । जति पढ्न सिकाए पनि उनले मन नलगाउने शिक्षिका सरस्वती लुइँटेल बताउँछिन्। भन्छिन्, ‘उसलाई विशेष ध्यान दिन्छु, कति सम्झाउँछु। तर, छेउमै नआइदिए हुन्थ्यो जस्तो गर्छ।’

लिखितमा राम्रो नभएपनि मौखिकमा भने कमलले राम्रो गरिरहेको उनले सुनाइन्। शिक्षा कार्यालयले कमललाई वार्षिक ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.