|

काठमाडौं :  साहित्यकार सरल सहयात्रीद्वारा लिखित उपन्यास ‘शिखरको ढुंगा’ सार्वजनिक भएको छ। मंगलबार कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त पुस्तकको विमोचन गरे।

प्रचण्डले उपन्यासले नेपाली समाजको परिवर्तनलाई बुझाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जिकिर गरे। सहयात्रीले लेखेको उपन्यासले नेपाली साहित्यमा प्रभाव पार्ने विश्वास आफूले लिएको प्रचण्डले बताए। 

पुस्तकमाथि टिप्पणी गर्दै सगरमाथा आरोही माया शेर्पाले उपन्यासले हिमाल आरोहणको विषयलाई आख्यानका रुपमा बाहिर ल्याउन सकेको बताइन्। कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले नेपाली साहित्यमा अब्बल कृतिको रुपमा शिखरको ढुंगा आएको बताए। उनले राजनीतिलाई हिमाल आरोहणसँग जोडेर लेखिएको यो उपन्यास भाषिक दृष्टिले पनि अब्बल रहेको बताए। उनले बिम्बात्मक रुपमा राजनीतिलाई सगरमाथा आरोहणसँग जोडेर उपन्यासले गणतन्त्रसम्मको नेपाली राजनीतिलाई प्रस्तुत गरेको जिकिर गरे।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले उपन्यासकार सहयात्रीले हिमाल आरोहणको विषयलाई गहन रुपमा लेख्दै जनयुद्धको विषयलाई जोडेको बताइन्। उनले हिमाल आरोहणको एउटा गहकिलो कृतिका रुपमा आएको यो उपन्यासले नेपाली साहित्यमा राजनीतिलाई समेत कलात्मक रुपमा उठाएको बताइन्।

लेखक सहयात्रीले शिखरको ढुंगालाई गणतन्त्रसँग तुलना गर्दै नेपालको राजनीतिलाई सङ्लो बनाउने कार्यमा सबै लाग्नुपर्ने धारणा व्यक्त गरे। उनले उपन्यासमा हिमाल आरोहण, जनयुद्ध, श्रमजीवी जनता, राष्ट्रियता, मातृप्रेम लगायतका विषयलाई उठाइएको बताए। उनले भने, ‘उपन्यासमा हिमाल आरोहणको अविस्मरणीय अनुभव र अनुभूति समेटिएको छ।’ प्रचण्डका स्वर्गीय छोरा प्रकाश दाहाल, उपन्यास लेखक सरल सहयात्रीलगायत १० युवाले सगरमाथा आरोहण गरेको विषयलाई जनयुद्धसँग तुलना गर्दै उपन्यास लेखिएको छ। यो पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.