|

बाँके : राप्तीसोनारी गाउँपालिका फत्तेपुरका बाढीपीडितको घर धमाधम निर्माण भइरहेको छ। घर निर्माणमा २० देखि २३ वर्षका युवायुवती सेतो हेलमेट लगाएर खटिरहेका छन्।

यसरी खट्ने युवायुवतीहरुले रोजीरोटीका लागि मरिहत्ते गरी मजदुरी गरेका होइनन्। उनीहरु त जापानको क्वान्सी गाकुइन विश्वविद्यालयबाट खटिएका स्वयंसेवी विद्यार्थी रहेको हेविटाटका नेपाल बाढी प्रकोप प्रतिकार्य कार्यक्रम संयोजक साजन महर्जनले बताए। जनश्रमदान गर्ने १५ छात्रा र ११ छात्र रहेका छन्।

जापानी विद्यार्थीले दश दिन लगाएर आठ वटा घरको डिपिसी तयार पारेका छन्। उनीहरुले बालुवा, गिट्टी, मोरङ, इँटा, ढुंगा ओसार्नुका साथै सिमेन्ट घोल्ने, मसला बोक्ने, माटो पटान गर्नेलगायतका काम गर्दै आएका छन्। 

ती विद्यार्थीहरु आफूले दिएको रकमबाट निर्माण भइरहेको बाढीपीडितको घर अनुगन गर्न आएका हुन्। यही क्रममा घर निर्माणको काममा सहभागी भएको संयोजक महर्जनले बताए। उनले भने, ‘बन्दै गरेका घरको निरीक्षण गर्न आएको बेला जनश्रमदान गरिरहेका छन्।’

जापानबाट आएका विद्यार्थीले घर बनाउन सहयोग गरेर धेरै गुन लगाएको राप्तीसोनारी गाउँपालिका–६, कमैयाडाँडाका बाढीपीडित गोपीलाल चौधरीले बताए। उनले भने, ‘घर निर्माणमा स्वयम्सेवीको रुपमा सहयोग गरेर हामीलाई ऋणी बनाएर फर्किँदै छन्।’

घर बनाउन जनश्रमदान गरेर स्वयम्सेवकले बाढीपीडितको रकम बचत गरिदिएको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर थारुले बताए। रकम नभएर घर बनाउन समस्या भइरहेको बेला जापानी विद्यार्थीले स्वयम्सेवकको रुपमा काम गरेर बाढीपीडितको पीडामा मलम लगाएको वडाध्यक्ष थारुले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.