आज जनयुद्ध दिवस

|

उदयपुर : आज फागुन १ गते। 'माओवादी'ले भन्ने गरेको 'जनयुद्ध दिवस'। जनयुद्ध वा सशस्त्र युद्ध जे भने पनि यो नेपालको एउटा चर्तित घटनाक्रम, जुन इतिहास बनेको छ। जसको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादीले गरेको थियो। त्यो माओवादी भने विभिन्न समूहमा टुक्रिएको छ। 

जनयुद्धको व्यथा भने अझै मानसपटमा छ। जनयुद्धका हस्ती हौँ भन्ने युद्धका कमाण्डरहरूले खोलेका पाटपाटे पाटीहरूमा जनयुद्ध पाइन्छ। अनि जो जनयुद्धमा लागेका तत्कालीन माओवादीका पुराना नेता कार्यकर्ता, अपाङ्ग, घाइते, परिवारका सदस्यजन गुमाएका घरपरिवारका पीडामा जनयुद्ध देखिन्छ।

माओवादीले सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादविरुद्ध गरेको जनयुद्ध। जुन नेपालको इतिहासमा सर्वाधिक ठूलो सशस्त्र आन्दोलन हो। त्यही आन्दोलनका एक पात्र हुन, उदयपुरका विनोद कटुवाल उर्फ कमरेड दिवस।

बाल्यकालमै बन्‍दुक बोक्न बाध्य

जनयुद्ध सुरु भएको २४ वर्ष पुग्यो। शान्ति प्रक्रियामा आएको अहिले १३ वर्ष भइसक्यो। तर, युद्धका अवशेषहरू छरपस्ट भेटिन्छन्। कोही न्यायको माग गरिरहेका छन् त। कोही लगानीको प्रतिफल। 

जनयुद्धमै बाबुआमा गुमाएका विनोद भन्छन्, राज्यले दमन गर्‍यो। दमनबाट बच्न बाल्यकालमै जनयुद्धको सिपाही बनेँ। भावुक हुँदै उनी भन्छन्, ‘जनयुद्धमा बाबुआमा गुमाएपछि तीन सन्तान हामी पठनपाठन गर्ने उमेरमा टुहुरा बन्यौँ। बेसहारा भयौँ। अनि राज्यको ज्यादतिविरुद्ध बाल सिपाही भएर बन्दुक बोक्न बाध्य भएँ।'

अपेक्षा धेरै थिए। जनयुद्धमा होमिएका सबैको चित्त बुझेको छैन।  तर, विनोद भने आशावादी छन्। भन्छन्- 'कलम बोक्ने उमेर बन्दुक बोकेर ल्याएको परिवर्तनले देश अहिले आर्थिक संवृद्धिको लागि लम्कने जमर्को गर्दै छ। देश अहिले आर्थिक क्रान्तिको बाटोमा छ।'

पुराना माओवादी अहिले अनेक समूहमा विभाजित छन्। कोही दोस्रो जनयुद्ध गर्ने भन्दै छन्। कोही संवृद्धि हाम्रै पालामा सम्भव छ भन्दै छन्। विनोद माओवादी केन्द्र हुँदै अहिले नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) मा आबद्ध छन्। र, नेकपाको जिल्ला नेता बनेका छन्।

परिवार नै जनयुद्धमा

विनोदका बुबा हुन् मोहन कटुवाल। उनी आफैँ अन्यायमा परेर क्रान्तिमा होमिएका थिए। विगत सम्झँदै विनोद भन्छन्:

हजुरबुबाको नामको जग्गा जमिन स्थानीय सामन्तहरूले कब्जा गरे। बुवाले तिनीहरूको विरोध गर्दै जानुभयो। सामन्तलाई छाड्नु हुन्न भन्दै कडा विरोध गरिरहनु भयो। कहिले सामन्ती भनेर खेत कब्जा गर्ने, कहिले कुटपिट गर्ने काम भयो। 

स्थानीय ‘सामन्त’सँग लड्दालड्दै बुवा एक्लै हुनुभयो। राज्यबाटै बुवालाई दमन हुन थाल्यो। बुवा एक्लिँदै जानुभएछ। चिरा परेका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने तत्कालीन चौथो महाधिवेशन (चौम) को लहर सिन्धुलीसम्म निक्कै थियो रे। महाभारतको चुरे क्षेत्रमा ऋषि देवकोटा ‘आजाद’को निकै प्रभाव रहेछ। त्यहीबेला बुवा उहाँको सम्पर्कमा पुग्नु भएछ। ‘न्यूक्लस’ गठनताका बुवासहित चार जना उदयपुरको संस्थापक बन्नुभएछ। त्यसपछि बुवा वर्गीय मुक्ति आन्दोलनमा होमिनुभएछ। 

बुबाको शहादतपछि गाउँमा बस्न सक्ने स्थिति थिएन। स–परिवारले गाउँ छोडे। प्रहरीले आमा गंगालाई पनि छोडेनन्। साना तीनजना नानीहरूलाई छोडेर भाग्नुको विकल्प भएन आमाको। दाइ सुरक्षित बन्न हिँडेछन् बुटवलतिर। बहिनी नाता पर्ने छिमेकीको सहारा लिन पुगिछिन्। 

पार्टी लिन आउँछ भन्ने बुबासँग आउने नेताहरूले भनेका थिए। त्यही सुनेर म पर गाउँमा गएर बाख्रा चराउने, कहिलेकाहीँ स्कुल जाने गर्न थालेँ। पार्टी आउँदै आएन। प्रहरी गाउँमा पस्ने थाले। मला मोहन कटुवालको छोरो भनेर चिनेको भए मात्रै पनि मार्ने थिए। गाउँमा त्रास फैलिरह्यो। चार महिनापछि पार्टीसँग सम्पर्क भयो। एमालेबाट वडा अध्यक्ष जितेका व्यक्तिले गराइदिए सम्पर्क। पार्टी सम्पर्कबाट दाइ, बहिनी खोज्ने काम गरेँ। दाइ बुटवल पुगेको खबर पाएँ। पार्टी सम्पर्कबाट बहिनीलाई भेटेँ। पार्टीले सिन्धुपाल्चोक लग्यो।

 

सिन्धुपाल्चोकले नेता बनायो 

त्यो बेला त्यहाँ ध्रुव पराजुली इन्चार्ज थिए। हामीले दुःख पाएको देखेर सिन्धुपाल्चोक लाने योजना पार्टीको थियो। हामीलाई पढाउन सिन्धुपाल्चोक लगियो। बहिनीलाई माथि मंखामा पढ्ने व्यवस्था गरिदियो पार्टीले। लामाको घरमा बसेर पढ्ने व्यवस्था भयो। मलाई सिन्धुपाल्चोकको कुबिन्डेमा। जुन घर सिन्धुपाल्चोकभरि चर्चामा थियो। त्यो घर अग्नि सापकोटा ‘कञ्चन’का दाजुभाइकै थियो। म बस्दाबस्दै त्यो परिवारमा ३ जनाको शहादत भयो। शान्ति प्रक्रियासम्म आइपुग्दा म बस्ने गाउँबाट मात्र १६ जना शहीद बने। 

मलाई त्यो देखेर झन् आत्म बल मिल्थ्यो। म अखिल (क्रान्तिकारी) सेतीदेवी पञ्चकन्या मावि (हाल उच्च मावि), कुबिन्डे इकाई समितिमा आबद्ध भएँ। दिनहुँजसो प्रहरी आउन थाल्यो स्कुलमा। म झ्यालबाट बाहिरिन्थे। पढाई अब्बल भएकाले अग्नि सापकोटाले पढाउनमा विशेष जोड् दिएका थिए।  सापकोटा परिवारको सबै परिवार युद्धमा होमिएको थियो। अनि म घरमा कसरी बस्ने? दाइहरूले नआइज भन्दा पनि म जबरजस्त हिँडे। 

पूर्वमा भएका ठुला कारबाही सबैमा संलग्न हुँदै आएँ। धेरै मोर्चामा लडेँ। अहिले अरू केही नभए पनि जनयुद्धकर्मी बनेको छु। नेपाली राजनीतिको इतिहास बनेको छु। त्यही भएकाले मेरो परिवार र मेरो भविष्य राजनीतिमै खोज्नु पर्ने छ। खोजिरहेको छु। धैर्यताकासाथ बसेको छु। एक दिन राजनीतिलेनै उज्यालो भविष्य पाउँछु होला। मलाई सिन्धुपाल्चोकलेनै नेता बनाएको हो। बुवाआमाबाट नपाएको माया त्यो सापकोटा परिवारमा पाएको छु।

जनयुद्धकै बलमा आर्थिक संवृद्धि

गणतन्त्रलाई आर्थिक संवृद्धि बाटोमा जनयुद्धले लैजानुपर्छ। जनयुद्धको नेतृत्व गर्ने विभिन्न नेताहरू फरक फरक पार्टी खोलेर बसे पनि देशले अहिले आर्थिक संवृद्धि बाटोमा अघि बढ्न खोजिरहेको छ। त्यही नेपाली जनताको आर्थिक संवृद्धि सपना साकार पार्न पूर्व नेकपा माओवादी केन्द्र र पूर्व नेकपा एमाले एक भई नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) बनेको हो।
त्यही माओवादी जनयुद्धले देशमा अहिले दुइतिहाइको सरकार निर्माण भएको छ। पार्टीका निम्नी सोच्ने वेलाभन्दा पनि देशका लागि सोच्ने वेला आएको छ।

अहिले माओवादी जनयुद्धका नेताहरू फरकफरक विचार बोकेर हिँडेका होलान्। तर, देशका निम्ति एक हुनुपर्ने वेला आएको छ। त्यही भएर आज हिजो माओवादीलाई सशस्त्र युद्धको आरोप लगाउने पूर्व एमालेहरू पनि जनयुद्ध दिशव मनाउँदै छन्। त्यो देशको निम्ति हो।

अब यही सरकारले आर्थिक क्रान्तिको लागि सबै कम्युनिस्टहरूलाई जनयुद्धकै बलमा गोलबन्द बनाउनुपर्छ।

राजनीतिक इच्छा र यात्रा

मेरो बुबालाई प्रहरीले २०५५ कात्तिक १२ गते चिम्टाघारीमा हत्या गरेको थियो। म त्यतिखेर ११ वर्षको थिएँ। बुबाको मृत्युपछि आमा डिप्रेसन बिरामी हुनुभयो। आमालाई तत्कालीन शाही सेनाले २०५९ चैत ८ गते घरबाटै पक्राउ गर्‍यो। त्यसपछि बेपत्ता पारियो। १३/१४ वर्षको उमेर जनयुद्धको सिपाही बने। अहिलेसम्म निरन्तर रूपमा मूल आधारकै पाटी पछ्याउँदै आएको छु। 
दुस्मनसँग भाग्ने छल्ने चेतना भएदेखि जनयुद्धबाटै बुबाको राजनीतिक यात्रा लागेको छु। कयौंपटक मृत्युको मुखबाट बाँच्दै आएको छु। पार्टीले दिएका जिम्मेवारी इमानदारपूर्वक पुरा गर्दै आएको छु।

०६४ सालमा भएको पहिलो संविधासभाको निर्वाचनमा सहिद परिवारको कोटाबाट संविधासभा सदस्यको लागि पार्टीले नाम मागेको थियो। तर, सबैले उमेर सानो छ, भन्दै रोके। 

त्यसपछि ०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो। मैले उदयपुर ३ बाट दाबी गरेँ। तर टिकट पाइनँ। पार्टी केन्द्रले तयारी हुनुहोस् भन्यो। म तयार भए। तर, बीचमै रोकियो। त्यसपछि म पार्टीकै काममा निरन्तर लागे। ०७४ सालमा स्थानीय तहसँगै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो। स्थानीय तहको निर्वाचनमा उदययपुर पार्टीको जिल्ला संयोजक थिए। मेरो घर कटारी नगरपालिका हो। कटारी नगरपालिकामै मेयरको चुनाव लड्न शुभचिन्तकले आग्रह गरेका थिए। म त्यतिवेला जिल्ला संयोजक भएकाले पार्टी जिताउन लागे।

जनयुद्धपछि विभिन्न कारणले माओवादी कमजोर भएको उदयपुरमा धेरै वडा र लिम्चुङबुङ गाउँपालिकामा अध्यक्षमा माओवादीकै केन्द्रको अध्यक्ष जितियो। त्यतिवेला सबैले स्थानीय निर्वाचनमा उदयपुरमा निल हुन्छ भन्थे। तर, मेरो कार्यक्षेत्र भएको ठाउँमा जित हात पारेको हुँ। त्यो जनयुद्धको आधार इलाका पनि थियो। मेरो इतिहास जान्ने बुझ्नेलाई सोध्दा पनि हुन्छ।

बागी बन्ने प्रयास

०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो। वाम गठबन्धन बनेको थियो। उदयपुरमा प्रतिनिधिसभा २ क्षेत्र र चार प्रादेशिक निर्वाचन क्षेत्र बने। मैले माओवादी केन्द्रको भागमा परेको प्रदेशबाट टिकट दाबी गरेको थिए। पार्टी हेडक्वाटरदेखि जिल्ला अगुवा नेता तथा कार्यकर्ता चुनाव लड्ने खबरले हौसिएका थिए। तर, एकाएक मेरो टिकट बाटोमा खोसियो। बेलुकी टिकट ओके भयो, चुनाव लड्ने पैसा जम्मा गर्नु भने। म पैसाको लागि नरनाता आफन्त गुहार्न थाले। तर, बिहान तिमीलाई यस पटक मौका दिन सकिएन भने। त्यो दिन उम्मेदवारी दर्ता गर्ने दिन थियो। 

मेरो टिकट खोसिएको कुरा मेरा शुचिन्तकसँग राखे। तर, सबैले प्रतिनिधिसभा २ मा बागी उम्मेदवारी दिन अनुरोध गरे। मैले मेरो समर्थक कार्यकर्ता, नेता तथा शुचिन्तकको लागि पनि बागी उम्मेदवारी दर्ता गरे। त्यो माओवादी केन्द्रको भागमा परेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र थियो। त्यसपछि धेरै छलफल भयो। मसहित माओवादीको भागमा परेका क्षेत्रमा चार जनाले बागी उम्मेदवारी दर्ता गराएका थियौँ। पार्टी हेडक्वारटरमा छलफल गरेर मैले बागी फिर्ता लिए। साथीहरूले पनि लिनुभयो। 

मैले सम्झे मेरा बाबुआमाले बगाएको रगतको बागी हालेर जुध्नको लागि थिएन। पार्टी निर्माणका लागि भनेर चित्त बुझाए। भाग्यमा रहेनछ भनौँ भने कर्ममा विश्वास गर्ने मान्छे। गरेको कर्मको मूल्यांकन नहुँदा मन भक्कानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.