आपतकालीन पूर्व-तयारी अभ्यास

|

काठमाडौं :  बिहानको पौने १० बजेको थियो। नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष अगाडि साइरनसहित हुइँकिएर आएको एम्बुलेन्स रोकियो। चालक हत्तपत्त झरे र पछाडिको ढोका खोले। आकस्मिक कक्ष वरपर रहेका सर्वसाधारण तथा बिरामीका आफन्तहरू एम्बुलेन्सनजिक पुगे।

रक्‍ताम्य भएर बेहोस अवस्थामा लडेका एकजना गम्भीर घाइते देखिए। उनीसँगै टाउको हात खुट्टामा गम्भीर चोट अर्धबेहोस अवस्थामा एकजना महिला र एक पुरुष पीडामा कराइरहेका थिए। तर, पनि भित्रबाट बिरामी लिन कोही आएनन्। एम्बुलेन्स चालक घरीभित्र जान्छन्, घरी बाहिर निस्कन्छन्। केही सर्वसाधारणले हल्ला गर्न थाले बिरामी लिन किन नआएको स्टेचर खोइ भन्दै। करिब डेढ मिनेटपछि अस्पतालको सुरक्षाका लागि बसेको प्रहरी र एक केही स्वास्थ्यकर्मी स्ट्रेचर तथा व्हील चियर लिएर आए।

तीनजना बिरामीलाई भित्र लगेर बेडमा राख्न नपाउँदै बाहिर चारवटा एम्बुलेन्स साइरन बजाउँदै आइहाले। त्यतिन्जेल इमरजेन्सी भित्रबाहिर भिड बढिसकेको थियो। तर, दोस्रोपटक पनि रोकिएको एम्बुलेन्सबाट घाइते झिकेर आकस्मिक कक्ष भित्र पुर्‍याउन ढिलो भएको थियो। आन्द्रा भुँडी नै बाहिर निस्केका, हात खुट्टा भाँचिएका, टाउँकोमा गम्भीर चोट लागेका बिरामी जब आकस्मिक कक्षमा लगियो। बाहिर जम्मा भएको भिड पनि सँगसँगै छिरयो। रक्‍ताम्य भएका घाइते र उनका आफन्तको कोलाहल, सँगै छिरेका सर्वसाधारण तथा पत्रकारहरूको भिडले थोरै संख्यामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कहाँबाट काम सुरु गर्ने भन्ने नै सकिरहेका थिएनन्।

यस्ता दुर्घटनाका बेला एकैपटक ठूलो संख्यामा आउने घाइतेको व्यवस्थापन र तत्काल उपचार व्यवस्था मिलाउन आकस्मिक कक्षमा राख्नुपर्ने रेड, एलो ग्रिन एरियाले काम गरेको थिएन। न त आकस्मिक कक्षमा एकैपटक छिरेको ठूलो भिड व्यवस्थापन गर्न अस्पताल प्रशासन लागेको देखिन्थ्यो।

ठीक यहीबेला यस्तै अवस्था नेपालगञ्ज मेडिकल कलेजको सिटी अस्पतालमा पनि थियो। तर, एक्कासि ठूलो संख्यामा घाइते आएको पत्तो पाउनासाथ मेडिकल कलेजमा इमरजेन्सी साइरन बज्यो। चार मिनेटसम्म साइरन बज्दा चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी ४० बढी स्वास्थ्यकर्मी ४ मिनेटभित्रै आकस्मिक कक्षमा पुगे। र अस्पालले इमर्जेन्सी साइरन बजाएर अस्पतालको विभिन्न डिपार्टमा रहेका चिकित्सक तथा नर्सहरूलाई आकस्मिक कक्षमा बोलायो। आकस्मिक कक्षमा भिड जम्मा हुन दिइएन। आफन्त पत्रकार तथा सर्वसाधारणलाई सूचना लिनका लागि माथिल्लो तल्लामा रहेको इन्फरमेसन सेन्टरमा जान भनियो।

पूर्वाभ्यासका लागि दुर्घटना र घाइते नक्कली

यी माथिका दृश्य सोमबार नेपालगञ्जका दुवै अस्पतालमा देखिएका दृश्य हुन्। तर यी कोलाहलपूर्ण वातावरण बास्तविक भए पनि दुर्घटना र घाइते भने नक्कली थिए। भूकम्प तथा अन्य विपत्तिका बेला अस्पतालहरूले कसरी चुस्त सेवा उपलव्ध गराउने भन्नेबारेमा जानकारी दिइन गरिएको यो आपतकालीन पूर्व-तयारीसम्बन्धी नाटकीय अभ्यास (ड्रिल) थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले व्यवस्थापनमा  भविष्यमा हुन सक्ने विपत् र त्यसपछि अस्पतालमा एकैपटक आउने घाइते (मास क्याजोल्टी)लाई कसरी व्यवस्थापन गर्ने भनेर परीक्षण गरिएको थियो। त्यसका लागि अति गम्भीर, गम्भीर, सामान्य घाइते बनाएर अस्पताल पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हेल्थ इमरजेन्सी सेन्टरका प्रमुख चूडामणि भण्डारीले बताए।

कार्यक्रमका संयोजक भण्डारीले भने, 'भूकम्प होस वा अरू यस्तै ठूलो दुर्घटनाका बेला एकैपटक घाइते आउँदा अस्पतालले कसरी रेस्पोन्स गर्दो रहेछ भनेर जान्नका लागि र यसका लागि हुने कमजोरीहरूलाई कसरी अझ व्यवस्थित बनाउने भनेर नै यो अभ्यास गरिएको थियो। इमेरजेन्सी अवस्थामा स्वास्थ्यकर्मी र अस्पतालले गर्नुपर्ने भूमिकाका बारेमा जे जसरी जानकारी हुनुपर्ने हो त्यो भएको छ कि छैन भनेर हेर्नु खोजिएको हो, त्यसैलाई नै नक्कली सडक दुर्घटनाको दृश्य हो  दुई अस्पतालमा भएको ड्रिल।'

घाइतेसँग स्वास्थ्यकर्मीको सेल्फी, मृत्यु भएकाको उपचार

तर, आपतकालीन अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीले कसरी खट्ने भन्ने सिकाइको लागि गरिएको नक्कली  अभ्यासका बेला पनि भेरी अस्पतालमा खटिएका कतिपय चिकित्सकले भने गम्भीरतापूर्वक लिएनन्। जानाकारीबिनै अस्पतालमा नक्कली बिरामी पुर्‍याइए पनि अस्पतालका चिकित्सकहरूले चासो दिएको पाइएन।

केही चिकित्सकले गम्भीर घाइते बिरामीसँग सेल्फी लिइरहेको दृश्य आफैँमा अशोभनीय देखिएको थियो। हो, यो चाहिँ राम्रो भएन । विषयको गाम्भीयर्ता बुझ्नुभएको जस्तो देखिएन। विपत्तिका बेला कसरी चुस्त सेवा दिने भन्ने बारेमा गरिएको सिकाइ अभ्यासका बेला डाक्टर नै सेल्फी लिएर बसेको दृश्यसमेत देखिएको थियो।

 सोही अभ्यासका क्रममा अर्को अनौठो दृश्य पनि देखिएको थियो। केही स्वास्थ्यकर्मीले बाटोमा ल्याउँदा ल्याउँदै मृत्यु भएका एकजना व्यक्तिलाई ब्ल्याक एरियामा लैजानुपर्नेमा रेड जोनमा राखेर धमाधम उपचार गरिरहेका थिए।

ड्रिल कोअर्डिनेटर रहेका डा नवीन फुँयालले भने, ‘स्वास्थ्यकर्मीहरू यसमा पनि चुक्नुभयो त्यसैले यस्तो बेलामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बढी चनाखो हुनुपर्छ आफैँ पनि विपतको बेला अत्तालिने भए पनि मरेका बिरामीलाई उपचार गरेर गम्भीर घाइतेलाई नगर्नु भनेको विपतको बेला स्वास्थ्यकर्मीहरूले गर्ने गम्भीर त्रुटि हो।’

सो अभ्यासका लागि नेपाली सेना र नेपाल प्रहरीका जवानहरूले घाइतेको अभिनय गरेका थिए। अभ्यासको अवलोकन गर्न स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्ले, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेल लगायतका अधिकारीहरू नेपालगञ्ज पुगेका थिए।

अभ्यासका क्रममा भेरी अस्‍पतालमा २५ र मेडिकल कलेजमा १५ जना घाइते लगिएको थियो तर तुलनात्मक रूपमा मेडिकल कलेजको तयारी राम्रो देखिएको थियो। भने प्रदेश अस्पतालका रूपमा रिफरल अस्पतालका रूपमा रहेको भेरी प्रादेशिक अस्पतालको भने विपतको बेलामा गर्नुपर्ने आपतकालीन उपचारको खासै तयारी थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.