|

उदयपुर : कालोपत्रे सहितको खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थलको सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन्। २०५८ सालदेखि थामखर्क विमानस्थल संचालनमा आए पनि स्तरोउन्नति नहुँदा उडान नियमित हुन सकेको थिएन।

नेपाल सरकारले विमानस्थल कालोपत्रे गरेसँगै अब नियमित हवाई सेवा संचालन हुने भएपछि स्थानीयहरु खुसी भएको स्थानीय नवराज भट्टराई बताउँछन्। ‘खोटाङको यो भेग अति दुर्गम क्षेत्रमा पर्छ,’ उनले भने, ‘बिरामी तथा सुत्केरीहरुलाई धेरै सुविधा भएको छ। सडक यातयात जोडिएपनि कच्ची भएकाले हवाई उडान नै थामकर्खको लागि उपयुक्त सेवा हो।

थामखर्कमा नेपाल वायु सेवा निगमले माघ २८ गते परीक्षण उडान भरेको हो। खोटेहाङ गाउँपालिका–४ मा विमानस्थलको कालोपत्रेको काम सकिएपछि राष्ट्रिय ध्वजावाहक जहाज नेपाल वायुसेवा निगमले कम्तीमा हप्ताको दुई पटक उडान गर्ने जनाएको परीक्षण उडानको लागि आइपुगेका वायुसेवा निगमका अध्यक्ष मदन खरेलले बताए। नेपाल नागरिक उड्यान प्राधिकरणको नौ करोड २५ लाख २९ हजार लागतमा रौता कन्ट्रक्सनले कालोपत्रे गरेको थियो।

परीक्षण उडानपछि उद्घाटन कार्यक्रममा बोल्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनावताका गरेका सबै प्रतिबद्धताहरु पूरा हुदै जाने दाबी गरेका थिए। ‘यो सरकार जनताको सरकार हो।’ विमान स्थलको परीक्षण उद्घाटन भर्न आइपुगेका   पर्यटनमन्त्री अधिकारीले भने ‘जनताकै सरकारले भएकाले वर्षौपछि यो विमास स्थल कालोपत्रे भएको हो।’

पर्यटनमन्त्री अधिकारीले थामखर्क विमानस्थल मुलुकभर सञ्चालनमा आएका ३२ औं भएको उल्लेख गर्दै यसको अन्य संरचनाका लागि सरकार प्रतिबद्ध रहेको समेत ठोकुवा गरे। यसका साथै खोटाङका तीन विमानस्थलमध्ये कालोपत्रेको काम भइरहेको लामीडाडा विमानस्थल दुई महिनाभित्र र भत्किएर निर्माणाधीन अवस्थामा रहेको मनमाया राई खानीडाडा विमानस्थल पनि एक वर्षभित्र सञ्चालनमा आउने आश्वासन दिए। खोटाङका तीनै वटा विमानस्थल सञ्चालनसँगै प्रशिद्ध हलेसी, बराहापोखरी लगायतका पर्यटन विकासमा मन्त्रालयको तर्फबाट यथोचित कदम चालिने खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको भनाइ छ।

थामखर्क विमानस्थलमा हप्तामा दुईचोटि उडान भर्ने गरी तालिका निर्माण गरिएको छ। यद्यपि कुन–कुन बार उडान सञ्चालन गर्ने भन्ने टुङ्गो भने भैनसकेको वायुसेवा निगमले जनाकारी दिएको छ। नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले थामखर्क विमानस्थलका लागि आवश्यक संरचना सबै निर्माण गर्ने बताए।

स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचारको राम्रो व्यवस्था नभएको र सडक अभावले उपचारकै लागि समेत अन्यत्र जान समस्या थियो। निर्माण कम्पनीको ढिलासुस्तीले खोटाङको दक्षिणी क्षेत्रको एक मात्र विमानस्थल कालोपत्रेको काम नसकिदा खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारण आक्रोशित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.