|

काठमाडौं : कविका रूपमा परिचित भूपिन उपन्यासकार बनेका छन्।

भूपिनले 'मैदारो' उपन्यासको आवरण सार्वजनिक गरेर आफू उपन्यसकारका रूपमा आउन खोजेको सन्देश दिएका छन्।

'मैदारो' उपन्यासको आवरण बुधबार सार्वजनिक गरिएको छ। उपन्यसाको विषयवस्तु अनुसारको आवरण कलाकार सचिन यगोल श्रेष्ठले तयार परेका हुन्।

यथार्थवादी सामाजिक विषयवस्तुलाई कल्पना र विम्बात्मकरूपमा प्रस्तुत गरिएको 'मैदारो'लाई बुक-हिल पब्लिकेसनले बजारमा ल्याउन लागेको हो| यो उपन्यासले एक आर्टिस्टको प्रेम कथा बोकेको बताइएको छ।

उपन्यासको प्रमुख पात्र 'अँधेरी गाउँ'मा जन्मिने र त्यहाँ मानिसले जन्माएको भाषाले नै मानिसलाई छुत-अछुत भनेर वर्गीकरण गर्ने गरेको भूपिनले बताए। जहाँ मानव जीवनलाई सुन्दर र सार्थक बनाउन आविष्कार गरिएको भाषाको चरम दुरुपयोग गरिन्छ र भनिन्छ, 'जन्मैले म छुत, तँ अछुत। जन्मैले म पवित्र, तँ अपवित्र। जन्मैले म अमृत, तँ विष।' मूलत: यो उपन्यास 'उजेली गाउँहरू' को खोजी भएको उनले बताए।

'सानैदेखि नै उपन्यासकार बन्ने सपना देख्थेँ। मैदारो मेरो त्यही सपनाको परिणति हो। कविता र निबन्धभन्दा ढिला जन्मिएको भए पनि यो मेरो स्वप्निल जन्म हो। प्रिय जन्म हो।' उपन्यासका बारेमा लेखक भूपिन भन्छन्, 'विश्वास छ- पाठकहरूले मेरा कविता र निबन्धलाई झैँ यस उपन्यासलाई पनि प्रेम गर्नु हुने छ।'

३६४ पृष्ठको उपन्यासको मूल्य ४५० रुपैयाँ राखिएको छ। पुस्तक फागुन अन्तिम साता सार्वजनिक हुने बुक-हिलले जनाएको छ| यसअघि उनका 'हजार वर्षको निन्द्रा' र 'सुप्लाको हवाईजहाज' कविता संग्रह र 'चौबीस रिल' निबन्ध संग्रह प्रकाशित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.