|

रामेछाप : रामेछापमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले एक आपसमा शुभकामना आदन–प्रदान गर्दै २४ औँ जनयुद्ध दिवस मनाएका छन्। पार्टी केन्द्रको निर्देशनअनुसार सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी नेकपा रामेछापका नेता कार्यकर्ताले एक आपसमा शुभकामना तथा रातो टीका साटासाट गरी जनयुद्ध दिवस मनाएका हुन्।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ। दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपाका नेता तथा प्रदेश ३ का सांसद शान्ति प्रसाद पौडेलले जनयुद्धले देशमा ल्याएको परिवर्तनको स्मरण गर्दै जनयुद्धका शहिदप्रती सम्मान व्यक्त गरे। उनले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागी गरिएको जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अब समृद्ध नेपाल निर्माणका लागि जुट्ने बेला आएको बताए। उनले जनप्रतिनिधिलाई नागरिकहरुप्रति हिजोको शासकको जस्तो व्यवहार नगर्न आग्रह गरे। विकाशका नाउँमा जथाभावी सडक निर्माण गर्न थालिएको तर्फ संकेत गर्दै उनले नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै विकाश निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा संविधान सभाका सदस्य तथा नेकपा प्रदेश ३ का सदस्य तारानारायण श्रेष्ठले जनयुद्धको जगमा स्थापित संघीय गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्नको लागि सबैले लाग्नु पर्नेमा जोड दिए। अहिले पार्टी एकीकरण भइसकेको अवस्थामा पनि पूर्वएमाले र पूर्वमाओवादीका साथीबीच मन, भावना नमिलेको जस्तो महशुस आँफूलाई भइरहेको भन्दै उनले मन, वचन र भिजनलाई एकआपसमा मिलाएर अघि बढन नेता कार्यकर्तालाई सुझाव दिए। “हामीले देशमा के चाहेका थियौँ, परिवर्तनका लागि देशमा भएका जनयुद्धबाट ती कुरा प्राप्त भएका छन्” उनले भने “अब हिजोको परिकल्पना साकार पार्ने दायित्व हाम्रै हातमा आएको छ।” राजनीतिक दलका आधारमा भेदभाव नगरी विकाशका कामलाई अगाडी बढाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा दोरम्वा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले तल्लो तहसम्म पार्टी एकतामा ढिलाई हुँदा राजनितिक अविभावकत्व नपाएको गुनसो गरे। पार्टीले जनप्रतिनिधि र स्थानीय तहका कामको निगरानी गर्ने र गलत कामप्रति सुझाव सहितको आलोचना गरेर जनप्रतिनिधिलाई सजग बनाउनुपर्ने उनको भनाई थियो। राजनीतिक अभिभावकत्व नपाउँदा जनप्रतिनिधिले प्रभावकारी काम गर्न नसक्ने उनको भनाई थियो।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेकपा रामेछापका नेता प्रेमकुमार कार्की सेवक, टलक घिसिङ, मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत,नेकपा रामेछापका सचिव आनन्द श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी नेता कार्यकर्ताले पार्टी एकताको कामलाई तत्काल पूरा गरी पार्टीलाई गति दिन केन्द्रीय नेतृत्वलाई आग्रह पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.