|

काठमाडौं : अहिलेको सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी तत्कालिन एमाले र माओवादीको संयुक्त रूप हो। यी दुई पार्टीको एकताले पार्टीको तल्लो तह र जनवर्गीय संगठनसम्म आकार लिइसकेको छैन। मूलतः संसदीय प्रणाली हुँदै आएको एमाले र जनयुद्ध हुँदै आएको माओवादीको मिलनले बेला बेला नेकपाका कार्यक्रमहरूमा पनि फरक धार स्पष्ट देखिन्छ। खासगरी शीर्ष नेतृत्वका कारण। 

फागुन १ गते, तत्कालिन माओवादीले जनयुद्ध शुरु गरेको दिन। एकतापछि नेकपाले पनि जनयुद्ध दिवस मनायो। काठमाडौंमा विभिन्न कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भए। २०५२ फागुन १ गते जनयुद्ध शुरु गर्ने प्रचण्डले एकतापछिको जनयुद्ध दिवस मनाएका हुन्। त्यसो त नेकपाले नै जनयुद्ध दिवस मनायो। नेकपाका महासचिव विष्णु पौडेलले पार्टीका हरेक तह र संगठनलाई जनआन्दोलन र जनयुद्धका सहिदहरूको सम्मानमा देशभर कार्यक्रम गर्न सर्कुलर गरिसकेका थिए। सोही अनुसार देशर उक्त कार्यक्रम आयोजना गरिएको थियो। नेकपामा समाहित भएको माओवादीका लागि यो २४औँ जनयुद्ध दिवस थियो। 

यो पनि पढ्नुहोस्ः

जनयुद्ध दिवसका अवसरमा नेकपाका केन्द्रीय कार्यालयहरू पेरिसडाँडा र धुम्बाराहीमा कार्यक्रम आयोजना गरिए। नेपाल प्रज्ञा प्रतिष्ठान, बालुवाटार र माइतिघर मण्डलामा पनि नेकपाका नेता कार्यकर्ताहरूले जनयुद्ध दिवसको अवसरमा नाचगानदेखि द्वीप प्रज्वलनसम्मका कार्यक्रम गरेका थिए। 

मूलतः जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएका यति धेरै कार्यक्रममध्ये कुनैमा पनि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अनुपस्थित रहे। पार्टीमा एकताको सन्देश दिने महत्वपूर्ण अवसर रहेको जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्मान र सम्झनामा आयोजना गरिएको कार्यक्रममा उनी उपस्थित भएनन्। त्यसो त हरेकजसो अवसरमा सामाजिक संजाल, विज्ञप्तिमार्फत शुभकामना दिने ओलीले जनयुद्ध दिवसमा भने न एक ट्विट गरे न विज्ञप्ति नै निकाले। उनी धुम्बाराहीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भनिए पनि अन्तिममा उनी नजाने पूर्वसूचना गइसकेको थियो। तर, यसले भने नेकपाका जनयुद्धबाट र माओवादीबाट आएका कार्यकर्तामा भने निराशा छाएजस्तो देखिन्थ्यो। धुम्बाराहीमा पुगेका पूर्वमाओवादी कार्यकर्ताले ओलीबाट अभिभावकत्वको आश गरेर पुगेको भए पनि त्यस्तो नपाएको भनेर मुखै खोलेका थिए। 

जनयुद्ध दिवसमा व्यस्त प्रचण्ड

बुधबार बिहान ७ बजे, नेकपाका कार्यकर्ता ओछ्यानमै रहँदा अध्यक्ष प्रचण्ड पेरिसडाँडास्थित नेकपाको कार्यालय पुगिसकेका थिए। २४ औँ जनयुद्ध दिवसको दिन प्रचण्ड पेरिसडाँडामा रहेको सहिद स्मारकमा माल्यार्पण गर्न त्यहाँ पुगेका थिए। त्यहाँ पूर्वमाओवादी कार्यकर्ता र नेताहरूको बाक्लो उपस्थिति भए पनि पूर्वएमाले निकट नेताहरूको भने उपस्थिति शून्यप्राय थियो। 

पेरिसडाँडामा तत्कालीन नेकपा माओवादीले गरेको जनयुद्धका क्रममा शहीद भएकाहरूको सम्झनामा स्मारक स्थापना गरिएको छ।

जनयुद्ध दिवसकै सन्दर्भमा साढे १० बजे नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको प्रमुख वक्ता अध्यक्ष प्रचण्ड थिए। त्यहाँ नेकपाका सांसद, नेता र कार्यकर्ताको बाक्लो भीड थियो। पूर्वमाओवादीबाट नेकपा बनेका त्यहाँ अध्यक्ष ओली आइदिउनू भन्ने चाहेका रहेछन्। जसको प्रतिबिम्ब र असन्तुष्टि कार्यक्रम चलिरहेका बेला अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्यले भने, 'अध्यक्ष ओली नआउने भए त पेरिसडाँडामै कार्यक्रम गरेको भए हुने नी!'

त्यहाँ पुगेका अधिकांश पूर्वमाओवादी कार्यकर्ताको भावना यस्तै थियो। कार्यक्रममा पूर्वमाओवादीबाट अधिकांश नेताहरू पुगे पनि पूर्वएमालेबाट भने नेकपा महासचिव विष्णु पौडेल, नेता सुभाषचन्द्र नेम्वाङ, भीम रावललगायत उपस्थित थिए। त्यहाँ नेकपाका नेताहरू झलनाथ खनाल र वामदेव गौतम पनि देखिएनन्। नेता माधवकुमार नेपाल भने राजधानी बाहिर थिए। 

कार्यक्रममा अध्यक्ष प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री ओली व्यस्तताका कारण आउन नसकेको बताए। 

त्यसपश्चात् नेपाल प्रज्ञा प्रतिष्ठानमा जनसांस्कृतिक महासंघ, नेपालले आयोजना गरेको सांस्कृतिक कार्यक्रम थियो। उक्त कार्यक्रममा पनि अध्यक्ष प्रचण्ड नै प्रमुख वक्ता थिए। त्यसकारण दिनभर बुधबार नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड जनयुद्ध दिवसका कार्यक्रममा नै व्यस्त रहे।

प्रधानमन्त्री ओली कता व्यस्त

नेकपा अध्यक्ष ओली पार्टी अध्यक्ष मात्रै होइनन्। उनले प्रधानमन्त्रीको रूपमा सरकारको नेतृत्वसमेत गरिरहेका छन्। त्यसैले उनको सेड्युअल व्यस्त छ। अन्य कार्यक्रममा व्यस्त भएका कारण उनी जनयुद्ध दिवसका कार्यक्रममा उपस्थित हुन नसकेको भनिएका प्रधानमन्त्री ओली सरकारले शुरू गरेको 'प्रधानमन्त्री रोजगार कार्यक्रम'मा सहभागी भए। उनी काभ्रेको नालामा आयोजना गरिएको पशु चिकित्सा सम्बन्धी उत्पादन गर्ने कम्पनिको उद्घाटन गर्न पनि गएका थिए।

बुधबार 'जनयुद्ध दिवस' मनाउन प्रधानमन्त्री ओलीको उपस्थितीलाई धेरैले चासोको रूपमा हेरेका थिए। नेकपा एमाले र एनेकपा माओवादीबीच केन्द्रमा पार्टी एकता भएर नेकपा बने पनि एकताका बाँकी काम पुरा हुन सकेका छैनन्। त्यसकारण पनि अझै व्यवहारिक रूपमा एकता हुन सकेको छैन। यसलाई धेरैले 'मन मिल्न' नसकेको भनेर पनि अर्थ्याउने गरेका छन्।

त्यसो त नेकपाले एकताका सम्पूर्ण सांगठनिक कार्य पुरा गर्न भनेर चौथोपटक गठन गरेको कार्यदल पनि विवादमा तानिएपछि बिचैमा सचिवालयले अधुरो प्रतिवेदन मागेपछि कार्यदलले पुरा नभएको प्रतिवेदन बुझाएको छ। यसरी एकताको कार्य सम्पन्न भइनसक्दा अध्यक्ष ओलीको उपस्थितीलाई विशेष चासोको रूपमा हेरिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.