|

पर्वत : मान्छे चेतनशील प्राणी। उसको बासस्थान घरमा हुन्छ। तर कहिलेकाहीँ मान्छेको चेतनाले काम गर्दा गर्दै पनि अचेतन भएको जस्तो हुँदो रहेछ बाध्यताले। बस्दै आएको कोठा र घर छोडेर शौचालयमा पकाउने, खाने र सुत्ने रहर कसलाई पो होला र! तर बाध्यतामा परेपछि कसैको केही लाग्दो रहेनछ। 

यस्तै बाध्यतामा छिन्, म्याग्दीकी ७५ वर्षीया जमुना सुनार। बेनी नगरपालिका २ ज्यामरुककोटकी सुनार तीन महिनायता चर्पीलाई नै घर मानेर बस्न बाध्य भएकी छिन्। उनका साथमा दुई नाबालक नाति पनि छन्।

जमुना आफ्ना नातिहरूलाई लिएर रहरले भने चर्पीमा बास बसेकी होइनन्। शौचालयकै बास पनि त्यति सजिलोको छैन। साँघुरो शौचालयको छानामा प्वाल परेको छ। पानी परे चुहिहाल्छ। 

यसरी भयो शौचालयको बास

जमुना कान्छा छोरा राजुको साथमा भाडामा कोठा लिएर बस्दै आएकी थिइन्।  राजुकी श्रीमती रोजगारीको सिलसिलामा विदेशमा थिइन्। आमा जमुना, राजु र उनका दुई छोरा नौ वर्षीय एनोस र सात वर्षीय सिमसन गरी चारजनाको परिवार खुसीसाथ रहेको थियो। 

श्रीमती विदेशमा रहेकै समयमै दोस्रो बिहे गरेर राजु बेपत्ता भए। तीन वर्षअघि बुबाको निधन हुँदा समेत क्रियाकर्म गर्न पनि उनी घर फर्किएनन्। छोरो बेपत्ता भए पनि बुहारीले गर्ने सहयोगको भरमा सासू र दुई छोरा बाँचेका थिए। तर उनले पनि दोस्रो विवाह गरिन्।  

त्यसपछि भने जमुना र उनका दुई नातिलाई सहयोग गर्ने कोही पनि भएन्। उनीहरु बस्दै आएको घरको कोठाको भाडा समेत तिर्न नसक्ने अवस्था आयो। कोठाको भाडा तिर्न नसकेपछि जमुना दुई नाति लिएर भौँतारिन थालिन्। अन्त्यमा उनी म्याग्दीकै बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयको शौचालयमा बास बस्न थालेकी हुन्। 

यस्तो छ शौचालयको बास

विद्यालयमा दुईवटा शौचालय छ। एउटा प्रयोगविहीन अवस्थामा रहेको थियो। जमुनाले  विद्यालय प्रशासनसँग विद्यालयको रेखदेख गर्ने,  काममा सघाउने शर्तमा शौचालयमै भए पनि बस्न दिन अनुरोध गरिन्। 

गत मंसिरमा उनले चुहिने छाना भएको विद्यालयको त्यही शौचालयमा चुल्हो र ओछ्यान लगाइन्। साँघुरो भए पनि त्यसैलाई घर मानेकी छिन्। ‘आफ्नो त जे होला! यिनीहरूलाई मर्न दिन त भएन नि!’, उनले भनिन्, ‘अरु केही उपाय नभएपछि चर्पीमै बस्न थालेँ।’ सोही विद्यालयमा एनोस कक्षा २ र सिमसन बालकक्षामा पढ्छन्।

बुढेसकालले च्यापेपछि उनले गर्दै आएको ज्याला मजदुरीको काम गर्न पनि छाडिन्। उनको आम्दानीको स्रोत भनेको सामाजिक सुरक्षा भत्ता मात्रै हो। उनले त्यसैबाट नै ३ जनाको परिवारको पेट भर्दै आएकी छन्। ‘वृद्धाभत्ता बाहेक अरु कमाइ नभएपछि भाडा तिर्न नसकेर यहाँ बस्न थालेकी हुँ।’ अन्नपात मागेर दुई नाति र आफ्नो भोक मेट्ने गरेको जमुनाले सुनाइन्। आफूले पाउने भत्ताबाट नातिहरूको पढाइ, नुन, तेल गर्ने खर्च जुटाउने गरेको उनले बताइन्।

तीन कोठे शौचालयको एउटा कोठामा उनीहरुको भान्सा छ भने अर्को कोठा सुत्नका लागि प्रयोग हुन्छ। शौचालयको बीचको कोठा भने उनीरुले नै शौचालयको रूपमा प्रयोग गर्दै आएका छन्। नजिकैको अर्को चर्पीबाट पनि दुर्गन्ध आउँछ। 

अरु छोराले पनि हेर्न सक्ने अवस्था छैन

जमुनाका कान्छा छोराबुहारीले त छाडेर भागे अरु छोराले समेत उनीहरुलाई हेर्न सक्ने अवस्था छैन। सुकुमवासी सुनारका चार छोरामध्ये माइला र साइँला छोरा पनि बेपत्ता छन्। जेठा छोरा ज्याला मजदुरी गरेर जीविका चलाइरहेका छन्। जेठा छोराको आर्थिक अवस्था पनि उस्तै दयनीय छ। जसोतसो परिवार पालेका उनी आमा र दुई भतिजको भार थाम्न नसक्ने अवस्थामा छन्। 'यही कारण जेठा छोरालाई दुःख नदिने भन्दै यहाँ बस्न थालेकी हुँ', जमुनाले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.