|

हुम्ला : विमानस्थलमा जमेको हिउँ नपन्छाएकाले सिमकोट विमानस्थलमा हवाइजहाज उडान र अवतरणमा समस्या हुन थालको छ।

गत बिहीबारदेखि भएका हिमपातका कारण बन्द भएको विमानस्थल मंगलबारदेखि सञ्चालनमा आए पनि विमानस्थलमा जमेको हिउँ पूर्ण रुपमा नपन्छाएकाले एयर ट्राफिक जाम बढेको सिमकोट विमानस्थल कार्यालयले बताएको छ। यसका साथै नेपालगञ्ज र सुर्खेतबाट दैनिक तीनदेखि ६ वटा जहाज एकै पटक  सिमकोटका लागि उडान भरेकाले ट्राफिक जाम भएको जनाइएको छ।

चार फिटसम्म हिउँ जमेपछि बन्द भएको विमानस्थल मंगलबारदेखि सञ्चालनमा आएको छ। विमानस्थलको रनवेको हिउँ पन्छाए पनि पार्किङ स्थलको हिउँ पन्छाइएको छैन। त्यसैले पार्किङ अभावले जहाजले आकाशमा होल्ड गर्नु परेको हो। 

करिव १० वटा जहाज एकै पटक पार्किङ गर्न सक्ने क्षमता भएको सिमकोट विमानस्थलमा हिउँ जमेका कारण दुई वटा मात्र पार्किङ गर्न मिल्ने भएको छ। बिहीबार सिमकोटका लागि उडान भरेका सबै जहाजले पाँच पाँच मिनेट आकासमा होल्ड गर्नु परेको सिमकोट नागरिक उड्यान कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.