|

उदयपुरः विभिन्न समयमा विद्यालयको नाममा राखिएको ऐँलानी तथा नम्वरी जग्गाको खोजी कार्य सुरु भएको छ। चौतर्फी रुपमा विभिन्न सरकारी संघ संस्थाको नाममा राखिएको सार्वजानिक जग्गाको अतिक्रमण बढ्दै गएपछि उदयपुरका विद्यालयको नामम भएको जग्गाको खोजी कार्य सुरु भएको हो।

शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले गाउँपालिका तथा नगरपालिका क्षेत्रका विद्यालयको नाममा भएको जग्गाको यथोचित त्यसको अवस्था खुल्ने गरी जानकारी सम्बन्धित विद्यालयसँग माग गरेको छ। इकाई प्रमुख हरिहर धितालले आधारभूतदेखि माध्यमिक तहसम्मका विद्यालयले भोग चलनमा ल्याई प्रयोग गरिरहेको चलसम्पति जग्गा जमिनको विवरण शिक्षा तथा मानव विकास स्रोत केन्द्र पठाउनु पर्ने भएकाले प्रत्येक विद्यालयबाट जग्गाको विवरण माग गरेको बताए।

‘विद्यालयको नाममा भएको जग्गाको धनीपुर्जा आनि ऐलानी भए सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सिफारिस पत्रसहित मागेको छौं,’ उनले भने, ‘विद्यालयको जग्गा धेरै ठाँउमा अतिक्रमणमा पर्‍यो भन्ने गुनासो आइरहेको वेला विद्यालयको जग्गा कस्तो अवस्थामा छ भन्ने थाहा पाइन्छ।’ धितालले उदयपुरका आठवटै स्थानीय तहमा रहेका सरकारी विद्यालयको जग्गाको विवरण आउँदा फागुन १० गते भित्र इकाइको कार्यालयमा आउने गरी परिपत्र गरेको पनि बताए।

‘मैले सुनेअनुसार उदयपुरका पहाडी क्षेत्रका विद्यालयको नाममा भित्री मधेस क्षेत्रमा धेरै जग्गा जमिन समेत छ’, उनले भने,‘कतिपय विद्यालयले जग्गा भाडामा लगाएर विद्यालय सञ्चालन समेत गरेको छ।’ जानकारहरूका अनुसार २०२८, २०३२ सालमा नापी हुँदा तत्कालीन प्रधानपञ्चहरूले विद्यालयका नाममा दर्ता गरी राखेको जग्गा जमिन अहिले अतिक्रमणको चपेटमा परेका छन्। कतै बजार बसेको छ भने कतै सर्वसाधारणले कब्जा जमाउँदै गएका छन्। 

शिक्षा विकास समन्वय इकाइमा कुन विद्यालयको कति जग्गा कुन ठाउँमा छ, कसरी भोगचलन भइरहेको भन्ने बारेमा तथ्यसहितको अभिलेख छैन। त्यही अभिलेख तयार बनाउने सर्वजानिक जग्गामा पर्ने विद्यालयको जग्गा संरक्षणको लागि विद्यालयबाट जग्गाको विवरण मागिएको इकाई कार्यालयको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.