|

जाजरकोट : कोदो र फापरको खेती गर्न किसानले छोडेपछि नलगाड नगरपालिकाद्बारा बीउ वितरण गर्न लागिएको छ। कोदो र फापर उत्पादन हुने क्षेत्रका किसानलाई लक्षित गरी बीउ वितरण गर्न लागिएको हो।

सवै भन्दा बढी मकै उत्पादन हुँने नलगाड नगरपालिकामा नयाँ पुस्ताले कोदो र फापर लगाउँन छाडेको नगरप्रमुख टेकबहादुर रावलले बताए। उनले भने,'हामीले अर्गानिक खाना उत्पादनलाइ जोड दिनका लागि कोदो, फापर उत्पादनमा जोड दिएका छौं। गाउँमा बीउ नै नपाइने भएपछि किसानले यी बाली लगाउन छाडेका छन्। स्थानीयहरू बिस्तारै बजार क्षेत्रमा बसाइ सरेर गाउँ रित्ता हुन थालेपछि अहिले अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको छ।

बजारमा बसेर आयातित खाद्यान्न प्रयोग गर्दा स्थानीय उत्पादन गर्ने स्थानीयबासीको बानी हराएको नगरप्रमुख रावलले बताए। रावलले थपे 'नगरपालिकाले किसानमैत्री योजना ल्याएर स्थानीय अर्गानिक उत्पादनलाई जोड दिइ पौष्टिक खाना प्रयोग गर्न किसान प्रोत्साहित गर्न लागको छौं' लसुनको बिशेष क्षेत्र घोषणा गरी राम्रो उत्पादन गरेको नलगाड नगरपालिकाले मह उत्पादनमा समेत अहिले सफलता हासिल गरेको छ। त्यस्तै प्याज उत्पादनका लागि नगरपालिकाका उत्पादन क्षेत्र छनोट गरी यही आर्थिक वर्षमा कार्यान्वयन गर्न लागिएको छ।

स्थानीय उत्पादन बृद्धि गर्न र आयतित वस्तुको प्रयोग कम गर्न यहाँका किसानलाई नगरपालिकाले कृषिमा लगानी बढाउनुका साथै अनुगमनलाई तीब्रता दिएको छ।
किसानको जीवनस्तर सुधार नभएर सम्म नगरको आर्थिक समृद्धि नहुँने भन्दै पहिलो स्थानीय उत्पादन नै मुल कुरा भएको नगरपालिकाका प्रवक्ता राममाया हमाल शाहीले बताए। अहिले नलगाड नगरपालिकाको रोली, रग्दामा उत्पादन गरिएको लसुन, जिल्लाका अन्य ठाउँमा लिएर बीउको रुपमा बिक्री, वितरण भइरहेको छ।

जग्गा बाँझो राख्ने र उत्पादन नगरी बिकामे बनाउने किसानलाई नगरपालिकाले कुनै पनि सहयोग नगर्ने बताएको छ। सुन्तलाको जोन बनाएर नगरपालिकाको डाडागाउँ र लहँमा उत्पादन गरिएका सुन्तला पाँचकाटियामा जम्म गरी व्यापारीकरणको काम सुरु भएको छ। उत्पादनलाइ बृद्धि गर्न कृषि प्राविधिकलाई सक्रिय बनाइ किसानको खेतबारी अनुगमण कार्यको तीब्रता दिइएको छ। उत्पादन वृद्धि गर्नका लागि वर्षेनी उन्नत खालका बीउको प्रयोगका साथै माटो परीक्षणको काम भएको नगरपालिका कृषि शाखाका महेशकुमार बिष्टले जानकारी दिए।

माटो सुहाउँदो उत्पादनमा जोड दिनका लागि किसानको खेतबारीमा गइ माटो परीक्षण थालिएको बिष्टको भनाइ छ। पौष्टिक यूक्त खानाले नै हाम्रा दैनिक क्रियाकलाप नतिजामुखी हुने र बिभिन्न खालका रोग नलाग्ने उनको भनाइ छ। नलगाड नगरपालिकालाई उत्पादनको भण्डार बनाइ अन्य ठाउँमा खाद्यान्न निर्यात गरिने योजनाका साथ काम थालिएको निर्मित प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। 

नगरपालिकाभित्र बाहिरबाट आयातित फूल प्रतिवन्ध लगाइ स्थानीय रुपमा उत्पादन गरेर मात्र प्रयोग गर्नका लागि प्रोत्साहित गरिएको छ। पर्याप्त सिँचाइ सुविधा दिन र रोगबाट बचाउन किसानका उत्पादनमा कृषि प्राविधिक जतिखेर पनि पुग्ने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.