|

बैतडी : विगत तीन महीनादेखि नर्स नहुँदा बैतडी जिल्लामा प्रसूति सेवा प्रभावित  हुँदै आएको छ। चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल गएको कात्तिक महिनादेखि नर्सविहीन छ।

अस्पतालमा हाल एक जना पनि स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिए। जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्स तालीम प्राप्त हुन्छन्।

तर अस्पतालमा एक जना पनि नर्स छैनन्। उने भने 'गर्भवतीको ‘अल्ट्रासाउण्ड’ सेवा पनि म नभएको बेला ठप्प हुन्छ, अल्ट्रासाउण्ड गर्ने तालीम प्राप्त नर्सको सरुवा भएपछि सेवा दिनै गाह्रो भएको छ।'  जिल्ला अस्पतालमा जटिलत प्रसूति सेवा पनि उपलब्ध छ अर्थात शल्यक्रिया गरेर बच्चा जन्माउने महिलाहरुको लागि सेवा उपलब्ध छ। तर नर्सको अभावमा सो सेवासमेत प्रभावित हुने गरेको डाक्टर विष्टले बताए।उनले भने 'शल्यक्रियाका लागि डाक्टरको सहयोगीका रुपमा स्टाफ नर्सहरुले काम गर्नुहुन्छ. हामी टीम मिलेर शल्यक्रिया गर्ने हो,तर स्टाफ नर्स नै नहुँदा अनमी र म मिलेर शल्यक्रिया गरिरहेका छौँ।'

डा विष्टका अनुसारअस्पतालमा नभएको बेला गर्भको अल्ट्रासाउण्ड गर्न पुग्नेहरु रित्तो हात फर्किने गरेका। अल्ट्रासाउण्ड गर्ने तालीम प्राप्त नर्सहरुको सरुवा भएपछि अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको हो। उनले भने 'डाक्टरहरुको पनि तीन जनाको दरबन्दी हो। तर म एक्लै छु । काम विशेषले बाहिर जाँदा अल्ट्रासाउण्ड सेवा र शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सेवा पूर्णरुपमा अवरुद्ध हुने गरेको छ । यसले स्थानीयहरुलाई असहज भएको छ।'

जिल्ला अस्पताल बैतडीमा जटिल प्रसूति सेवा लिन बैतडीका मात्रै नभएर छिमेकी जिल्ला दार्चुलाका विभिन्न स्थानका सेवाग्राही पनि आउने गरेका छन्। जिल्ला अस्पतालमा मात्रै नभएर प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा स्टाफ नर्सको दरबन्दी खाली छ। एक एकजना स्टाफ नर्स भएका दुवै स्वास्थ्य केन्द्रमा स्टाफ नर्स नभएको डा विष्टले बताए।

 स्टाफ नर्स नहुँदा उपचार सेवा र परामर्श सेवा प्रभावित भएको समेत उनको भनाइ छ। उनले भने 'हामीले विभागलाई स्टाफ नर्स नभएको बारेमा जानकारी गराइसकेका छौँ । तर पदपूर्ति कहिले हुने हो ? केही थाहा छैन।' कर्मचारी समायोजनपश्चात स्टाफ नर्स आउनसक्ने अस्पताललले जनाएको छ। जिल्ला अस्पतालमा डाक्टर र नर्सको अभाव हुँदा बैतडीबासीले उपचारका लागि डडेल्धुरा,धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ।

दोगडाकेदार–३ श्रीकोटका रामले भने 'स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारीको अभाव छ । सानोतिनो बिरामीका लागि पनि भारतीय शहर जानुको विकल्प छैन, स्थानीयस्तरमा भएका अस्पतालहरुको स्तरोन्नती गरी दरबन्दीअनुसार डाक्टर र नर्सको पूर्ति गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ, नत्र हामीले उपचारका लागि हजारौँ रुपैँया भारतमा तिर्नुपरिरहेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.