|

सल्यान : जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका ७ काँरागाउँ बस्तीका बासिन्दा वर्षौंदेखि खानेपानीको पीडा खेप्दै आइरहेका छन्। गाउँनजिकै खानेपानीको मुहान नभएको र भएका मुहान पनि हिउँद लागेसँगै सक्न थालेपछि काराँगाउँ र जुगेपानीका १२० घरपरिवारले वर्षौंदेखि एउटै धाराको पानी प्रयोग गर्दै आइरहेका छन्।

एउटै धारामा गाउँले निर्भर हुनु पर्ने भएपछि बिहानदेखि रातीसम्म धारामा पानी थाप्नकै लागि मेला जस्तै लाग्ने गरेको स्थानीयको भनाई छ। एक गाग्री पानी लिन दुई घण्टा लगाएर जुगेपानी भन्ने ठाउँमा जानु पर्छ स्थानीय प्रकाश खड्काले भने। उनले भने वर्षामा आधा घण्टाको दुरीमा रहेको धनाकाँटामा रहेको कुवामा पानी ल्याउने गर्छौं भने हिउँद लागेसँगै कुवा सुकिहाल्छन्। 

१२० घरभन्दा बढी परिवारको एउटै धारा भएकाले दिनमा दुई गाग्री मात्र ल्याउन पाइने अर्का स्थानीय कलसिहं खत्रीले बताए। उनले भने, 'घरमा एक अम्खोरा खानेपानी पाहुनाले खान माग्दा समेत दिन गाह्रो हुन्छ। अन्य स्थानबाट पानीले ल्याउने ठाउँ नभएका कारण झनै समस्या भएको छ।' खानेपानी समस्या काँरागाउँको मात्र नभई सिंगो सात नम्बर वडाकै भएको वडा अध्यक्ष भोपाल केसीले बताए। वडामा रहेका ५ घरपरिवार खानेपानीको चरम समस्याबाट गुज्रिरहेको उनको भनाई छ। उनले भने यस वडामा ५०० घरधुरी छन् ती सवै घरधुरीले खानेपानीको समस्या झेल्दै आइरहेका छन्।

फागुन लागेसँगै दुई तीनघण्टा लगाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ। पानीको समस्याका कारण आफैँ रातिको दुई बजे कुवामा पानी भर्न जाने गरेको वडा अध्यक्ष केसीले बताए। संघ र प्रदेशमा खानेपानी योजनाका लागि पहल गरी दिन आग्रह गरेको उनले बताए। कारागाउँको खानेपानी समस्याका लागि सर्वे भइरहेको अध्यक्ष केसीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.