|

जाजरकोट : यहाँका ग्रामीण क्षेत्रमा समेत सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेपछि प्रयोगदर पनि बढेको छ। सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा समेत ढिके नुनको प्रयोग घट्दै गएको हाे। केही वर्ष अघिसम्म स्थानीयलाई पाँच किलो नुनका लागि हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता थियो।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गाउँमा पनि डिपो र गोदामको व्यवस्था गरेपछि उपभोक्तालाई सजिलो भएको हो। जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो ९ रुपैयाँमै आयोडिनयुक्त नुन वितरण गर्न थालेपछि जिल्लाका सात तहका स्थानीयलाई माग अनुसारको नुन प्राप्त गर्न सजिलो भएको छ। कर्पोरेशनले सदरमुकाम खलंगा, दल्ली, थलह र शिवालयमा गोदाम राखेर स्थानीयलाई नुन उपलब्ध गराइराखेकाे छ। पहिले जिल्लाकाे पश्चिम क्षेत्रका स्थानीयवासीले हिँडेरै सदरमुकाम आएर नुन बाध्य थिए।

नुन लिनका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको शिवालय गाउँपालिका ४ का रामप्रसाद शाहीले बताए। उनका अनुसार गाउँमा सहजै आयो नुन पाइन थालेको छ। पूर्वको दल्ली डिपोमा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र छिमेकी जिल्ला रुकुम पश्चिमका स्थानीयवासीकाे नुन लिन भीड लाग्ने गरेको छ। पहिले पहिले हप्तामा दुईदिन मात्र वितरण हुने आयो नुन अहिले दैनिक वितरण हुँदा झन सहज भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख भरत श्रेष्ठले बताए। आवश्यकताअनुसार उपभोक्तालाई नुन दिने गरिएको उनको भनाइ छ। उनका अनुसार अहिले अघिल्लाे वर्षको भन्दा यो वर्षको दोस्रो चौमासिकमै  नुन बिक्री दर बढेको छ। गाउँ गाउँमा डिपोहरू विस्तारका कारण आयोडिनयुक्त नुन बिक्री ह्वतै बढेको हो।

पहिलो नुन लिनका लागि ग्रामीण क्षेत्रबाट आएका स्थानीयले सिफारिसको भरमा नुन पाउने गरेका थिए। तर अहिले सिफारिस, कुपन र भनसुन प्रवृत्तिको अन्त्य भएपछि नुन सहज रुपमा पाउँन थालिएको बारेकोट गाउँपालिका ५ का जनकबहादुर शाहीले बताए। उनका अनुसार केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा समेत पर्याप्त नुन आपूर्ति नहुँदा सीमित नुनमात्र वितरण गर्ने गरिएको थियो। 

अघिल्लो वर्ष दुईहजार ३१० क्विन्टल खलंगा डिपोमा नुन बिक्री भएको थियो भने अहिले माग बढेपछि दुईहजार ८०३ क्विन्टल कोठा निर्धारण गरिएको छ। दल्ली डिपोमा अघिल्लो वर्ष एकहजार ३८५ क्विन्टल कोठा निर्धारण गरिएकोमा अहिले बढाएर चार हजार ३८ क्विन्टल निर्धारिण गरिएको छ। त्यस्तै पश्चिमको थलह डिपोमा अघिल्लो वर्ष १४५ क्विन्टल बिक्री भएकोमा यो वर्ष एकहजार १२९ क्विन्टल निर्धारण गरिएको छ। त्यस्तै शिवालय डिपोमा ३०९ क्विन्टल अघिल्लो वर्ष बिक्री भएकोमा यो वर्ष ३७१ क्विन्टल निर्धारण भएको छ।

दोस्रो चौमासिकमै भारी मात्रामा आयोडिनयुक्त नुन बिक्री भइसकेको प्रमुख श्रेष्ठले जानकारी दिए। कार्यालयका अनुसार गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि ढिके नुनको प्रयोग घट्दै गएको छ। आयोडिन नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै गएको स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ। जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढिके नुनको आयात रोकिँदै गएको छ। गाउँमै ९ मा आयोडिनयुक्त नुनको प्याकेट पाइने भएपछि महँगो रहक हालेर ढिके नुन प्रयोग घटेको छ। आयो नुनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक जनचेतना फैलाउन खोजे प्रयोग दर अझ बढ्ने प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

जनताको सुविधाका लागि महिनैपिच्छे विवरण संकलन गरेर परेको समस्य फुकाउने काम भएको प्रजिअ बस्नेतले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.