कहिले खानेपानीको खाल्डो त कहिले ढल : दृष्टिविहीन

|

काठमाडौं :  माइतीघरदेखि बिजुलीबजारको क्षेत्रमा दृष्टिविहीनहरूका लागि बनाइएको 'ट्रेल'लाई बेवास्ता गर्दै विभिन्न सवारीसाधनहरू पार्किङको रूपमा प्रयोग गरिँदै आएको छ। दृष्टिविहीनहरूको लागि बनाइएको बाटोमा यसरी पार्किङ गरिरहँदा महानगरले कुनै चासो दिइरहेको छैन।

दृष्टिविहीनका लागि यात्रा सहज होस् भनेर बनाइएको यो मार्ग काठमाडौं महानगरपालिकाको मातहतमा नेपाल सरकारको ३२ प्रतिशत र एसियाली विकास बैंकको  ६८ प्रतिशत सहयोगमा निर्माण गरिएको हो। यो योजना सन् २०१४ देखी १६ सम्म चलेको थियो। राजदरबार, कमलादी, सिंहदरबार, भद्रकाली, त्रिपुरेश्वर, राष्ट्रिय सभागृह, सिभिल महल, माइतीघर, बानेश्वरमा दृष्टिविहीनहरूका बनाइएको मार्गको लम्बाइ अनुमानित १५ किलोमिटर रहेको छ।  यसका लागि करिब दश करोड रुपैयाँ लागत लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

दृष्‍टिविहीन हिँड्ने यो बाटोलाई 'ट्रेल' भनिने पनि उनले जानकारी दिए। अहिले महानगरले दृष्‍टिविहीनहरूलाई ट्राफिक लाइट बल्दा उनीहरूलाई संकेत होस् भनेर नयाँ कार्यक्रम आउँदै गरेको पनि उनले जानकारी दिए। दृष्‍टिविहीनहरूका लागि बनाए पनि यसको मर्मत हुन सकेको छैन। महानगरले काठमाडौंलाई अपांगमैत्री सहर बनाउन काम गरिरहेको भए पनि सहरको भिडभाड र अव्ययस्थित फुटपाथको व्यापारले असर पारेको उनले बताए। महानगरको कमीकमजोरीलाई पनि समाधान गर्न आफूहरू सक्दो गृहकार्यमा जुटेको उनी बताउँछन्।

जथाभावी पार्किङ,  फुटपाथ व्यापार गर्ने जोकोहीलाई कारबाही गर्न आफूहरू तयार रहेको पनि उनले सुनाए। उनी भन्छन्, 'हरेक दिन १० देखि १५ जनालाई कारबाही गरिरहेका छौँ।' पहिले फुटपाथबाट उठाएका सामानहरू केही जरिवाना तिरेपछि पुन: छोडिदिने गरे पनि अब सबै सामान जफत गर्ने निर्णय महानगरपालिकाले गरेको उनी बताउँछन्।

फुटपाथका व्यापारीलाई उठाएर लैजान सजिलो छ। मोटरसाइकल र ट्याक्सी,कार पार्किङ गर्नेलाई चाहिँ सजाय हुनुपर्छ कि पर्दैन त? भन्ने प्रश्‍नमा उनी भन्छन्, 'हामीले उनीहरूलाई समेत कारबाही गरिरहेका छौँ।'अब जथाभावी पार्किङ गर्ने कार्यलाई समाधान गर्न महानगर कडाइका साथ अगाडि बढिरहेको डंगोलको भनाइ छ। 

कहिले खानेपानीको खाल्डो त कहिले ढल : दृष्टिविहीन

अधिकांश दृष्टिविहिनहरूले ट्रेलको प्रयोग गर्छन्।  जथाभावीको फुटपाथ व्यवसाय र पार्किङले गर्दा उनीहरूलाई हिँड्न समस्या भइरहेको छ।  महानगरपालिकाले ट्रेल आफ्नो लागि बनाइएको भनेर हिँडे पनि मोटरसाइकल, ट्याक्सी पार्किङले आफूहरूलाई असहज महसुस भइरहेको नेपाल नेत्रहीन संघ काठमाडौंका अध्यक्ष भोजराज पाण्डे बताउँछन्। ट्रेलको मर्मत नहुँदा दृष्टिविहीन साथीहरू लडेर घाइते भएका घटनाहरू पनि रहेको उनले जानकारी दिए। उनी भन्छन्, 'महानगरले बनाएको यो बाटोमा कहिले खानेपानीका लागि खाल्डो खन्ने, कहिले ढलको लागि खाल्डो खनिदिने कामले गर्दा आफूहरूलाई ट्रेलमा हिँड्न सजिलो छैन।'

फोटो

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.