|

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्रीले सपथ ग्रहण गरेको एक वर्ष भएको अवसरमा ‘वार रुम’ उद्घाटन गर्ने भएका छन्। दोस्रो विश्व युद्धताका निर्माण भएको बेलायती प्रधानमन्त्री विन्स्टिन चर्चीलको ‘वार रुम’ अहिले पनि उत्तिकै चर्चामा छ। सोही शैलीमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि वार रुम निर्माणको तयारी पूरा गरेको हो।

मुख्मन्त्री पृथ्वी सुब्बा गुरुङले सपथ ग्रहण गरेको आगामी फागुन ४ गते एक वर्ष हुँदैछ। सोही अवसरमा ‘वार रुम’ सुरु गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए। ‘नीति तथा कार्यक्रमअनुसार नै वार रुम बनेको हो,’ उनले भने, ‘मुख्यमन्त्री ज्यूले सपथ खाएको दिनलाई हाम्रो सरकारले प्रदेश सरकारको एक वर्षको रूपमा मनाउने भएको छ। यहि अवसरमा वार रुमको पनि सुरुवात हुन्छ। वार रुममा विभिन्न प्रविधिको प्रयोग गरेर गण्डकी प्रदेशको ११ वटै जिल्लाको अनुगमन गर्ने सुविधा तयार हुन्छ।’ विन्स्टन चर्चीलले बनाएको जस्तै ‘वार रुम’ बन्ने गण्डकी प्रदेश सरकारले जनाएको छ ।

‘वार रुमबाट पहिले युद्ध कसरी लड्ने, कहाँ सेना खटाउने तयारी र अनुगमनको काम हुन्थ्यो,’ उनले भने ‘अब प्रदेशमा भइरहेको विकास निर्माणका स्थिति, भूकम्पपीडित, बाढी पहिरोपीडितको अवस्थालगायत विकास निर्माण र शान्ति सुरक्षाको अनुगमन हुन्छ।' विकास निर्माणको काम लथालिंग भएपछि मुख्यमन्त्रीले चिन्ता ब्यक्त गर्दै यसको कल्पना गरेको उनले बताए।

उक्त वार रुम निर्माण पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो कार्यालयबाटै प्रादेशिक तथा राष्ट्रिय गौरवको आयोजनाहरूको अनुगमन गर्न सक्नेछन्। मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले प्रदेशबाट सञ्चालन हुने ठूला आयोजनाहरूलाई अनुगमन गर्न, निर्देशन दिनका लागि वार रुमको परिकल्पना गरिएको बताए।

‘पहिले वार रुमबाट युद्धलाई कमाण्ड गर्न गरिन्थ्यो,’ उनले भने ‘अब प्रदेश अन्तर्गत सञ्चालन हुने प्रोजेक्टहरु एउटै सफ्टवेयरबाट अनुगमन गर्न यसको स्थापना गर्न लागिएको हो। अनुगमन प्रभावकारी नभएकै कारणले विकास निर्माणको काम लथालिंग भएको गुनासो आएपछि अनुगमनको पाटोलाई बलियो बनाउन यसो गरिएको हो।’

आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले सरकारले वर्षभरी गरेको कामको समीक्षा र प्रगति विवरण प्रकाशित गरी सबैलाई जानकारी दिने पनि बताए। त्यस्तै उनले वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने बताए। सरकार स्थापना भएको एक वर्षको अवधीमा गण्डकी प्रदेशमा रहेर उत्कृष्ठ काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको बताए। पुरस्कृत गर्ने कर्मचारी छनोटको लागि छनोट समिति समेत बनाइएको छ।

आन्तरिक पर्यटन वर्षको घोषणा

नेपाल भ्रमण वर्ष सफल बनाउन गण्डकी सरकारले आन्तरिक भ्रमण वर्ष पनि घोषणा गर्न लागेको छ। आगामी फागुन ९ र १० गते नेपाल पत्रकार महासंघले पोखरामा आयोजना गर्न लागेको साधारण सभा तथा विधान अधिवेशनकै अवसरमा आन्तरिक भ्रमण वर्ष घोषणा गरिने मन्त्री गुरुङले जानकारी दिए।

त्यस्तै, उनले यस वर्ष नीति निर्माणको वर्ष भएको बताउँदै आवश्यक संरचनाहरू पनि खडा गरिएको बताए। विभिन्न प्रोजेक्टको डिपिआरहरू पनि तयार भइरहेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.