|

काठमाडौं : नेपालमा पहिलोपटक महिलाको क्रिकेट लिग आयोजना हुने भएको  छ।

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आज पत्रकार सम्मेलन गर्दै पहिलो पटक नेपालमा महिलाको क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ।

प्रतियोगिता आगामी चैत २२ देखि ३० गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए। प्रतियोगितामा पाँच शहरका पाँच टोलीको सहभागिता रहनेछ। ‘पहिलो सिजन पाँच शहरका पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्, यसमा पुरुषकै जस्तो महिला खेलाडीका लागि पनि व्यावसायिक बनाउने प्रयास रहने छ’, लामाले भने।

प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेको केही समयपछि जानकारी दिने उनको भनाइ थियो। प्रतियोगितामा विदेशी खेलाडी नहुने र खेलाडी छनोट लिलाम बढाबढ (अक्सन)बाट गर्ने वा नगर्ने भन्ने जानकारीसमेत केही दिनमै सार्वजनिक गर्ने तयारी छ।

कार्यक्रममा राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताले महिला टोलीमा राम्रो सन्देश प्रवाह हुने बताए।

राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीले ठूलो फड्को मार्न सक्ने बताए।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले महिलाका लागि यो ठूलो अवसर भएको बताए। महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि उत्साहित भएको प्रतिक्रिया दिइन।

प्रतियोगिताको शहर, टोली र खेल तालिकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिने लामाको भनाइ छ। यसअघि क्विन्स इभेन्ट म्यानेजमेन्टलले पोखरा प्रिमियर लिग (पिपिएल) सफलतापूर्वक आयोजना गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.