|

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २८ वाणिज्य बैंकहरूले १४ अर्ब ६३ करोड नाफा कमाएकोमा दोस्रो तीन महिनामा थप १६ अर्ब ५ करोड नाफा बढाएका छन्। बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको अपरिस्कृत तथ्यांकअनुसार छ महिनाको अवधिमा ३० अर्ब ६८ करोड नाफा कमाएका छन्।

पहिलो तीन महिनाको तुलनामा दोस्रो तीन महिनामा १३ बैंकले नाफाको वृद्धिदर घटाएका छन् भने १५ बैंकले नाफाकोदर बढाएका छन्। समग्रमा पहिलो तीन महिनाको तुलनामा दोस्रोमा एक अर्ब ४२ करोड नाफा वृद्धिदर देखिएको छ।

पहिलो तीन महिनाको तुलनामा नेपाल बैंकले एक अर्ब छ करोड नाफा कमाएको छ। पहिलो तीन महिनामा ३० करोड मात्रै नाफा कमाएको यो बैंकले छ महिनाको अवधिमा एक अर्ब ३६ करोड नाफा बढाएको देखिएको छ।

राष्ट्र वाणिज्य बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंकले पहिलो तीन महिनामा कमाएको नाफामा पूरा गरेर १६/१६ करोड बढाएका छन्।

त्यस्तै, उल्लेख्य नाफा घटाउनेमा एनसिसी, प्रभु, नेपाल इन्भेष्टमेन्ट र इस्टान्डर चार्टर बैंक रहेका छन्। पहिलो तीन महिनाको तुलनामा दोस्रो तीन महिनामा सोही बराबरको नाफा गर्न सकेका छैनन्। यी बैंकले क्रमशः १८ करोड, १४ करोड, १३ करोड र १२ करोड नाफा घटाएका छन्। 

बैंकको नाफा घाटा ग्राफमा

बैंकहरूले तरलता अभावको कारण लगानी गर्न नसकेको र सिसिडी रेसियोसमेत फुकुवा गर्नको लागि राष्ट्र बैंकका अनुनय गरे पनि नाफा वृद्धि भने उल्लेख्य बढाएको तथ्यांकले देखाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ऋणको व्याजदर वृद्धि गरेर बैंकको नाफा अस्वभाविक वृद्धि भएको भन्दै नियन्त्रणको लागि आग्रह गरेका छन्। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी भने नाफा वृद्धि स्वभाविक भएको बताए। 'सबै स्थानीय तहमा बैंक शाखा पुगेका छन्। संचालन खर्च बढेको छ, पछि अवस्था कस्तो हुने हो भनेर पनि बैंकहरू नाफामा बढी लागेको देखिन्छ', पंगेनीले भने।

उनले गत वर्षभन्दा अहिले दुई प्रतिशत मात्रै बढी तरलता भएको अवस्थाले देशको अहिलेको मागलाई पूर्ति गर्न नसक्ने भन्दै सरकारको ढुकुटी रहेको पैसा खर्च गर्न बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानको विकल्प रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.