|

कंचनपुर : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाललाई भ्रष्टाचारबाट खतरा भएको बताएका छन।

बिहीबार कंचनपुरको वेदकोट नगरपालिकामा आयोजित धार्मिक पर्यटन मेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालाई कतैबाट खतरा छ भने त्यो भ्रष्ट्राचारबाट मात्रै रहेको बताएका हुन्।

उपराष्ट्रपति पुनले सरकार जबसम्म भ्रष्ट्राचार न्यूनिकरण गर्नतर्फ लाग्दैन तबसम्म देशको समृद्धि र विकास संभव नभएको बताए।

उनले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्ने सरकारको योजना स्वागतयोग्य रहेको बताएका छन। स्वरोजगार कार्यक्रमले युवा श्रमशक्ति स्वदेशमै खपत हुने भएपछि देशको समृद्धि र विकासमा टेवा पुग्ने उनले बताए। ‘स्वरोजगार हुन नसकेका युवाहरूलाई सरकारले बेरोजगारी भत्ता दिनेसमेत भएकाले अब बेरोजगार कोही हुँदैन’ उनले भने। 

सुदूरपश्चिम क्षेत्रको विकासका र समृद्धिका लागि सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिदै उपराष्ट्रपति पुनले यहाँका प्राकृतिक साधन श्रोतको उपयोग सँगै  पर्यटकीय, धार्मीक, सांस्कृतिक र उद्योगलाई अगाडि बढाउन सकेमात्रै यस क्षेत्रले फड्को मार्न सक्ने बताए।

प्रदेश सरकार र स्थानीय तहले विकास र समृद्धिको नारा दिएर विकास निर्माणका कार्य अगाडि बढाएकाले यसमा सबैको सहयोग र समन्वय हुनुपर्ने उनले बताए। महाकाली नदीमा पक्कि पुल र सुख्खा बन्दरगाह निर्माण भएपछि यस क्षेत्रको विकासमा नयाँ आयाम थपिने उनको भनाई थियो।

सुदूरपश्चिम खेलकुदको उर्वर भूमि रहेको चर्चा गर्दै उनले विश्वकै कान्छा क्रिकेट खेलाडी सन्दीप जोराले विश्वको क्रिकेट क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल भएकोमा उपराष्ट्रपतिले खुसी व्यक्त गरे।

धार्मिक पर्यटन मेलाका अवसरमा आयोजक वेदकोट नगरपालीकाका नगर प्रमुख असोक चन्दले उपराष्ट्रपति पुनलाई कार्यक्रममा सम्मानपत्रसहित सम्मान गरे। यसैबीच उपराष्ट्रपति पुनले वेदकोट धार्मिक क्षेत्रमा निर्माण गरिएको भ्यू टावरको समेत उद्घाटन गरेका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.