|
आक्रमणमा परेको सुरक्षाकर्मी चढेको बस

भारत प्रशासित जम्मू कश्मीरको पुलवामा जिल्लाको लेथपोरामा भएको भारतीय सुरक्षाकर्मीमाथिको हमलामा मृतकको संख्या ४० नाघेको छ। बिहीबार कारमा विस्फोटक पदार्थ भरेर सुरक्षाकर्मी चढेको बसमा ठोक्काएर हमला भएको बताइएको छ। 

भारतीय संचारमाध्यमहरूका अनुसार उक्त हमलामा मृतक सुरक्षाकर्मीको संख्या ४० नाघेको छ। आक्रमणको जिम्मेवारी प्रतिबन्धित चरमपन्थी समूह जैश-ए-मोहम्मदले लिएको छ। सिआरपीएफको  जवानहरूलाई लक्षित गरेर आत्मघाती हमला गरिएको हो। घटनामा ४० भन्दा बढी सैनिक जवान घाइते भएका छन्। 

श्रीनगर-जम्मू राजमार्गमा ठूलो संख्यामा सिआरपीएफ सुरक्षाकर्मी एक ठाउँबाट अर्को ठाउँमा गइरहेको बेला आक्रमण गरिएको हो। 

घाइते सुरक्षाकर्मीलाई श्रीनगरको सैन्य अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

सिआरपीएफका आईजी ज़ुल्फिकार हसनले आक्रमणबारे भनेका छन्, ‘यो सैन्य समूहमा ७० गाडी थिए। जसमा एक गाडीमाथि हमला भयो। यो सुरक्षाकर्मीको समूह जम्मूबाट श्रीनगर गइरहेको थियो।'

यो हमलाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा शब्दमा निन्दा गरेका छन्। त्यसै गरी भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि घटनाको निन्दा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.