|

इलाम : साठी लाख रुपैयाँ खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ। 

विसं २०६४ बाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा योजना छाडेको पाइएको छ। फण्डबोर्ड मार्फत राजधानीको छिमेक सेवा संस्थाले निर्माण सुरू गरेको आयोजनामा उपभोक्ताबाट घरलौरी एक हजार २०० र गाविसको ५० हजार सहयोग लिइएको थियो। तर योजनामा कम गुणस्तरका सामान प्रयोग गरी पानी सञ्चालन नगरी छिमेक सेवा संस्थाका प्रतिनिधि गायब भएका छन्। 

खानेपानीको लागि घरबाट महिना दिनसम्म श्रम दिएको स्थानीयबासिन्दाले बताए। पाइपलाइन विस्तार भएपछि पनि प्राविधिक त्रुटिका कारण पानी सञ्चालन नभएपछि बनाइएका संरचना अलपत्र अवस्थामा छाडेर प्राविधिक भागेका हुन्।

आयोजना निर्माण समितिका अध्यक्ष फूर्वा घिसिङले आयोजना लथालिङ बनेपछि उपभोक्ताका घरघरमा पाइप र निर्माण सामग्री चोरी भएको जानकारी दिए। आयोजनाले ३४ वटा धारा निर्माण गर्नुपर्नेमा १४ वटा मात्र निर्माण गरेको र पानी जम्मा गर्ने तीनमध्ये दुई वटा ट्याङ्की निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा छन्। योजना अलपत्र परेपछि मुल सडक खन्दा डोजरले पाइपलाइन नै क्षतविक्षत बनाइदिएको र अन्य निर्माण सामग्री चोरी भएको सचिव कृष्ण तामाङले बताए।

करिब सात किलोमिटर टाढाको मुहानबाट खानेपानी नआएपछि समालबुङका २, ३ र ४ नं वडाका बासिन्दालाई खानेपानीको समस्या भएको छ। यहाँको शान्तिबजार, गैरीगाउँलगायत क्षेत्रमा सुक्खायाममा खानेपानीको अभाव हुने गरेको छ। आयोजनामा फलामको पाइप लगाउनुपर्ने स्थानमा प्लास्टिकको पाइप लगाइएको र सर्भे गलत स्थानबाट भएपछि आयोजना सञ्चालन हुन नसकेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.