|

गुल्मी : जिल्ला स्थानीय तहले चार करोड २६ लाख ३५ हजार ७६४ रुपैँयाका गाडी किनेका छन्। दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा मदाने र मालिका गाउँपालिकाबाहेक अरु सबैले नयाँ गाडी किनिसकेका छन्। गुल्मीमा दुई स्थानीय तहले गत आर्थिक वर्षमै सवारीसाधन खरिद गरे भने आठ स्थानीय तहले चालू आर्थिक वर्षमा सवारी खरिद गरेका हुन्। 

३८ देखि ५६ लाखसम्मका गाडी

सत्यवती गाउँपालिकाले चालू आर्थिक वर्षमा लु १ झ ४३९ नम्बरको डबल क्यापसहितको स्कर्पियो किन्यो। उक्त स्कर्पियो ४० लाख एक हजार १७२ मा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए। कालिगण्डगी गाउँपालिकाले  पनि यसै आर्थिक वर्षमा लु १ झ ४६२ नम्बरको नयाँ गाडी खरिद गर्‍यो।  गाडीको मूल्य ३७ लाख ९५ हजार तिरेको सूचना अधिकारी ओम थापाले जानकारी दिए।

चन्द्रकोट गाउँपालिकाले पनि ३९ लाख ४५ हजारमा लु १ झ ४६६ नम्बरको गाडी खरिद गरेको छ। गुल्मीदरबार गाउँपालिकाले पनि स्कर्पियो 'फुल बडी' खरिद गरेको छ। लु १ झ ४२५ नम्बरको स्कर्पियोलाई ५६ लाख परेको सूचना अधिकारी सुरेश खनालले बताए। गुल्मीदरबार गाउँपालिकाको गाडीको मूल्य गुल्मीका स्थानीय तहमध्येको सबैभन्दा बढी हो। छत्रकोट गाउँपालिकाले बा २ झ ४१३० नम्बरको गाडी ४३ लाख ५९ हजार ५९२ मा खरिद गरेको छ।

धुर्कोट गाउँपालिकाले पनि यस आर्थिक वर्ष नै नयाँ गाडी खरिद गरेको छ। उसले लु १ झ ४१३१ नम्बरको गाडी ५५ लाख ६५ हजारमा खरिद गरेको सुचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए। रुरु गाउँपालिकाले लु १ झ ४६१ नम्बरको नयाँ गाडी ५५ लाख ७५ हजारमा खरिद गर्‍यो। इश्मा गाउँपालिकाले गत आर्थिक वर्ष नै नयाँ गाडी खरिद गर्‍यो। उसले लु १ झ ४०२ नम्बरको गाडी ३७ लाख ९५ हजारमा खरिद गरेको सूचना अधिकारी नारायण महतले जानकारी दिए। मुसिकोट नगरपालिकाले पनि गत आर्थिक वर्षमा नै नयाँ गाडी खरिद गरेको छ। लु १ झ ४०१ नम्बरको नयाँ गाडी ५० लाखमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी  दिए।

रेसुङ्गा नगरपालिकाले निर्वाचनपछि नयाँ गाडी खरिद गरेको छैन। निर्वाचनभन्दा पहिले नै नगरपालिकामा बा १ झ ३१४ नम्बरको गाडी थियो। निर्वाचनपछि भू–संरक्षणको बा १ झ ४८८५ नम्बरको गाडी जिल्ला समन्वय समितिले दिएर नगरपालिकाले प्रयोग गरिरहेको सूचना अधिकारी शंकरप्रसाद गौतमले बताए। निर्वाचित भएपछि गाडी खरिद नगरे पनि दुई सवारी चालक भने नगरपालिकाले नियुक्त गरेको छ। मालिका गाउँपालिकाले भने गाडी खरिद प्रक्रियामा रहेको जनाएको छ। करिब दुई महिनामा नयाँ गाडी ल्याउने प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए। अहिले मालिका गाउँपालिकाले मासिक एक लाख तिरेर भाडाको गाडी प्रयोग गरिरहेको छ। 

जनप्रतिनिधिको सुविधा मोहले होडबाजी चलिरहेका बेला मदाने गाउँपालिकाको भने गाडी किन्ने सुरसार छैन। उसले आवश्यकतामा आधारित रहेर भाडाको गाडी प्रयोग गर्ने गरेको सूचना अधिकारी ऋषिराम पन्थीले जानकारी दिए। योजना अनुमगन लगायतका अत्यावश्यकका काममा मात्र भाडाको गाडी ल्याउने, तर अन्य समयमा मोटरसाइकलमा नै यात्रा गर्ने उनले बताए। ‘गाडी खरिद गरिएको छैन र खरिद प्रक्रियाबारे छलफल नै भएको छैन’, पन्थीले भने, ‘आवश्यकतामा आधारित ल्याउने गरेका छौँ।’ 

स्थानीय तहमा कुल १८५ मोटरसाइकल

गुल्मीका स्थानीय तहहसँग उल्लेख्य रुपमा मोटरसाइकल पनि रहेको पाइएको छ। गुल्मी जिल्लाका सबै स्थानीय तहमा कुल १८५ वटामोटरसाइकल छन्। जसमध्ये सत्यवती गाउँपालिकामा १६ वटा रहेका छन्। कालिगण्डकी गाउँपालिकाले भर्खरै मात्र छ वटा नयाँ मोटरसाइकल खरिद गरेको छ। योसँगै ऊसँग मोटरसाइकलको संख्या १३ पुगेको सूचना अधिकारी ओम थापाले बताए।

त्यस्तै चन्द्रकोट गाउँपालिकामा १४ वटा, मदाने र छत्रकोट गाउँपालिकामा १६\१६  मोटरसाइकल छन्। मुसिकोट नगरपालिकाले भर्खरै ६ वटा नयाँ मोटरसाईकल किनेको छ। यससँगै अब नगरपालिकासँग १६ मोटरसाइकल पुगेका छन्। रेसुंगा नगरपालिकाले भर्खरै १४ मोटरसाइकल किनेको छ। योसँगै ऊसँग २१ मोटरसाइकल भएका छन् भने एउटा बिग्रिएर प्रयोग गर्नै नमिल्ने भएको सूचना अधिकारी शंकरप्रसाद गौतमले बताए। धुर्कोट गाउँपालिकामा १९ वटा, रुरु गाउँपालिकामा आठ, इश्मा गाउँपालिकामा १५ वटा सरकारी मोटरसाइकल छन्। गुल्मीदरबार गाउँपालिकामा १९ वटा र मालिका गाउँपालिकामा १२ वटा मोटरसाइकल छन्। 

गाडी आवश्यकता हो : जिसस प्रमुख

स्थानीय तहमा योजना अनुगमन, जनप्रतिनिधिहरू जिल्ला, प्रदेश तथा केन्द्रस्तरका कार्यक्रममा सहभागी हुँदा सवारी आवश्यक परेको समन्वय समिति प्रमुख लक्षमण पराजुलीले दाबी गरे। उनले अहिले स्थानीय तहले खरिद गरेको सवारी स्थानीय तहको सम्पत्ति भएकोले अर्को निर्वाचनबाट आउने प्रतिनिधिका लागि पनि प्रयोग हुने बताए। तर जनताले तिरेको कर सही ठाउँमै प्रयोग भएको छ भन्ने कुराको भने प्रत्याभूति दिलाउनुपर्नेमा स्थानीय सरकार सजग बन्नुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.