विचार

गुन्द्री र पिरामा बसेर सरकार चलाएका छौँ
SHARES

फागुन ३, २०७५

    गत फागुन २ गतेका दिन म मुख्यमन्त्री पदमा नियुक्त भएको ठीक एक वर्ष पुगेको छ। फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट सपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको भोलि एक वर्ष पुग्दै छ।

    सिंहदरबारमा केन्द्रीत शासन व्यवस्था गाउँगाउँसम्म पुर्‍याउन संविधानले संघीय प्रणाली अवलम्बन गरेको छ। अहिले सिंहदरबारका अधिकार ७ वटा प्रदेश र स्थानीय तहसम्म पुगेको छ। संघीय प्रणालीको एउटा हिस्सा हो, प्रदेश सरकार। नेपालको इतिहासमा पहिलो पटक प्रदेश सरकारहरू बनेका छन्।

    हामी शून्य संरचनाबाट अगाडि बढिरहेका छौं। संघ बनिबनाउ संरचनासहित पुरानै विरासतमा छ। स्थानीय तह विगतमा स्थानीय निकायका रूपमा अस्तित्वमा थिए। जसको आधारमा स्थानीय तहहरू निर्माण भएका छन्। तर प्रदेशको हकमा भने फरक छ। विगतमा नभएको संरचनाका रूपमा शून्य अवस्थाबाट हामी अगाडि बढ्दैछौँ।

    हामीले आफ्नो पहिलो वर्षको कार्यकाललाई संघीयता कार्यान्वयन र त्यसका लागि आवश्यक कानून तर्जुमा गर्ने वर्षका रूपमा कार्यातालिका नै बनाएर काम गर्‍यौँ। हाम्रो यो पहिलो वर्ष कानुन निर्माण र आवधिक योजना निर्माणको वर्षको रूपमा रह्यो।

    सुरुका केही महिना हामीलाई संरचना, कर्मचारी र कार्यालयहरू व्यवस्थापनमा बित्यो। चाहिएअनुसार कर्मचारी नआएपछि हामीले गर्न खोजेका काम छिटो छरितो ढंगले अगाडि बढ्न सकेनन्। यद्यपि प्रदेशप्रति जनतालाई जोड्नका लागि हामी लागिरहेका छौँ। हामी विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रूपमा प्रदेशलाई स्थापित गर्दैछौँ।

    हामीले प्रदेशको संरचनालाई छोटै समयमा पूरा गर्न सकिन्छ भन्ने सोचेका थियौं तर संघीय सरकारका तर्फबाट व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसमा बिलम्ब भयो। छ महिनाजति राजनीतिक स्तरका संरचनामै भर पर्नुपर्ने थियो। अहिले आएर प्रशासनीक संरचना निर्माण हुने क्रममा छन्। धेरै प्रदेश कार्यालयहरू स्थापित भइसकेका छन्। यद्यपि जनशक्तिको अभाव खड्कँदो रूपमै छ।

    कार्यालय स्थापना भइसकेपछि एक हिसाबले कामको प्रक्रिया संस्थागत ढंगले अगाडि बढ्ने आधार तयार भएको छ। अर्को कुरा कानुनको आवश्यकता थियो। कानुन निर्माणको प्रक्रियामा हामीले दुईवटा अधिवेशनमा गरी २४ वटा ऐन पारित गर्‍यौ। निर्देशिका र कार्यविधिहरू दर्जनौं तयार गर्‍यौँ। तेस्रो अधिवेशनमा पनि दर्जनौ विधेयकहरू प्रदेशसभामा पेश भइरहेका छन्। त्यतिकै मात्रामा कार्यविधि लगायतका कानुनहरू पनि निर्माण भइरहेका छन्। तेस्रो अधिवेशन सकिँदा प्रदेशलाई आवश्यक धेरै कानुनहरू बनाइसक्छौँ।

    यतिबेला हाम्रो ध्यान आवधिक योजना निर्माणमा छ। हामीले सरोकारवालाहरूसँग छलफल गरेर आवधिक योजनाको आधारपत्र सार्वजनिक गरिसकेका छौँ। अब चाँडै आवधिक योजनापूर्ण रुपले तयार हुन्छ। यसो भयो भने प्रदेश व्यवस्थित कार्ययोजनाका साथ अघि बढ्छ।

    अब हामी के गर्ने भन्ने कुरा हामीले बनाउँदै गरेको आवधिक योजनाले प्रष्ट पार्छ। प्रदेशको स्थिति के छ र हामीले के गर्ने भन्ने विस्तृत रिपोर्ट तयार गर्दैछौँ। आवधिक योजनासँग जोडेर विस्तृत योजना बनाएर अघि बढ्छौँ।

    हो, बितेको एक वर्ष तपाईहरूले सोचेजस्तो र हामीले चाहेजसरी काम गर्न सकेनौँ। यसमाकेही प्राविधिक कुराहरू छन्। यो अवधिभित्र संघीयताको आधारभूत संरचना तयार गर्न हामीलाई समय लाग्यो। हामीसँगपर्याप्त जनशक्ति, र आवश्यक पूर्वाधार बनिसकेको छैन्। धेरै कुरा त हामी पहिलोचोटि गर्दैछौँ।

    हाम्रो प्रदेशको विकासको कुरा गर्दा नेपालको विकासका साझेदारहरू, निजि क्षेत्रका लगानीकर्ताहरूको महत्वपूर्ण सरोकारको क्षेत्रका रूपमा प्रदेश १ लाई स्थापित गर्ने कुरामा सफलता हासिल गरेका छौँ। लगानीकर्ताका हिसाबले पनि १ नम्बर प्रदेश अनुकूल हो भन्ने सन्देश दिने कुरामा सफल भएका छौँ। निजी क्षेत्र यो प्रदेशमा आउन तत्पर रहेको हामीले पाएका छौँ।

    कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य जोड दिएका छौं। कृषि क्षेत्रको विकासले नै अन्य क्षेत्रको विकासमा जोड पुर्याउँछ भन्ने मान्यताका आधारमा पहिलो प्राथमिकता कृषि क्षेत्रमा दिएका छौं।

    त्यसमा हामीले नीतिगत रूपमा कृषि क्षेत्रमा संलग्न हुन चाहनेहरूका लागि सुनिश्चित आधार तयार गरेका छौँ। व्यावसायिक खेतीका लागि भण्डारण क्षमताको आवश्यकता पर्छ। यसै वर्ष तीन वटा शीत भण्डार बन्दैछन्। यान्त्रिकीकरणका सन्दर्भमा अनुदानको व्यवस्था गरेका छौँ। सहकारीलाई कृषिसँग जोड्न, किसानका उत्पादनलाई बजारसम्म जोड्न योजना बनेका छन्।यी सबै कुराहरू कार्यान्वयनको चरणमा छन्। हाम्रो प्रदेशमा मिल्क होलिडेको ठूलो समस्या थियो। यसको तत्कालको समस्यालाई कम गर्न विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट स्तरोन्नती र सुदृढीकरणको लागि कामकाज अघि बढेको छ। साथै दिर्घकालिन रूपमा मिल्क होलि डे को समस्या हुन नदिन सहकारी र डेरी व्यवसायीहरूको संलग्नतामा एउटा पाउडर प्लान्ट स्थापना गर्दैछौ।हाम्रो प्रदेशलाई आत्मनिर्भर अर्थतन्त्र भएको प्रदेश बनाउन हामीले हरित अभियान घोषणा गरेका छौं।

    हाम्रो प्रदेशको भविष्यको समृद्धिको आधार पर्यटनसँग जोडिएको छ। हामीले एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कानको नारा सहित पर्यटन पूर्वाधारलाई जोड दिएका छौँ। हामीले गौरब गर्नुपर्छ संसारका अधिकांश अग्ला हिमाल हाम्रै प्रदेशमा पर्दछन्। यतिहुदाहुदै पनि हाम्रो प्रदेशबाट यी हिमालहरूको हवाई दृश्य गर्ने व्यवस्था थिएन। हामीले निजिक्षेत्रको समन्वयमा माउन्टेनफ्लाइटसंचालनमा ल्याएका छौं। यो शुरुवात मात्र हो, पर्याप्त होइन यसलाई हामी चाँडै व्यवस्थित र नियमित बनाउँदैछौ। जसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकियोस्।

    विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउनको निम्ति प्रदेश मन्त्रिपरिषदबाट निर्णय गराई संघीय सरकारमा सिफारिस गरिएको छ। प्रदेशभित्र रहेका सबै विमानस्थलहरूमा विराटनगर विमानस्थलबाट उडान सेवा शुरु गर्न पहल थालिएको छ। अहिले विराटनगर र भद्रपुर विमानस्थलमा रात्रिकालिन हवाई उडान समेत सञ्चालन हुन थालेको छ। निजि क्षेत्रको समन्वय र सहकार्यमा सप्तकोशी नदीमा जलयातायात सञ्चालन हुन थालेको छ। यसलाई हामी तुम्लिंटार र दोलालघाटसम्म विस्तार गर्नका लागि अध्ययन थालेका छौं। चियाको राजधानी इलामको सूर्योदय नगरपालिका, सबैभन्दा बढी पर्यटक भित्रिने सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका र धनकुटाको आकर्षक पर्यटकीय गन्तव्यस्थल भेडेटार नाम्जे क्षेत्र रहेको साँगुरी गाउँपालिकालाई पर्यटकिय नगर र गाउँपालिका घोषणा गरिएको छ।

    जनतालाई सुरक्षाको अनुभूति प्रदान गर्न तथा प्रहरीको मनोबल उच्च बनाउन जनतासँग प्रहरी कार्यक्रम अन्र्तगत फोन, इमेल, फ्याक्स, स्थान लगायतका आवश्यक सूचनासहितको स्टिकर बनाई प्रत्येक घर घरमा स्टिकर टास्ने काम हामीले गरेका छौं। करिब १० लाख घर धुरीमा यस्तो सूचनामुलक स्टिकर टासिएको छ। जसबाट प्रदेशबासीले सुरक्षाको अनुभूति गरेको खबरहरू छापा, टेलिभिजन, रेडियो, अनलाइन मिडियाहरूबाट पढ्न, हेर्न र सुन्न पाउँदा मलाई खुसी लागेको छ।

    सुरक्षित सीमा, सुरक्षित जीवन, खुल्ला सिमा र सुरक्षा चुनौतीलाई महसुस गर्दै बोर्डर आउट पोष्ट (वीओपी) हरूको योजनाबद्ध विकास गर्ने उदेश्यका साथ १३ वटा विओपी निर्माण कार्य अघि बढाईएको छ।

    उत्तरी सिमा क्षेत्र चिनसँगको व्यापारीक नाकाको रूपमा विकास गर्ने लक्ष्य राखिएको किमाथांका र ओलाङचुङगोलामा समेत विओपी स्थापनाको प्रक्रिया अघि बढाईएको छ।

    मुख्यमन्त्री अत्यावश्यक सेवाकेन्द्र स्थापना गरी एकिकृत शान्ति सुरक्षा, बिपद ब्यवस्थापन र स्वास्थ सेवा उपलब्ध गराउने उदेश्यले यस वर्ष तराई, भित्रीमधेश र पहाडका एक–एक गाउँपालिकामा एक प्रहरी भ्यान, एक एम्बुलेन्स र एक दमकल सहितको व्यवस्थापन गर्देछौं।

    प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता कक्षस्थापनाका लागि काम भएको छ। कारागार सुधारका कामहरू भएका छन्। प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ४९ नयाँ प्रहरी चौकी निर्माणको काम अगाडि बढेको छ।

    शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता विषयमा हामीले ध्यान दिएका छौँ। विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन म स्वयम् यो प्रदेशका अल्पसंख्यक तीन जना बालबालिकाको अभिभावकत्व लिदै यस अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरिएको छ। यो वर्ष खेलकुदका लागि १३७ वटै पालिकामा एकैसाथ खेलमैदानहरू निर्माण हुँदैछन्।

    यो वर्ष हामीले स्वास्थ्य प्रवर्द्धन वर्षको रूपमा २०७५ घोषणा गरी स्वास्थ्य सरसफाई र स्वास्थ्य जीवन कार्यक्रमका लागि प्रभावकारी सञ्चार सचेतना जगाउने काम गरेका छौं। यसका लागि सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सद्भावना दूतका रूपमा नियुक्त गरेका छौं। शिक्षा र स्वास्थ्यमा हाम्रो विशेष जोड रहेको छ।

    प्रदेशस्तरमा विद्यालयतहको सिकाइलाई प्रविधियुक्त बनाउन र साधनस्रोत व्यवस्थापन गर्न इक्वालिटी फाउण्डेशन नेपालसँगको साझेदारीमा कम्प्युटर प्रविधियुक्त सिकाइका माध्यमबाट किताब र झोला रहित शिक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ। ९५९ वटा सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याबहरू स्थापना हुँदैछन्।

    प्रदेश विश्वविद्यालय स्थापनाका लागि तयारी भइरहेको छ।मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता र मुख्यमन्त्री अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिता गर्न एन्फासँग सम्झौता भएको छ। हाम्रो प्रदेशमारहेका १४ वटै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने कार्य थालिएको छ। कोशी अञ्चल अस्पताललाई विशेषज्ञ चिकित्सकसहित शिक्षण अस्पलाल बनाउन पहल थालिएको छ।

    भ्रष्टचार नगर्ने र भ्रष्टचार गर्नेलाई नछोड्ने मेरो सरकारको निति छ। हामी पहिलोपटक नयाँ संरचनामा छौं। यो बेला हामीले नै हो थिति बसाउँने। त्यसैले प्रदेश सरकार आर्थिक मितव्ययी छ। हामी वित्तिय अनुशासनमा रहेर काम गरिरहेका छौं जसका लागि वित्तिय अनुशासन कायम गर्न सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धि हामीले निर्देशिका नै जारी गरेका छौं।

    हामीले पाँचथरको कुम्मायक, तुम्बेवा, तेह्थुमको छथर र धनकुटाको चौबीसकोट गाउँपालिकाका खडेरी प्रभावित कृषकहरूलाई राहत प्याकेज उपलब्ध गराएका छौं। यसका लागि विज्ञटोलीले अनुगमन गरी मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्रमा खडेरीका कारण उत्पन्न समस्याबारे राहत प्याकेज तय गरी वितरण गरेका छौं। यसरी सरकार आफ्ना नागरिकका समस्यमा मुकदर्शक बनेर होइन, जनताका सहयोगी र सारथी बनेर घरदैलोसम्म पुग्न खोजेको छ।

    दिगो विकास र समृद्धिको आधार पर्याप्त पूर्वाधार लाई मूल मन्त्र मानि भौतिक पूर्वाधारको विकासमा हाम्रो ध्यान केन्द्रित छ। प्रदेशको बृहत्तर विकास गर्नका लागि प्रदेश गुरुयोजना तयार हुँदैछ। गुरुयोजना अनुसारका पूर्वाधारहरू निर्माण हुनेछन्। प्रदेशभरीको सडकको पूर्ण तथ्यांक तयार गर्देछौं। संघ, प्रदेश र स्थानीय  तहमा रहने सडकहरूको वर्गीकरण गर्दे सबै स्थानीय तह छुने सडकको स्तरोन्नतिमा हामी लागि परेका छौं। एउटा निर्वाचन क्षेत्रमा कम्तिमा एउटा प्रदेश स्तरीय सडक र एउटा पक्कि पुल निर्माण गर्न थालिएको छ। हाम्रा सडकहरूमा सडक सुरक्षा र सुशासन कायम गर्न नयाँ कामको थालनी गरिएको छ। नेपालमै पहिलो पटक शुरु हुन लागेको यो कार्यक्रम हाम्रो प्रदेशका छ वटा जिल्लाहरूमा १०/१० किलोमिटर गरी ६० किलोमिटर सडकहरूमा प्रारम्भिक काम थालिएको छ।

    नेपालमै पहिलोपटक सुनसरी जिल्लाको कोशी गाउँपालिकाको भण्टाबारीमा अत्याधुनिक सुविधासम्पन्न रिफ्रेसमेन्ट सेन्टर परियोजना कार्यालय स्थापना गरेर कामको योजना अगाडि बढेको छ। 

    सडक, पुल, सिँचाइ, भवन, खानेपानी लगायतका योजनाहरूको विस्तृत सर्वेक्षण गरी डिपिआर तयार पार्ने काम गरिएको छ। यसरी डिपिआर तयार भइसकेपछि योजनाका कामहरू अब फटाफट अगाडि बढाउन सजिलो हुनेछ।

    प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा सडक तथा पक्की पुलका योजनाहरू एक/एक वटा राख्ने गरी बहुवर्षिय योजना छनौट गरी काम अगाडि बढेको छ। मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा लागू हुदैछ। यसले समानुपातिक विकासमा जोड दिन्छ भन्ने मलाई लाग्छ। यसरी समानुपातिक विकासलाई प्राथमिकता दिँदा फायल बोकेर माग्ने र धाउने युगको अन्त्य गर्न सकिन्छ भन्ने मेरो मान्यता रहदै आएको छ।

    संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना हो। प्रदेशहरू जति बलिया हुन्छन्, संघीयता त्यति नै प्रभावकारी भएको मानिन्छ। त्यस अर्थमा हाम्रो प्रयास प्रादेशिक संरचनाहरूलाई व्यवस्थित गर्नेमा केन्द्रित छ।

    (मुख्‍यमन्त्री राईले प्रदेश १ सरकारको एक वर्ष पूरा भएको अवसरमा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)

शेरधन राई

राई प्रदेश १ का मुख्यमन्त्री हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]