|

ओखलढुंगा : ओखलढुंगामा काठ काट्ने हाते (चेइन-श) मेसिनको प्रयोग बढ्दै गएको छ। छिटो र सहज तरिकाले रूख तथा काठ काट्न सकिने भएपछि जिल्लामा हाते मेसिनको प्रयोग बढ्दै गएको हो।

केही वर्षअघिसम्म फाटफुट पर्निचर उद्योगमा मात्र देखिने विद्युतीय मेसिन हिजोआज जताततै देखिन थालेको छ। कम समयमै धेरैभन्दा धेरै रूख लडाउन र काठ काट्न सकिने भएकाले यसको प्रयोग बढ्न थालेको काठ व्यवसायी बताउँछन्। अर्को तर्फ शारीरिक शक्तिसमेत कम खर्च हुने भएपछि काठ व्यवसायी यो मेसिनप्रति आर्कषित भएका हुन्। जिल्लामा आइडिल, होन्डा, स्टिहललगायतका चेइन-श मेसिनहरू प्रयोगमा ल्याइएको छ। यो मेसिनबाट रूखको आकार हेरेर १५ सेकेन्डदेखि बढीमा २ मिनेटसम्ममा रूख काट्न सकिन्छ।

त्यस्तै रूख लडाएर काठको तक्ति, सरा, भाटा बनाउन पनि यो मेसिनले एकदमै सहज हुने विगत ६ वर्षदेखि काठ कटानको काम गर्दै आएका सिद्धिचरण नगरपालिका ५ निवासी साङगे शेर्पाले बताए। विभिन्न कम्पनीहरूले डिजेल, पेट्रोल, विद्युत र ग्याँसबाट चल्ने चेइन-श मेसिन निर्माण गरेका छन्। तर ओखलढुंगामा भने प्राय पेट्रोलबाट मात्रै चल्ने मेसिन प्रयोगमा आएको देखिएको छ। यो मेसिनको प्रयोगले १ लिटर पेट्रोल बराबर ७ देखि १० थान ७ हाते (१५ फिट) का सरा तथा तक्ति बनाउन सकिने रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ बाट काठकटानका लागि ओखलढुंगाको लिखु गाउँपालिका-६ मा आएका विक्रम तामाङले बताए।

केही समय अघिसम्म एउटा घरको काठ चिरान गर्न दुईजनाको जनशक्ति एक महिना खट्नु पर्ने भए पनि अहिले यो मेसिनको प्रयोग हुन थालेपछि ३ देखि ४ दिनमा एकजनाले सक्ने गरेको लिखु गाउँपालिका-६ का राम चन्द्र भट्टराईले बताए। जिल्ला सदरमुकाम ओखलढुंगामा पनि यसको बिक्री राम्रै भएको र आफूले गत वर्षमात्रै १० देखि १२ वटासम्म चेइन-श मेसिन बिक्री गरेको न्यु भोलेबाबा अटो मोबाइल सर्भिस एण्ड सप्लायर्स सिद्धिचरण नगरपालिका ११ रमाइलोडाँडाँका प्रोपाइटर रूद्र सुवेदीले बताए। ओखलढुंगामा यसको मूल्य ५५ हजारदेखि ७० हजार रुपैयाँसम्म पर्ने सुवेदीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.