|

डडेल्धुरा : डडेल्धुराको आलितालमा डुंगा संचालनमा आएसँगै आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। सुदूपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो तालका रूपमा रहेको आलितालमा पहिलोपटक डुंगा सञ्चालनमा आएपछि पर्यटकको संख्या बढेको हो।

आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर माथि आलिताल गाउँपालिका–३ मा रहेको आलितालमा पहिलो पटक डुंगा सञ्चालन गरिएपछि पर्यटकहरू बढेका हुन्।

पर्यटकको पर्खाइमा रहेको तालमा डुंगा सञ्चालन गरिएसँगै दैनिक जसो आन्तरिक पर्यटक बढीरहेका छन्। विगतमा भन्दा अहिले दैनिक जसो पर्यटकहरू बढीरहेको स्थानीय बासिन्दा बताउँछन्। ताल परिसरमा रहेका ढलेका रूख तथा झाडीहरू सफाइ गरेसँगै तालको सौन्दर्यता बढेको स्थानीयको भनाइ छ।

तालको अवलोकनका लागि बाह्य जिल्लाका साथै भित्रि मधेश क्षेत्रकै  आलिताल, जोगबुढा क्षेत्रका पर्यटक आलितालसम्म पुग्ने गरेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए। ‘अहिले दैनिक ४० देखि ५० जनासम्म डुंगा सयर गर्नको लागि आउँछन्। वडा कार्यालयबाट एकजना डुंगा हेरालुको व्यवस्था पनि गरिएको छ,’ उनले भने, ‘दैनिक रूपमा अहिले डुंगा चढे वाफत एक हजारदेखि दुई हजारसम्म शुल्क पनि उठिरहेको छ।’

तालमा डुंगा संचालनका लागि गाउँपालिकाबाट सहयोग भएको र अबका दिनमा अझै व्यवस्थित गर्दै जाने अध्यक्ष गुरुङ बताउँछन्।

पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको आलिताल संरक्षण र संवर्द्धन गर्न नसक्दा ओझेलमा परेको थिए। तर, स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि तालको मुहार नै फेरिएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा आलितालमा डुंगा सञ्चालनका लागि विनियोजन गरिएकाले करिब १२ लाख बराबरको बजेटमा पाँचवटा डुंगा खरिद गरी आलितालमा पुर्‍याइएको अध्यक्ष गुरुङले बताए। पर्यटन प्रवद्र्धनका लागि आलितालमा डुंगा भित्र्याइएको बताउँदै अध्यक्ष गुरुङ भने, ‘डुंगा तालको गहना भएको र मनोरञ्जनका लागि पनि तालसम्म पुग्ने एवं अन्यलाई पनि आकर्षित गर्ने भएकाले डुंगा सञ्चालनमा ल्याइएको हो।’

समुद्री सतहबाट करिब ८०० मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिन्छ। एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४०० मिटर चौडाइ रहेको ताल महाभारतको चुरेबाट विभिन्न फोहोर पदार्थ जम्मा हुँदै गएपछि अहिले साँघुरिँदै गएको छ। सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ। डडेल्धुरा जिल्ला सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीनदेखि चार घण्टा लाग्छ।

डडेल्धुरा सदरमुकामबाट झण्डै ६० किलोमिटर पश्चिममा रहेको आलितालमा पर्यटकीय सम्भावना निकै बढी छ। कञ्चनपुरको बेतकोट भएर करिब ४५ किलोमिटरको कच्ची सडक बाटो भएर आलिताल पुग्न सकिन्छ। मध्यम खालको तापमान हुने आलिताल क्षेत्रमा तालले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउन गाउँपालिकाले अहिले प्रयास थालेको छ।

गाउँपालिकाले पहिलो वर्ष करिब ६० लाखको लागतमा आलितालसम्मको पर्यटक सडकको स्तरोन्नती गरेसँगै तालको चारैतिर करिब १३ सय मिटर बढी पैदल मार्ग निर्माण गरेको छ। तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घरहरू निर्माण गरिएका छन्।

ताल क्षेत्रमा वनभोजका लागि भान्साघरलगायतका तालको पानी निकास हुने ठाँउमा व्यवस्थित रूपमा निकासका लागि नाला निर्माण गरिएको छ। तालमा पिकनिक स्पटहरू समेत निर्माण गरिएको छ।

यष वर्ष आलितालको गुरु योजना निर्माण गरी पर्यटन क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले म्याचिङ फन्टका रूपमा बजेट छुट्याइ राष्ट्रपति चुरे संरक्षण, राष्ट्रिय ताल विकास समिति, केन्द्र सरकार, प्रदेश सरकारसँग सहकार्य गरिरहेको अध्यक्ष गुरुङको भनाइ छ।

यस्तो छ तालको इतिहास

करिब चार पाँच दशक पहिले यो ताल भएको ठाउँमा डेढ दर्जन परिवारको बस्ती थियो। एक दिन त्यस गाउँमा बसोवास गर्ने एक जना विवाहित महिलाले सपना देखिन्। सपनामा एउटा ठूलो राँगो ठाउकोमा दियो बालेर आएको थियो।

महिलालाई सपनामा आएको राँगोले यस ठाउँमा भोलि पानी पर्ने र हावाहुरी पनि आउने अनि यस क्षेत्रमा ठूलो तलाउ हुने भएकाले यस क्षेत्रबाट अरू ठाउँमा बसाइँ सर्न भनेको थियो रे! नत्र ठूलो विपद् आउने राँगोले भनेछ।

त्यसको ठीक दोस्रो दिन जुन महिलाले सपना देखेकी हुन्, उनकै घरमा रोपाइँ रहेछ। बिहान उज्यालो भएसँगै ती महिलाले राति आफूले देखेको सपना आफ्नो घरपरिवारलाई सुनाइन्। घरका सबै सदस्यहरूले उनले देखेको सपना सुनेछन् तर यो सपना सही नभएको र यो सरासर झूटो सपना भएको भन्दै महिलालाई गाली गर्न थालेछन्।

‘तिमी खाना पकाउनू, हामी भने खेतमा रोपाइँ गर्न जान्छौँ’ भनेर घरका सदस्यहरूका साथै गाउँलेहरू पनि गोरु, हलो, कुटो, कोदालो लिएर खेततिर रोपाइँ गर्न गएछन्। ती महिला खाना पकाउनका लागि घरमै बसिछन् र उनी खान पकाउन लागिछन्। घरका परिवार र छिमेकी गाउँलेहरू रोपाइँ गर्न खेततिर व्यस्त थिए। मध्याह्नको समयमा उक्त घरमा भएकी महिला खेतमा रोपाइँ गरिरहेका मनिसको दिउँसो खाना लगेर खेतमा जाने बेला ठूलो हावा र आकाशबाट पानी पर्न सुरु भएछ।

महिलाले खाना पुर्‍याउन खेत नजिकै पुग्ने बेला सपनामा देखेको राँगो जस्तै ठूलो राँगो विपनामै देखिछन्। त्यसपछि ती महिला त्यही ठाउँमा ढलिछन् र क्रमशस् त्यो क्षेत्रमा पूरै पानी नै पानी भएछ। रोपाइँ गर्न खेतमा गएका सबै मान्छे, गोरु, घर सबै पानीमा डुबेर तालमा परिणत भएको बुढापाकाले भन्ने गरेका छन्।

‘आलितालमा तीर्थयात्रीहरू पनि आउने गर्थे। यस तालमा आएका व्यक्तिहरूले भोक लागेपछि जे खाने विचार छ, सो कुरा मनमा सोचेमा त्यो खाने कुरा तालको किनारमा आउने गर्थ्यो रे! यदि त्यो समयमा तपाईंले खानका लागि खिर, सेलरोटी जुन तपाईंलाई खान मन लागेको छ, त्यो खानेकुरा तालको किनारमा आफैँ पाकेर आउँथ्यो रे१ आलिताल गाउँपालिका–७ का वृद्ध मोहन पार्कीले भने।

‘मागेको कुरा खाइसकेपछि भने त्यो खाएको भाँडोलाई सफा गरी धोएर मात्र तालमा डुबाउनुपर्ने थियो रे! एक दिन एक जना ऋषिले खिर खाएछन् र खाएको खिरको ताउलो सफा नगरी नै तालमा राखिदिएछन्।’ त्यस दिनबाट यस तालमा सोचेको खानेकुरा पाकेर आउन छोडेको हो भन्ने हामीले पनि सुनेको हो’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.