|

भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतंककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ। भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ।

छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । उक्त आक्रमणमा परी करिब ४१ जना सैनिकको मृत्यु भएको थियो।

स्थानीय सञ्चार माध्यमका अनुसार यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ। सैनिक सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो। आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ।

मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारी समूह र उनका मालिकहरूले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनु पर्ने बताएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कुरा बताएका हुन्। तर उनले के कारबाही गर्ने भन्नेबारेमा केही बताएका छैनन्।

'हाम्रा छिमेकी मुलुकले हाम्रो देशमा यस्ता घृणित कार्य र छलकपटमार्फत अस्थिरता सिर्जना गर्दछु भन्ने सोचेको भए त्यो उनीहरुको दुःस्वप्न मात्र हो। तिनीहरु कहिल्यै सफल हुने छैनन्,' प्रधानमन्त्री मोदीले भने।

वित्तमन्त्री अरुण जेट्लीले समेत यस आक्रमणमा पाकिस्तानको संलग्न रहेकामा कुनै आशंका नरहेको बताए। उनले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्ण रुपमा अलग्याउन भारतले सबै किसिमका प्रयत्न गर्ने पनि जानकारी दिए।

पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ। 'भारतीय सञ्चार माध्यम र सरकारले काश्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य छ, र कुनै किसिमको अनुसन्धान बेगर पाकिस्तानविरुद्ध भारतले आरोप लगाउनु दुःखद हो,' पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संयुक्तराज्य अमेरिकाले पनि काश्मिर घटनाको भर्त्सना गर्दै सबै मुलुकले 'आतंककारीहरूलाई सुरक्षित स्थान उपलब्ध गराउने र मद्दत गर्ने कार्यहरू बन्द गर्न' आग्रह गरेको छ।

केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का जवान बोकेका दुईवटा नीला बस आक्रमणको निशानामा परेका थिए। विस्फोटक पदार्थले भरिएको भ्यानले गरिएको आत्मघाती आक्रमणको आवाज धेरै माइल टाढासम्म सुनिएको थियो। 'पहिलो बसमा सबार सबैजसो जवानको मृत्यु भयो,' नाम नबताउने शर्तमा एक जना उच्च प्रहरी अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.