७ लाखमा घर, भौतिक पूर्वाधारको लागि सवा दुई करोड

|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित माझी बस्ती यतिवेला निर्माणाधीन क्रममा छ। २०७२ सालको विनासकारी भूकम्पले थलिएको बस्ती विस्तारै उठ्ने क्रममा छ। भूकम्पले निमेशमै ढलेका घरको नयाँ आकार र स्वरुपमा बस्तीको मुहार फेरिदैँछ। 

नयाँ घरसँगै भूकम्पले चर्किएका जगमा सुन्दर बाटो र बगैँचा निर्माणले नयाँ अंकुर पलाउन थालेको छ। नायिका श्वेता खड्काको पहलमा आफ्ना स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठको समर्पणस्वरुप झ्याडी बस्तीलाई नमुना बस्तीको रुपमा विकास गर्न थालिएको हो। ‘दुई वर्ष अगाडि हामीले कल्पेको बस्तीले अहिले मूर्तरुप पाइरहेको छ’ स्थानीय युवा काजिराम माझी भने,‘एकीकृत बस्तीको निर्माणसँगै हाम्रो सपना साकार हुँदैछ। ’बस्ती विकासमा आर्थिक कठिनाइले केही असहजता तुल्याएको भए पनि पछिल्लो चरणमा बस्ती निर्माण अन्तिम चरणमा पुगेको उनको भनाई छ।

बस्ती निर्माण भएपछि स्थानीयको जनजीविकामा समेत व्यापक सुधार आउने उनले जनाए। स्व. नायक श्रेष्ठको स्मृतिमा स्थापना गरिएको श्वेताश्री फाउण्डेसनले एकीकृत बस्ती निर्माणको जिम्मेवारी लिएर हाल बस्ती निर्माणको काम धमाधम अगाडि बढिरहेको छ। 

फेरिँदै जीवनशैली

माझी गाउँमा एकीकृत बस्ती निर्माणको क्रममा रहेसँगै झ्याडीटोलका माझीको जीवनमा परिवर्तनका संकेत देखापरेको चौतारा साँगाचोकगढी १४ का वडाध्यक्ष भएका शेरबहादुर श्रेष्ठले जनाए। बस्ती निर्माणकै क्रममा रहेको बेलामा मध्यपहाडी लोकमार्गले साइनो गाँस्न आइपुगेकाले माझी बस्ती विकासको दिशामा अघि लागेकोे वडाध्यक्ष श्रेष्ठको भनाई छ। ‘संघीयतापछि गाउँगाउँमा सिंहदरबार भनेका थिए। तर आफ्नै वडा कार्यालयमा पुग्न ३ घण्टा उकालो चढ्नु पर्थ्याे’ स्थानीय दिनेश माझीले भने,‘बजारमा किनमेल गर्न करिब चार घण्टा पैदल हिंड्नु पर्ने बाध्यता थियो। लोकमार्ग निर्माणपछि अब केही महिनामै सबै समस्या दूर हुन्छ।’

करिब दुई वर्ष अगाडिसम्म प्रति आना ३० हजारको मूल्यमा बेचबिखन हुने माझी टोलको जग्गाको भाउ अहिले १ लाखभन्दामाथि पुगेको उनले सुनाए। एकीकृत बस्तीको निर्माणसँगै माझीटोललाई नियाल्न आउने आगन्तुकको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको उनको भनाई छ। 

भौतिक पूर्वाधारको लागि सवा दुई करोड

नेपाल सरकारबाट भुकम्प पीडित परिवारलाई प्राप्त हुने ३ लाख अनुदान र बैंकबाट प्राप्त ४ लाख सहुलियत ऋण गरी प्रतिघर ७ लाखको लागतमा ५३ वटा घर निर्माण भइरहेको छ। बस्ती निर्माणको काम करिब अन्तिम चरणमा पुगेको श्वेताश्री फाउण्डेसनका परियोजना व्यवस्थापक यज्ञराज कार्कीले जनाए। आवास निर्माणको कामको समाप्तिसँगै अब भौतिक पूर्वाधार व्यवस्थापनको काम सुरु गरिने उनले बताए। बस्तीभित्रको भौतिक पूर्वाधार निर्माण गर्नको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई करोड १२ लाख रकम बिनियोजन गरिसकेको छ।

श्वेताश्री फाउण्डेसनको पहलमा प्राधिकरणले बजेटले छुट्याएको हो। आगामी ६ महिना भित्रमा आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने योजना फाण्डेसनको रहेको छ। बस्तीमा सामुदायिक भवन, बाटो, नाला, बाल, बगैंचा र पानीको फोहोरा लगायतका पूर्वाधारको समेत निर्माण हुनेछन्। सरकारबाट अनुदान स्वरुप प्राप्त एक करोड १४ लाख, श्वेताश्री फाउण्डेसनको २३ लाख र नायिका खड्काको व्यक्तिगत २८ लाख निर्माण कार्यमा खर्च भइसकेको छ। एक करोड ६० लाख बराबरको सामग्री उधारोमा ल्याएर आवास निर्माणको काम गरिरहेको माझी मस्तीलाई अझै पनि आर्थिक समस्याले कमि नभएको व्यवस्थापक कार्कीले जनाए। 

युवामा अग्रसरता

वस्ती निर्माणका क्रममा निक्कै समस्या सिर्जना भएपछि स्थानीय युवाको अग्रसरताकै कारणले वस्ती निर्माणका काम अगाडि बढिरहेको छ। स्थानीय युवाको अग्रसरतामा निर्माणको काम गर्न आफूलाई सहज भएको बताउँदै नायिका  खड्काले बताइन्। ‘माझी टोलका युवा जस्ता मेहनतिला र जुझारु युवा मैले बिरलै देखेको छु जस्को साथबिना यो काम असम्भव नै थियो’ उनले भनिन्। बस्ती निर्माणका क्रममा सरकारी अनुदान र बैंकबाट पाउनु पर्ने सहुलियत ऋण समेत समयमै नपाउनाले आर्थिक संकटको चपेटा पारिरहेको अवस्थामा नायिका खड्काले आफ्नै घर धितो राखेर २८ लाख ऋण लिई बस्ती निर्माणको कामलाई जारी गरेकी थिइन्। 

पर्यटन प्रवर्द्धनमा जोड

माझी बस्तीमा निर्माण भएको एकीकृत बस्तीले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न थालेका स्थानीयको भनाई छ। अरनिको राजमार्गबाट करिब १० किलोमिटर भित्र रहेको बस्तीमा यतिबेला बन्दै गरेको बस्तीले पर्यटकको ध्यान खिचेको छ। अबको केही महिना भित्रमै चौतारा साँगाचोकगढी नगरपालकाभित्र एउटा अति नै सुन्दर, रमणीय र व्यवस्थित बस्ती विकास झ्याडी टोल सुधार समितिका सदस्य राजन माझीले जनाए। 

इन्द्रावति नदीको किनारमा बन्दै गरेको नमुना माझी बस्तीलाई होम स्टे गन्तव्यको रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य समेत बोकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.