|

जनकपुरधाम : प्रदेश २ सरकारको मन्त्रिपरिषद गठनको एक वर्षको अवसर पारेर १ वर्षे कार्यकालमा सरकारले गरेका कामकाे प्रगति विवरण सार्वजनिक गरेको छ। प्रदेश सरकारको प्रथम स्थापना दिवस तथा वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले ‘मधेस भवन’ मा सरकारले गरेको वर्षदिनको काम सार्वजनिक गरेको हो। 

प्रदेश २ को मन्त्रिपरिषद् तथा मुख्यमन्त्री परिसरको कवर्ड हलमा आयोजित सार्वजनिकीकरणमा मुख्यमन्त्री राउतले २०७४ फागुन ३ गते प्रदेश सरकार गठनपश्चात संविधान र संघीयता कार्यान्वयनमा अथक प्रयास गरिरहेको तथा सीमित स्राेत र साधनको परिचालनमा प्रदेशका जनताको आकांक्षाअनुसार काम गरिरहेको दाबी गरेका छन्।

मुख्यमन्त्री राउतले एक वर्षको कानुन निर्माणको वर्षमा सरकारले ३३ वटा विधेयक एक वर्षभित्रै तयार गरी प्रदेश सभामा पठाएको मध्ये १६ वटा विधेयक प्रमाणीकरण भई कानुनको स्वरुप ग्रहण गरिसकेको बताएका छन्। यसैगरी ११ वटा विधेयक संसदको विभिन्न समितिमा रहेको जनाएको छ। प्रदेश सरकारले प्रदेश प्रहरी, प्रदेश लोक सेवा, प्रदेश प्रशासन र करारमा कर्मचारी भर्ना संघीय शासकीय स्वरुपलाई सार्थकता दिने शक्तिशाली विधेयक भएको दाबी गरेको छ। यसैगरी प्रदेश प्रशासन तथा प्रदेश निजामती सेवासहितका १५ वटा विधेयक सरकारले मन्त्रिपरिषदमा लैजाने तयारी गरेको र यसै वर्ष प्रदेश निजामती, प्रदेश लोकसेवा, प्रदेश प्रहरी लगायतका विधेयक प्रादेशिक संरचना गठन हुने दाबी गरेको छ।

मुख्यमन्त्रीले सार्वजनिक गरेको सरकारको एकवर्षे कार्यकालमा प्रदेशबासीको सामाजिक अवस्था, मानव विकास सूचकांक र मधेसी समाजमा विद्यमान विभेदको अवस्थालाई सम्बोधन गर्न ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान र ‘पिछडिएका वर्गको उत्थान’ कार्यक्रम प्रारम्भ गरेको जनाएको छ। साथै ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेशका ८ वटै जिल्लाको आठ स्थानीय तहमा प्रारम्भ गरेको जनाएको छ। ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ पछि जन्मिएका बालिकाको लागि छोरी शैक्षिक बिमा फागुनको पहिलो हप्ताबाट औपचारिक शुभारम्भ गरिने साथै शैक्षिक विमा १ लाख बराबरको हुने जनाइएको छ।

बीमा कार्यक्रम हाल पर्साको जिल्लाको वीरगंज महानगरपालिका,धनुषाको कमला नगरपालिका, बाराको स्वर्ण, रौतहटको यमुनामाई, सर्लाहीको पर्सा, महोत्तरीको एकडारा गाउँपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेव गाउँपालिकाका सवै वडामा लागूभएको जनाएको छ। साथै विस्तारै ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान प्रदेश २ को सवै १३६ पालिकाभरमा क्रमशः लागू गरिँदै जाने जनाएको छ। त्यस्तै पिछडिएका वर्गको उत्थान कार्यक्रमअन्तर्गत प्रदेश सरकारले दलित सशक्तिकरण विधेयक संसदमा पेश गरिसकेको र हाललाई ‘दलित छात्रवृत्ति योजना’ अन्तर्गत वीरगंजको नेशनल मेडिकल कलेजमा छात्रवृतिमा एमविविएस अध्ययन गरिरहेका सप्तरीको छिन्नमस्ता गाउँपालिका २ बस्ने दिनेश मरिक डोम, सर्लाही इश्वरपुर नगरपालिका १ बस्ने रुकेशकुमार राम र प्रमोदकुमार रामलाई अध्ययन निरन्तरतका लागि जनही तीन लाख ५० हजारका दरले आर्थिक सहयोग प्रदान गरेको उल्लेख गरेको छ। 

प्रदेश प्रहरीसहित अन्य सेवामा महिलालाई ५० प्रतिशत आरक्षणसहित दलित, मुस्लिम, जनजातिलाई उनीहरूको जनसंख्याका आधारमा आरक्षण कानुनी रुपमा सुनिश्चित गरिएको, जानकी क्यान्सर अस्पताल संभाव्यता अध्ययन टोलीद्बारा सर्वेक्षण तथा स्व. गजेन्द्रनारायण सिंह आवासिय विद्यालय बुढानिलकण्ठस्तरीय विद्यालयको रुपमा स्थापनाका लागि सम्भाव्यता अध्ययन पूरा भएको जनाइएको छ। यसैगरी प्रदेश २ को ८ जिल्लामा मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको सम्पूर्ण तयारी गरिसकेको र ‘बेटी बचाउ बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत प्रत्येक जिल्लाको १० वटा विद्यालयमा नर्सको दरबन्दी राख्ने प्रक्रिया सम्पन्न भएको जनाइएको छ।

प्रत्येक जिल्लाका सबै विद्यालयमा छात्राका लागि आत्मरक्षा तालिम सुरुवातको तयारी गएिको साथै सबै जिल्लामा एक/एक वटा दलित छात्रावासको निर्माणका लागि तयारी गरेको जनाएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको उपलब्धिमा ज्येष्ठ नागरिक आवास निर्माण, आपके सरकार आपकेद्वारअन्तर्गत जनताको कचहरी कार्यक्रम संचालन गरिएको, शहीदको संझनामा सप्तरीको मलेठ, भारदह र पर्साको वीरगञ्ज तथा जनकपुरमा शहीद कामेश्वर र कुशेश्वर स्मृति स्तम्भ र स्मृति भवन वनाउने कार्यको सुभारम्भ गरिएको समेत जनाइएको छ।

शहीद परिवार रोजगार योजनाको कार्यान्वयन, शहिद परिवार रोजगार निर्देशिका पारित, शहीद परिवारलाई रोजगारीका लागि रोजगारी पत्र प्रदान गरेको, मधेस आन्दोलनका घाइतेको सम्मानमा घाइतेको अवस्थाको वर्गीकरण गरी सहयोग राशी उपलब्ध गराउने क्रम जारिरहेको जनाएको छ।

विकासका पूर्वाधार कार्यहरू

प्रदेश सरकार तत्काल भौतिक रुपमा गर्नुपर्ने कामहरू मध्ये दीर्घकालीन महत्वका योजनालाई प्राथमिकतामा राख्दै सबै जिल्लामा ८ वटा सितभण्डार, जानकी मन्दिरको सौन्दर्यीकरण परियोजना प्रारम्भ, प्रदेश भित्रका हरेक स्थानीय तहका एउटा पोखरी सौन्दर्यकरण गर्ने, ‘खेतखेतमा पानी हातहातमा काम’ अभियान शुरु भएको जनाइएको छ। 

प्रादेशिक गौरवका सडकको निर्माण कार्य अन्तर्गत २५० किमि सडक निर्माण, स्वच्छता अभियानअन्तर्गत मधेसका गाउँ शहर सफा राख्ने, महिला र अपांगतामैत्री, १०० महिला शौचालय बनाउने, हरित प्रदेश बनाउने उद्देश्यका साथ एकै दिन ५० हजार विरुवा वृक्षारोपण गरिएको, जनता आवास कार्यक्रमअन्तर्गत प्रथम चरणमा डोम, मुसहर, मेस्तर र हलखोरका आवास निर्माण, ५० मेघावाट क्यबीच इनर्जी उत्पादन गर्ने, कृषि उत्पादनको लागि सिंचाइमा सोलरको माध्यमवाट विद्युतीकरण गर्ने, जस्ता कामलाई अगाडि बढाइएको जनाएको छ। स्याटेलाइट शहर विकासका लागि अध्ययन, प्रत्येक जिल्लाको एउटा गाउँपालिकालाई आदर्श गाउँपालिकाको रुपमा विकास गर्ने, सिंचाइको लागि डिप टयुवेल र पावर डिफिल बनाउने जनाएको छ। 

मुख्यमन्त्री राउतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको धार्मिक तथा सांस्कृतिक भ्रमण सफल बनाएको साथै पर्यटन व्यवसायमा बढोत्तरी गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.