|
फाइल फोटो

कपिलवस्तु : भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार मृगको गतिमा अगाडि बढ्ने भन्दै जनतालाई विश्वस्त हुन आग्रह गरेेकी छन्। दोस्रो बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनीको शुक्रबार कपिलवस्तुमा उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
मन्त्री अर्यालले जनताले अहिले सरकारको कामलाई जाँच गरिरहेको भन्दै सरकार अब मृग गतिमा अगाडि बढ्ने भन्दै त्यसमा विश्वस्त रहन आग्रह गरिन्। ‘सरकार सुखी नेपाली र समृद्ध नेपाल बनाउने उद्देश्य बोकेर अगाडि बढिरहेको छ । विकास र समृद्धि सरकारको एक मात्र चाहना हो’, मन्त्री अर्यालले भने, ’तपाईंहरूले चिन्ता नगर्नुस् सरकार मृग गतिमा अगाडि बढ्छ।’

सरकारले गति लिइदिए हुन्थ्यो, छिटो काम गरिदिए हुन्थ्यो भन्ने चाहना भएको भन्दै मन्त्री अर्यालले सरकार गति लिँदै समृद्धिको नेतृत्व गरेर सरकार अगाडि बढिरहेको बताइन्। समृद्धिको कार्यक्रमहरू अगाडि बढाउन सम्भाव्यताको अध्ययन गरेर एउटा निश्चित गुरुयोजनाका साथ अगाडि बढ्ने उनको भनाइ थियो। 
१६५ वटा कानुन संघीयतासँग जोडेर निर्माण गर्नु भनेको सानो कुरा नभएको भन्दै मन्त्री अर्यालले सरकार संघीय संरचनामा गएको नयाँ अभ्यासमा केही समय खर्च भएको बताइन्। सरकारले अहिले ती कुराहरू व्यवस्थित गर्दै आएको भन्दै मन्त्री अर्यालले कर्मचारी समायोजना लगायतका कार्यहरू सम्पन्न गरेको समेेत बताइन्। विकास, समृद्धिसँग जोडेर धेरै महत्वपूर्ण कार्यक्रमहरू सरकारले घोषणा गरेको भन्दै मन्त्री अर्यालले संविधानमा लेखिएका कुराहरू जनताले उपभोग गर्न पाउने सालका रूपमा सरकारले अगाडि बढाएको बताइन्।

 श्रममा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कम महत्वको कार्यक्रम नभएको भन्दै मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम कम महत्वको कार्यक्रम नभएको बताउदै ठूला मेगा प्रोजेक्ट सञ्चालन र सम्झौता गर्ने कार्यक्रम, हिजो बन्द भएका छिमेकी मुलुकका नाकाहरू खोल्ने प्रयत्नलाई पनि सानो मान्न नहुने उनको भनाइ थियो।
सरकारले पानी जहाजको कार्यालय उद्घाटन गरेको सन्दर्भ जोड्दै मन्त्री अर्यालले पानीजहाज, रेल, गाउँ जाने बाटो सबै कुरा आवश्यक भएको बताइन्। जलमार्गबाट त्रिदेशीय व्यापार तथा अन्य मुलुकहरूबीचमा व्यापार गर्न सक्ने भन्दै मन्त्री अर्यालले नेपाल सरकारले जलमार्गबाट विदेशी व्यापार गरिने बताइन। केहीले प्रधानमन्त्री केपी शर्मा ओलीले हावाका ठूला कुरा गरिरहेको छ भनेर हल्ला गरिएको भन्दै मन्त्री अर्यालले सानादेखि ठूला कुरा नगरीकन विकास गर्न नसकिने बताइन्।
सानादेखि ठूला दीर्घकालीन योजनाहरू अगाडि बढाउदै अब दिगो विकासको लक्ष्यमा सरकार अगाडि बढ्यो भन्ने सन्देश प्रवाह भइसकेको बताउँदै उनले नेपालले अब विकास गर्न सक्ने बताइन्। यहाँ रहेका हरेक स्रोतसाधनलाई ठिक ढंगले परिचालन गरेमा जुनसुकै विकसित मुलुक भन्दा कम हुन नसक्ने उनको भनााइ थियो।त्यसका निम्ति पहिलो नम्बरमा ऊर्जाशील जनशक्तिलाई, दक्ष जनशक्तिलाई विदेश पठाएर समृद्धिको सपना पुरा गर्न नसकिने भन्दैै उनलेे  प्रत्येक परिवारबाट कम्तीमा पनि एकजना रोजगारीमा हुनुपर्‍यो भनेर सरकारले रोजगार कार्यक्रमको घोषणा गरेको र गत वर्षको तुलनामा यो साल युवाहरू विदेश जाने संख्या घटिसकेको समेत मन्त्री अर्यालले बताइन्। 
युवा, महिलाहरूलाई उद्यमी बनाएर गाउँमै रोजगारी सिर्जना गर्नतर्फ लाग्नुपर्ने बताउदै मन्त्री अर्यालले पाँच वर्षसम्म केपी ओली सरकारले काम गर्न पाएमा विकास र समृद्धिले छलाङ बताइन। केहीलाई यही कुराले तनाब दिएको भन्दै अर्यालले विकास र समृद्धिको कुरामा यो पार्टी र त्यो पार्टी भनेर लाग्न नहुने बतााइन्।

नौमुरे सिँचाइ आयोजना अगाडि बढ्न सक्ने हो भने कपिलवस्तु मुलुककै समृद्धिको आधार बन्न सक्ने भन्दै मन्त्री अर्यालले कपिलवस्तुको आवश्यकता पूर्ति गर्ने नभएर छिमेकी जिल्लासँगै छिमेकी मुलुकमा समेत सेवा पुर्‍याउन सक्ने बताइन्। यसलाई अगाडि बढाउन सरकारले सहयोग गर्ने उनको भनाइ थियो।
भूमिसम्बन्धी सरकारले क्रान्ति गर्न खोजिरहेको भन्दै अर्यालले भूमि सम्बन्धमा अहिलेसम्म जेजति समस्या, बेथिति भए ति सबैलाई समाधान गर्नेगरी काम अगाडि बढाएको बताइन्। सरकारले पहिलोपटक भू उपयोग नीति अगाडि बढाएको भन्दै उनले आफ्ना उद्योग, कृषि, वन, पर्यटन, व्यापार क्षेत्र कुन हो भनेर वर्गीकरण गर्दै कृषियोग्य भूमिलाई बाँझो नराख्नेगरी सरकारले काम अगाडि बढाएको भन्दै उनले नेपालमा सधैँ सुकुम्बासी समस्या, भूमीहीनको समस्या नभएर अब नेपालमा सुकुम्बासी नै छैन भन्ने बनाउन सरकार लागिरहेको मन्त्री अर्यालले बताइन्। 'भूमीहीन, सुकुम्बासीको समस्या पुनः छलफल नगर्नेगरी सरकार अगाडि बढेको छ। नेपालमा अब सुकुम्बासी नै छैन भन्ने बनाउन सरकार लागिरहेको छ', मन्त्री अर्यालले भनिन्।
हरेक कुरालाई सधैं पुर्वाग्रह राखेर बिहे, ब्रतबन्ध, मेलापातमा पनि राजनीति गर्ने संकिर्णताबाट माथि उठ्नुपर्ने मन्त्री अर्यालले बताइन्। हरेक कुरामा राजनीति गर्ने संस्कारबाट मुक्त हुनैपर्ने उनको भनाइ थियो। 'सधैँ-सधैँ बिहे, व्रतबन्ध, मेलामा पनि राजनीति गर्ने संस्कारबाट मुक्त हुनैपर्छ। यस्ता संकिर्णता मुक्त हुनैपर्छ', उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.