|

दार्चुला : जनप्रतिनिधि र कर्मचारीले भत्ताका लागि मात्रै काम गर्ने आरोप आउँदै गर्दा दार्चुलाका प्रहरी प्रमुखले भने आफ्नो कार्यावधिको भत्ता असहाय तथा अपांग विद्यार्थीलाई वितरण गरेका छन्।

जेठ ४ गते दार्चुलाको प्रहरी प्रमुखका रुपमा सुरुवा भई आएका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले यो अवधिमा विभिन्न कार्यालय, संघ संस्थाहरूको कार्यक्रममा सहभागिता जनाएबापत पाएको भत्ता रकम वितरण गरेका हुन्। यो अवधिमा विभिन्न १६ कार्यक्रममा सहभागिता जनाई जम्मा गरिएको १९ हजार ८४० रुपैयाँ एक जना असहाय छात्र र एकजना अपांग छात्रालाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक रबिन्द्र कठायतले जानकारी दिए।

महेन्द्र माविको प्राविधिक धारतर्फ अध्ययनरत टुहुरा यादव ओखेडालाई ९ हजार ६४० र दार्चुला बहुमुखी क्याम्पस दार्चुलामा बिएड तृतीय वर्षमा अध्ययनरत उर्मिला साहूलाई १० हजार २०० रुपैयाँ उपलब्ध गराइएको प्रहरी निरीक्षक कठायतले जानकारी दिए। आफूलाई जीवन निर्वाहका लागि सरकारले तलब दिएको र कर्तव्य पालना गर्दा पाइएको भत्तालाई असहाय र कमजोर विद्यार्थीको पढाइका लागि खर्च गर्ने उद्देश्यले आफूले विद्यार्थीलाई सहयोग गरेको प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए।

नायव उपरीक्षक अधिकारीले जिल्ला प्रहरी कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम सडक चौकमै आयोजना गरेका थिए भने प्रहरी समुदाय साँझेदारी कार्यक्रमलाई समेत प्रभावकारिताका साथ सञ्चालन गरेको नेपाल पत्रकार महासंघ दार्चुलाका सचिव कृष्णसिंह धामीले जानकारी दिएका छन्। नायव उपरीक्षक अधिकारी प्रहरी उपरीक्षक पदका लागि बढुवा सिफारिस समेत भएका छन्।

२०७५ माघ २६ गतेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सिफारिसमा परेका अधिकारी उक्त सिफारिस अनुमोदन भएपछि प्रहरी उपरीक्षक पदमा पदस्थापन हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.