|

बेझाड : पाल्पाको रामपुर नगरपालिका–५ मटेरीका ६८ वर्षीय वृद्ध रितुनाथ गौतमको घरमा आयुर्वेदिक औषधि किन्ने ग्राहकको घुइँचो छ। उनी १८० प्रकारका जडीबुटी सङ्कलन गरी आयुर्वेदिक औषधि बनाउँछन्।

पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला र शिलाजितलगायतका घरायसी जडीबुटीबाट उनी आयुर्वेदिक औषधि बनाउँछन्।गौतमको घरमा दैनिक २० भन्दा बढी ग्राहकले नियमित औषधि सेवन गरिरहेका छन्। तराई, हिमाली र पहाडी क्षेत्रबाट सङ्कलित जडीबुटीबाट औषधि बनाउने गरिएको छ। 

गानोगोला, ग्यास्ट्रिक, महीनावारी अनियमितता, बच्चा नपाउने समस्याका बिरामीले आयुर्वेदिक औषधि खोजीखोजी लैजाने गर्छन्। गौतमले आफैँले ओखलमा कुटेर औषधि बनाउँछन। ‘औषधि बनाउन थालेको १८ वर्षभन्दा बढी भयो, ग्राहक आइरहेका छन्, व्यावसायिक रूपमा नै औषधि उत्पादन गरिरहेको छु’, उनले भने, 'आँगनमा दिनभर बसेर औषधि बनाउने र बिक्री गर्दा समय गएको पत्तो हुँदैन।' 

गौतमले दिएको आयुर्वेदिक औषधिले निको भएपछि स्थानीय सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेकी छिन्। दुई छोराछोरी र आफूले नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गरेपछि ‘एलोपेथिक’ औषधि प्रयोग गर्नै छाडेको उनले बताइन्। 

शान्ति भण्डारी पनि अन्य औषधिको सट्टा अहिले नियमित आयुर्वेदिक औषधि नै सेवन गर्छिन्। ‘घरायसी आयुर्वेदिक औषधि सेवन गर्न थालेपछि स्वास्थ्य पनि ठिक हुँदै गएको छ, मेडिकल धाउन छाडे’, उनले भनिन्। 

गौतमको औषधिको माग स्थानीय स्तरमा मात्र होइन, बाहिरबाट पनि हुने गरेको छ। ‘अहिले त गाउँघरमा मात्र नभई, विदेशतिरबाट पनि माग आउन थालेको छ।औषधि बनाउन भ्याइनभ्याइ छ’, उनले भने। भारत, दुवई, साउदी अरब, कतारलगायतका विभिन्न स्थानमा खरीद गरेर नेपालीले औषधि लैजाने गरेका गौतमले सुनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.