|

नवलपरासी : मर्मतका लागि रकम अभाव भएपछि बन्द भएको नवलपरासीको हुप्सेकोटमा रहेको हावाबाट विजुली उत्पादन हुने केन्द्र पुन संचालनमा आउने भएको छ। हुप्सेकोट गाउँपालिका ५ धौवादीमा रहेको विद्युत केन्द्रमा जडान गरिएको टर्वाइन र ब्याट्रीमा समस्या आएपछि लामो समयदेखि विद्युत उत्पादन रोकिँदै आएको छ। 

हावाबाट विजुली उत्पादन गर्ने कार्यलाई पुन सुचारु गर्नका लागि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ४० लाख रुपैयाँ विनियोजन गरेपछि विद्युत केन्द्र संचालनमा आउने भएको हो। हुप्सेकोट गाउँपालिकाले विद्युत उत्पादन कार्यलाई पुन: सुचारु गर्नका लागि ब्याट्री र टर्वाइन मर्मतका लागि विराटनगर पठाएको प्रशासकीय अधिकृत हरि पंगेनीले बताए। 

पहिले रकम अभावका कारण मर्मत हुन नसकेर उत्पादन भएको केन्द्रमा चालु आर्थिक वर्षको अन्त्य सम्म्मा मर्मतको काम सकेर विद्युत उत्पादन सुरु भइसक्ने पंगेनीले बताए। केन्द्रबामा १० किलोवाट हावाबाट र २ किलोवाट सोलारबाट गरी १२ किलोबाट विद्युत उत्पादन हुदै आएको थियो। २०६८ सालमा विद्युत केन्द्र निर्माण गरी हावा र सोलारबाट विद्युत उत्पादन हुँदै आएको थियो। केन्द्रबाट उत्पादन भएको विजुली स्थानीय ४२ घर धुरी र धौवादीमा रहेको इलाका प्रहरी कार्यालयले प्रयोग गर्दै आइरहेका थिए।

अहिलेसम्म राष्ट्रिय प्रशारण लाइनको पहुँच नपुगेको त्यस क्षेत्रका बासिन्दा विद्युत उत्पादन बन्द भएपछि अन्य बैकल्पिक माध्यमबाट विजुली प्रयोग गर्दै आइरहेका छन्। मर्मतको काम सम्पन्न भएपछि केन्द्रबाट पूर्ण क्षमतामानै विद्युत उत्पादन हुने बताइएको छ। लामो समयदेखि विद्युत उत्पादन बन्द भएर मारमा परेका त्यस क्षेत्रका स्थानीय पुन विद्युत उत्पादन हुने भएपछि खुसी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.