चालकसँग सामान्य केरकारबाहेक प्रहरीले केही नगरेको परिवारको आरोप

|

काठमाडौं : बाराका प्रमुख जिल्ला अधिकारी र सशस्‍त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्।

शनिबार राजधानीमा प्रेसमिट गर्दै पीडितका परिवारहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन्।

गत माघ १२ गते शनिबारका दिन वनभोज मनाएर फर्किदै गर्दा पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराई चढेको बस दुर्घटना हुँदा सोही बसमा सवार एसपी बलराम पोखरेलको निधन भएको थियो। कर्मचारी मिलन केन्द्रको आयोजनाको वनभोजमा सहभागी भएर फर्किएको ना१झ१६३३ नम्बरको जिप दुर्घटनामा सिडिओ भट्टराई, बसका चालकसहित तीनजना घाइते भएका थिए। 

उक्त घटनामा परी प्रहरी उपरीक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचाररत छन्। प्रजिअ भट्टराई अझै अचेत अवस्थामा छन्, उनको अझै होस खुलेको छैन। मृतक पोखरेलका परिवारले बारामा र भट्टराईका परिवारले महानगरीय प्रहरी वृत, महाराजगञ्जमा किटानी जाहेरी दिएका छन्।

प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रूपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै  पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिँदै छानबिनको माग गरेका हुन्।

प्रजिअ भट्टराईका भाइ नरेश भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नुपरेको बताएका छन्। ‘उक्त घटनाको प्रकृति हेर्दा नियोजित रूपमा घटाइएको देखिन्छ त्यसमाथि एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिवदेखि पूर्वसचिवसम्मका, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू लागेपछि हामी झन् आश्चर्य चकित हुन पुगेका छौँ,’ भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘घटनाप्रति गम्भीरता र जिम्मेवारीपूर्ण तरिकाले अनुसन्धान नगर्नु र एउटा चालकको पछि मुलुकका पावरफूल व्यक्तिहरु नै लाग्नुले घटनालाई झन् रहस्यमय बनाएको हो।’ उनका अनुसार घटना घटेको तीन साता पुगिसक्दा पनि सामान्य केरकारबाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन।

‘चालक राउतले तीव्र गतिमा (प्रतिघन्टा सय किमिभन्दा माथि)को गतिमा सवारी चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रूपमा ठोकाएको आशंका छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘घटना घटेलगत्तै चालक कुर्मीले प्रहरीलगायत सम्बन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ, जबकि चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए।’ भाइ नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटनापछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिएका छन्।

बारा बरमपुरीका स्थायी बासिन्दा चालक कुर्मी विगत २३ वर्षदेखि निरन्तर बारा प्रजिअको सवारी चालकको रूपमा कार्यरत रहँदै आएका थिए। बाराको बरमपुरी गाउँदेखि कलैया, वीरगञ्जमा मात्रै होइन, उनै चालक कुर्मीले काठमाडौंको अनामनगरमा करोडौंको महलसमेत बनाइसकेका उनको दाबी छ। ‘आफूलाई स्थायी सिडियो बताउँदै हिँड्ने कुर्मीले बिचौलिया भएर  गैरकानुनी काम गर्ने गरेको उनी निकट व्यक्तिहरूले हामीलाई भनिरहेका छन्’ प्रेस विज्ञप्तिमा भनिएको छ। चालक कुर्मीले पैसा र उच्चपदस्थ व्‍यक्तिको आडमा छानबिनलाई प्रभावित बनाउन खोजेको भट्टराई परिवारको आरोप छ।

‘एउटा सामान्य चालकले यस्तो घटना गर्ला भनेर सामान्य मान्छेले पनि कल्पना गर्न सक्दैन तर जे जे चालक कुर्मीका बारेमा सुनिन थाल्यो, त्यसले त हामी मात्रै छक्क परेनौँ, घटना नियोजित रहेको आशंका बढ्न थालेको छ’  उपचाररत घाइते सिडियोका भाइ नरेश भट्टराईले भने, ‘नत्र हामी सामान्य दुर्घटना भनेर उपचारमा व्यस्त थियौँ।’

सम्बन्धित समाचारहरू

विज्ञप्तिको पूर्ण पाठ

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.