|

काठमाडौं उपत्यकाका दुई स्थानमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको व्रत चल्छ। एक काठमाडौंको साँखुस्थित शालीनदी किनार र अर्को भक्तपुरको हनुमानघाटमा। विशेषगरी यो व्रतको महत्त्व नेवार समुदायमा छ। साँखु र भक्तपुर यसै पनि नेवारी जातिको बसोबास भएको क्षेत्र हो। त्यसैले व्रतमा पनि नेवारी समुदायका महिला पुरुषको बाहुल्य देख्न सकिन्छ। अचेल ब्राह्मण, क्षत्रीलगायत पनि व्रतमा सहभागी भएको देख्न सकिन्छ। 

शालीनदीको व्रत

व्रतालुहरू अघिल्लो दिनदेखि नैं नुनरहित चोखो खाना खाएर व्रतको तयारी गर्छन्। त्यस दिनको भोजलाई चिवे खाएको भनिन्छ। यस दिनसम्म माधवनारायण स्थानीय राजोपाध्याय थरका पुजारीकै घरमा रहन्छन्। 

व्रत अवधिभरि अर्थात् एक महिनाभरि माधवनारायणको शालीनदीको किनारमा पूजा आराधना हुन्छ । बिहान ४ बजे बज्ने शंखध्वनिसँगै व्रतालुहरू उठ्छन्। उठेर शालीनदीमा तीनपटक डुबुल्की लगाउँछन्। माधवनारायणलाई पनि स्नान गराउँछन्। पुरुषहरू भने नुहाइसकेर जीउले टेकेरै माधवनारायणलाई परिक्रमा गर्छन् र फर्केर फेरि नुहाउँछन्। 

महिलाहरू बालुवाको शिवलिंग वा महादेवको मूर्तिमा पूजा गर्छन्। यसपछि वरपर रहेका देवीदेवताको पूजा गर्ने क्रम सुरु हुन्छ। मध्याह्नमा मूलपुरोहितबाट माधवनारायणको विधिपूर्वक पूजा गराइन्छ। आ-आफ्नो स्थानमा बसेपछि शङ्ख ध्वनिसहित पूजाआजा गरिन्छ।

माधवनारायणको पूजा गर्न बस्दा नेवारहरू विशेषगरी श्रेष्ठ थरका) एक समूहमा बस्छन् भने पर्वते (बाहुन, क्षत्री आदि) अर्काे समूहमा। व्रतको अवधिमा रजस्वला हुने महिला यी समूह बाहेकको छुट्टै स्थानमा बस्छन्। चार दिनपछि आ–आफ्नो समूहमा फर्किन्छन्। 

लगभग एक डेढ घण्टाको नित्य पूजापछि व्रतालुको समूहले माधवनारायणलाई साँखु नगर परिक्रमा गराउँछन्। जलधारा सहित परिक्रमा गरिने यस प्रक्रियालाई ‘सहस्रधारा’ भनिने स्थानीय बासिन्दा बताउँछन्। नगर परिक्रमापछि खाना बनाउने र खाने काम सुरु हुन्छ। भात, घिउ, चाकु, लप्सी रातोमूला, पालुंगाको साग जस्ता खानेकुरा मात्र खान्छन् व्रतालुहरू। महिना दिनसम्म नुन खानुहुँदैन। खानामा रौं, जौ तिल आदि भेटियो भने पुरै खाना फ्याँक्नुपर्ने नियम पालना गर्दै महिना दिन बिताउन कम्ती कठिन छैन। 

खाँदा बोल्न वा उठ्न समेत हुँदैन। जुत्ता लगाउन नहुने भूइँमा सुत्नुपर्ने मेच, पिर्का जस्ता खुट्टा भएका आसनमा बस्न नहुने अनेकौँ नियम पालन गर्न सजिलो भने पक्कै छैन।

बेलुकी पुरुषहरू आरती गर्छन्। घर नजिकै हुने महिला नियमपूर्वक घरमा सुत्छन् भने टाढा टाढाबाट आउनेहरूले नजिकै कोठा लिएर बसेका हुन्छन्। पुरुषहरूलाई भने शालीनदीका रहेका पाटीहरूमै सुत्ने व्यवस्था मिलाइएको हुन्छ। 

सधै एकै किसिमले चल्ने दिनचर्यामा फरकपन आउँछ- माघकृष्ण त्रयोदशीदेखि। यो दिन पुरुष व्रतालु दण्डवतको मुद्रामा जमिन जीउले नाप्दै ब्रजयोगिनीको थानसम्म पुग्छन्। चतुर्दशीको दिन माधवनारायणलाई बज्रयोगिनी परिक्रमा गराइन्छ र व्रतालुहरू पशुपतिनाथ बास बस्न पुग्छन्। भोलिपल्ट औशीको दिन आर्यघाटमा माधवनारायणलाई स्नान गराई जयबागेश्वरी हुँदै सानो गौचरणबाट राजदरबार दक्षिणढोका पुगेर प्रसाद दिन्छन्। असन कमलाक्षी पुलचोक जावलाखेल हुँदै व्रतालुको टोली फर्पिङ्मा बास बस्न पुग्छ। भोलिपल्ट माधवनारायणलाई स्नान गराई फर्केर शङ्खमूलमा भोजन गर्न आइपुग्छ र साँखु फर्किन्छ।

यसैगरी माघशुक्ल तृतीयाको दिन व्रतालु पनौती जान्छन् र भोलिपल्ट नित्यपूजा गरी बनेपाको नाला खोला दोभानमा भोजन गरी साँखु आइपुग्छन्। सप्तमीको दिन माधवनारायणलाई रथमा राखेर नगर परिक्रमा गराउने गरिन्छ। यसबेला भने अघिल्ला वर्षहरूमा व्रत बसिसकेका र यसवर्ष नबसेकाहरू पनि सहभागी हुन पाइने परम्परा रहेको छ। नवमीको दिन खीर पकाएर भोग लगाइन्छ, जसलाई स्थानीय भाषामा ‘तसमी भोज’ भनिन्छ। शालीनदीकै पाटीमा गराइने यो भोजका लागि १०  पुरोहित पकाउन र ख्वाउन क्रियाशील हुन्छन्। यो दिन व्रतालुले घरमा चुल्हो बाल्न हुँदैन भन्ने मान्यता रहेको व्रतालु बताउँछन्।

एकादशीको दिन व्रतालुको टोली चाँगुनारायणको दर्शन गर्न जान्छन्। भोलिपल्ट माधवनारायणलाई स्नान गराई नित्यपूजा गरी फर्किन्छन्। द्वादशीको दिन पूजास्थल भन्दा केही माथि रहेको भीमसेनको थानमा पूजाआजा र जात्रा गरिन्छ। पूर्णिमा को दिन सबै नित्यपूजा सकी रातको १० बजेदेखि विस्तृत पूजासँगै हवन गरिन्छ। स्थानीय भाषामा यसलाई अश्वमेध यज्ञ गरेको भनिन्छ। 

माघशुक्ल पूर्णिमाको दिन भएकोले यसदिन स्वस्थानीको समेत पूजा आराधना गरिन्छ। स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार एकसय आठको संख्यामा विभिन्न वस्तुहरू स्वस्थानी मातालाई चढाइ पति वा छोरालाई आठ आठ वस्तु दिने परम्परा छ। व्रत सकिएको भोलिपल्ट आफूले महिनाभरि ताप्ने गरेको धुनीको पूजा गरी भोजसहित भैरवलाई बलि दिएको मासु नुनसहित खाने गरिन्छ जसलाई नुन फुकाएको भनिन्छ। तर व्रत पूर्ण भने शिवरात्रिको दिन बज्रयोगिनीको ज्योतिर्लिंगेश्वरमा रातभरि धुनी बालेर जागा बसेपछि मात्र हुन्छ। 

भक्तपुरको छुट्टै व्रत

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा बर्सेनी माधवनारायणको मेला लाग्छ। पौषशुक्ल पूर्णिमाको बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु हुन्छ।

यो व्रत भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको मानिने माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्मा बताउँछन्। ‘साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत शुरु भएको शिलालेख तथा ग्रन्थमा पाइन्छ’, उनी भन्छन्’, ने.सं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ।’ 

यहाँ व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने विश्वास गरिन्छ।

व्रतालुले खाली खुट्टा पैदल नै तिलमाधवबाट तलेजु भवानीसम्म, माघ शुक्ल सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्किने चलन छ। दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने परम्परा छ। यस्तै द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने परम्परा छ।

माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ।

राम–लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई हनुमानघाट वा त्रिवेणीघाट भनिएको विश्वास गरिन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.