|

काठमाडौं : सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि बर्सेनि यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन्। 

कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन्। कुष्ठरोग लाग्नासाथ अधिकांशमा सुरुमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा बिरामी ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ।

अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा. महेश साहका अनुसार कतिपय व्यक्तिमा रोग लागेपछि बिस्तारै नशा फुल्दै जान्छ। ती व्यक्ति स्वास्थ्य संस्थामा जाँदा पहिले नशारोगको नै उपचार हुने उनले बताए। 

कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये करिब १० प्रतिशतमा दाग नदेखिने गरेको डा. साह बताउँछन्। उनका अनुसार रोगको किटाणु शरीरमा प्रवेश गरेरसमेत दाग नदेखिनु चुनौतीका रूपमा रहेको छ। उनले भने, ‘किटाणु फैलिएर बिरामी अङ्गभङ्ग भएपछि मात्रै बिरामी उपचारका लागि आइपुग्छन्।’

कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभौ पहिले पातलो हुँदै झर्न थाल्ने चिकित्सकहरु बताउँछन्। बिरामीमा विस्तारै हातखुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखा पर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने हुने डा. साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.