खेतीयोग्य जमिन बगरमा परिणत

|

उदयपुर : चुरे र महाभारत क्षेत्रको किनारमा त्रियुगा नदी पर्छ। महाभारत र चुरे क्षेत्रको दोहन बढेसँगै त्रियुगा नदी आपासका मानवबस्ती र खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएका छन्।

चुरे र महाभारत क्षेत्रको वर्षेनी जाने पहिरो कारण त्रियुगा नदीको सतह बढ्दै गएको छ। त्रियुगा नदीको मुहानदेखि सप्तकोसीसम्म तटबन्ध खहरे खोलाकै कारण खेतीयोग्य जमिन सेती बगरमा परिणत हुँदा मानव वस्ति समेत विस्थापित हुँदै गएको सर्वसाधरणको भनाइ छ।

गाईघाटका स्थानीय शिव दाहालले माहाभारत र चुरे क्षेत्रमा जाने पहिरोको कारण त्रियुगा नदी सतह बढ्दै गएपछि खेतीयोग्य जमिन हराउँदै गएको बताए। ‘नदीको दुवैतिर पहाडी क्षेत्र पर्छ,’ उनले भने, ‘त्यही पहाडी क्षेत्रमा विभिन्न विकास निर्माणका काम हुँदा पहाड भत्काउने काम भइरहेको छ,’ उनले भने, ‘वर्खायाम लागेपछि बाढीसँगै बगेर आउने माटोको कारण त्रियुगा नदीको सतह बढ्दै गएको छ।’

वर्खायाम पहाडी क्षेत्रबाट बगेर आउने ढुंगा, गिटी बालुवको थुप्रो त्रियुगा नदीमा बढ्दै गएपछि त्रियुगा नदी आसपसा बसोबास गर्ने हजरौँ परिवार विस्थापित हुँदै गएका छन्। उदयपुरको त्रियुगा नदी आसपास त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिका पर्छ। यही क्षेत्रमा त्रियुगा नदी नियन्त्रण गर्न जरुरी रहेको स्थानीय सरोकारवालको भनाई छ। त्रियुगा नदी नियन्त्रणको काम भए हजार्रौ परिवारले राहत पाउनेछन्।

जिल्लाको मुख्य समस्या त्रियुगा नदीको कटान र पुर्ने छ। त्रियुगा नगरपालिकाको होक्से कालिखोलादेखि सप्तकोसीसम्म ४२ किमि पर्छ। यसमा दुवैतर्फ बाँध निर्माण गर्दा नदी आसपासका मानवबस्ती जोगिने र खेती योग्य जमिन निस्कने चौदण्डीगढी नगरपालिका ५ का वडा अध्यक्ष देवनारायण चौधरी बताउँछन्।

उनका अनुसार बाँध निर्माण गर्दा ४ सय हेक्टर खेतीयोग्य जमिनको उकास हुने र १० हजार घरधुरीका ५० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित अनुमान स्थानीय सरोकारवालको छ। १३ सय वर्ग किमि जलवहाब क्षेत्र रहेको त्रियुगाको ३१ सय मिटर प्रतिसेकेन्ड बहाव रहेको र २५ अन्य सहायक नदी छन्।

‘त्रियुगाले बर्सेनि खेतीयोग्य जमिन बगाउँदा सयौं परिवार सुकुम्वासी बनेका छ। गुजारा गर्ने जमिन नदीकै कारण बगरमा परिणत भएपछि सयौं परिवार विस्थापित भएका छन। नदीले बगर बनाएको खेतीयोग्य जमिन उक्सिने आशमा त्रियुगा, चौडण्डिगढी र वेलका नगरपालिका सर्वसाधरण वर्षेदेखि पखाईमा  छन। ‘३ बिघामा २०५३ सालयता त्रियुगा नदी बगिरहेको छ,’ चौडण्डिगढी १०, रूपनगरका नरबहादुर थापाले भने, ‘कुनै पनि वेला उक्सेला र खाउँला भनेर नदी बगेदेखि अहिलेसम्म मालपोत तिरिरहेको छु।’ नदीले त्रियुगा, चौडण्डिगढी र बेलका नगरपालिकका २५ हजार परिवारको खेतीयोग्य जमिन बगर बनाएको मालपोत कार्यालयको तथ्यङक छ।

त्रियुगा नदी थुन्ने बाधक चन्द्रनहर बाँध

त्रियुगा नदी थुन्ने अर्को बाधक चन्द्रनहर बाँध बनेको छ। त्रियुगा नदीमा करिब ८८ वर्षअघि निर्माण गरिएको चन्द्रनहर बाँधले नदी थुनिएर बालुवाको सतह बढेपछि खेती योग्य जमिन मरुभूमि बनाउने मानव वस्ति विस्थापित गर्दै गएको हो।

बाँधकै कारण त्रियुगा, चौडण्डीगढी र बेलका नगरपालिकाका किसानको धान फल्ने खेत बगरमा परिणत भएको छ। त्रियुगा नदीका सहायक मानिने खहरे खोलाले बगाएर ल्याएको माटो र बालुवाले नदीको तल्लो तटीय क्षेत्रमा पर्ने  सुन्दपुर, हडिया र तपेश्वरीका हजारौँ हेक्टर खेत पुरिएकका छन। ‘चन्द्रनहर बाँधले माथिबाट बगेर गएको बालुवा र माटोको लेदो रोकिदिन्छ’ तपेश्वरीका स्थानीय पुष्प बस्नेतले भने, ‘नदीको सतह वर्सेनी बढदै पुरिँदै गएपछि माथिबाट बगेर गएको बालुवाले खेत पनि बगर बनाउँदै गएको छ।’

नहरका लागि नदीमा उत्तर दक्षिण गरेर बनाइएको बाँधले रोकिदिँदा खोलाको सतह बर्सेनि बढ्दै गएको स्थानीय बुढापाको भनाइ छ। ‘बाँधमा नदीले बगाएर ल्याएको लेदो अर्थात् बालुवा, काठ सबैले छेकिदिन्छ,’, सुन्दरपुरका ८१ वर्षीय गैरीकृष्ण दनुवारले भने, ‘अनि नदीको सतह बढ्दै जाँदा नदीले बग्ने बाटो पनि परिवर्तन गर्छ र खेतहरू पुरिँदै गएको छ।’ चुरे वन विनाससँगै वर्षातमा हुने भूक्षयले खहरेमा पानीको साट्टा लेदो र बालुवा बग्छ। लेदो र बालुवाले पुरिदै जाँदा जोगिदह, हडिया र सुन्दरपुर गाविसको हजारौं हेक्टर खेत पुरिएको सर्वसाधरणको भनाइ छ।

चुरेबाट त्रियुगा नदीमा ३० भन्दा बढी खहरे खोला मिसिएका छन्। चुरे संरक्षणमा सरकारी बेवास्ताका कारणसमेत किसानले जोखिम उठाउनुपरेको स्थानीय बताउँछन्। नहर निर्माणपछि जिल्लाका धामीचाप, मुसहरी, खैराहा, ढेलाचौरी, मुसलमान बस्ती, हडियाका खैराहा झोडा, इकराहा, शिवनगर, जोगीदहका काठीटोल, बलुवाही टोललगायतका सर्वसाधरणमा मारमा परेका छन्। नदी थुनिएकाले प्रत्येक वर्ष आउने बाढीले धार परिर्वतन गर्दै जाँदा यी बस्ती विस्थापित भएका हुन्। मानव बस्तीहरू विस्थापित भएसँगै उनीहरू नजिकको जंगलमा पसी जंगल फँडानी गरी बसोबास गर्दै आएको बताउँछन्।

त्रियुगा नदीको करिब ६५ किलोमिटर लामो क्षेत्रमा चन्द्रनहरले उदयपुरमा ठूलो क्षति पुर्‍याए पनि सप्तरीमा सयौँ बिगामा सिँचाइ सुविधा छ। केही वर्षअघि स्थानीयले चन्द्रनहर भत्काउने प्रयास पनि गरेका थिए।

तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९८० मा निर्माण गरेका हुन्। जसले सप्तरी जिल्लाको कुल १० हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आए पनि उदयपुरमा  भने सेती बगर बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.