|

काठमाडौं : धनगढी प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा रुपन्देही च्यालेन्जर्स काठमाडौँ गोल्डेन्ससँग १०० रनले पराजित भएको छ। फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देही ३४ रनमानै अलआउट हुँदा नेपालमा भएका कुनै पनि फ्रेन्चाइज क्रिकेटमा अहिलेसम्मकै कम स्कोर बनाउने टिमको कीर्तिमान समेत कायम गर्‍यो।

रुपन्देहीका बलरहरूले राम्रो प्रदर्शन गर्दै काठमाडौंलाई १ सय ३४ रनमा सीमित गरे पनि ब्याटिङमा खराब प्रदर्शन गर्दा सम्भावित कम स्कोर पनि उसका लागि १०० रनले पराजित हुने स्कोरका रूपमा रह्यो। सामान्य लक्ष्य पछ्याउने क्रममा रुपन्देही ९.१ ओभरमा २१ रन जोड्दा ७ विकेटको दयनिय अवस्थामा पुगेको थियो। रुपन्देहीका कुनै पनि ब्याट्समयानले दोहोरो रनको स्कोर छुन सकेनन्। रुपन्देहीका लागि सुमित महर्जनले बनाएको ५ रन नै सर्वाधिक रह्यो।

टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो। उसका लागि भारतीय खेलाडी अंकित दवासले ४० बलमा ३ छक्का र १ चौका प्रहार गर्दै सर्वाधिक ४३ रन बनाएका थिए। त्यस्तै ओपनर अनिलकुमार शाहले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १२ र गौरभ तोमर ८ रनमा आउट भए।

रुपन्देहीका लागि अनिल खरेल, विक्रम शोव र पुनित महराले समान २-२ विकेट लिँदा ललित सिंह भण्डारीले एक विकेट लिएका थिए। जितसँगै काठमाडौं ४ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा यथावत् रहेको छ। काठमाडौंले शीर्ष दुईभित्र रहेर प्ले अफ खेल्ने निश्चित बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.