|

काठमाडौं : स्वतन्त्र नागरिक समूहले आइतबार बेलुका माइतीघर मण्डलामा पशुपति शर्माको 'लुट्न सके लुट' बोलको गीत बजाएर सरकारको विरोध गरेको छ। भ्रष्टाचार र सरकारका विरुद्ध कडा शब्द प्रयोग गरिएको उक्त गीत सरकारको दबाबमा आधिकारिक युट्युब च्यानलबाट हटाउन लगाएको भन्दै स्वतन्त्र नागरिक समूहले आइतबार बेलुका विरोधस्वरूप सोही गीत बजाएको हो।

अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न भन्दै स्वतन्त्ररूपमा जम्मा भएका युवाले उक्त गीत बजाएर छमछम नाच्नुका साथै सरकारविरोधी नारा लगाएका थिए। गीत बन्द होइन भ्रष्टाचार बन्द गर, कम्यनिस्ट सरकार की पञ्चायत रिटर्नस ? लगायतका प्लेकार्ड बोकेर उनीहरूले सरकारको विरोध गरेका थिए।

गत बिहीबार सार्वजनिक भएको शर्माको गीतमा वाइडबढी प्रकरण, साढे ३३ किलो सुनकाण्ड, राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किन्न लागिएको हेलिकोप्टर लगायतका विषयमा व्यंग्य भाव प्रस्तुत गरिएको थियो। उक्त गीतलाई सर्वसाधारणले खुबै मन पराएका थिए भने सत्तापक्ष भने चिढिएको थियो। उक्त गीत युट्युबमा सार्वजनिक भएको २४ घण्टामा ट्रेन्डिङ ९ मा पुग्न सफल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.